डेढ अर्ब उठाएर रक्सी व्यापारी अग्रवाल दाजुभाइ फरार, भौतिक सम्पत्तिमा बैंकको ताला – Nepal Press

डेढ अर्ब उठाएर रक्सी व्यापारी अग्रवाल दाजुभाइ फरार, भौतिक सम्पत्तिमा बैंकको ताला

काठमाडौं । पछिल्लो समय ठूला व्यापारी तथा व्यवसायी आर्थिक समस्यामा परेर भाग्ने वा सरकारले नै समातेर जेल पठाउन थालेको छ । केही समयअघि सिभिल बैंकका अध्यक्ष तथा सभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ पनि गलत आर्थिक क्रियाकलाप गरेको भन्दै नियन्त्रण लिएर अनुसन्धान भइरहेको छ ।

नेपालकै सबैभन्दा ठूलो रक्सी विक्रेता ग्रीनलाईन सञ्चालक तथा मदिरा आयातकर्ता अभिषेक अग्रवाल र अमित अग्रवालले पनि बैंक, सहकारी तथा केही व्यक्तिसँग १ अर्ब ५० करोडभन्दा धेरै पैसा उठाएर भागेका छन् । अभिषेक र अमित दाजुभाइ हुन् ।

बैंकहरूसँग पैसा लिएर भागेपछि इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले उनीहरूको सम्पत्तिमा सूचना टाँस गरिसकेका छन् । अन्य केही बैंक र सहकारी सूचना टाँस गर्ने तयारीमा रहेका छन् । स्रोतका अनुसार अग्रवालले बैंक, सहकारी तथा केही व्यक्तिसमेतका पैसा चलाएका थिए ।

ग्रीनलाईनसँगै अग्रवालको ज्ञानेश्वरमा रहेको घरमा समेत बैंकले सूचना टाँस गरेको छ । सो ठाउँमा १५ आनाभन्दा धेरै क्षेत्रफलमा अग्रवालको घर रहेको छ ।

ग्रीनलाईनका अग्रवालले कर्जा लिएको भनेर सूचना टाँस गरिएको छ । अग्रवालको नाममा रहेको सम्पत्तिमा आफ्नो हक लाग्ने भनेर एभरेष्ट र इन्भेष्टमेन्ट बैंकले मदिरा आउटलेटमा चाबी लगाएका हुन् ।

ऋण लिएर भागेसँगै इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंक कसरी पैसा उठाउने भन्ने चिन्तामा परेका छन् । कोरोनाको कारण देशको आर्थिक अवस्था नै समस्यामा परको बेला यसरी पैसा लिएर ग्राहक भाग्दा बैंकलाई पनि केही समस्या हुने अवस्था सिर्जना हुनसक्छ ।

विभिन्न ठाउँमा जग्गा तथा अपार्टमेन्टमा फ्ल्याट खरिद गरेका अग्रवाल दाजु भाई जनकपुर निवासी हुन् । उनीहरूको जग्गा तथा अपार्टमेन्टमा पनि लगानी रहेको छ ।

स्रोतका अनुसार ग्रीनलाईनमा इन्भेष्टमेन्ट बैंकले २५ करोड रुपैयाँ र एभरेष्ट बैंकले २२ करोड रूपैयाँ कर्जा लगानी गरेका थिए । बाँकी अन्य बैंकको ५० लाख भन्दा धेरै लगानी रहेको स्रोतले बतायो । सहकारी तथा केही व्यक्तिले समेत लगानी गरेको छ ।

अग्रवालको परिवार भागेपछि प्रहरीले समेत खोजी गरिरहेको छ ।

ग्रीनलाईनले तारे होटल, रेष्टुरेन्टमा विदेशी मदिरा बिक्री गर्ने गरेको थियो । ग्रीनलाईनले विदेशी महँगा मदिरा गर्ने गरेको थियो । ग्रीनलाईन ठूला करदाताको सूचीमा समेत थियो । ठूला करदातामा समेत उपस्थित भएको ग्रीनलाईनको कारोबार ठूलै आकारमा हुने गरेको थियो ।

नेपालमा मदिरा कारोबार गर्न अग्रवालको परिवारले अलायन्स डिस्ट्रिब्युटर्स, अमिअभि ट्रेडिङ र ग्रीनलाइन सेन्टर दर्ता गरेका थिए । उनीहरूले प्रतिबेला ५ लाख रुपैयासम्म पर्ने मदिरा बिक्री गर्थे ।

कारोनाको कारण ठूला होटल तथा रेष्टुरेन्टहरू बन्द भएपछि अग्रवालको बजारमा रहेको पैसा नउठेकाले आर्थिक समस्या परेको पारिवारिक स्रोतले जनाएको छ । भाग्नुअघि अग्रवाल दाजुभाइले महँगा मदिरा चिनजानका साथीभाइलाई आधा मूल्यमा बेचेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *