चीनले भन्यो : नेपाललाई गर्ने सहायतामा राजनीतिक स्वार्थ छैन, सीमा समस्या पनि छैन – Nepal Press

चीनले भन्यो : नेपाललाई गर्ने सहायतामा राजनीतिक स्वार्थ छैन, सीमा समस्या पनि छैन

काठमाडौंमा आफूविरुद्ध प्रदर्शनपछि चीनको प्रष्टीकरण

काठमाडौं । केही नेपाली संस्थाहरुले राजधानीको माइतीघर मण्डलामा आफूविरुद्ध प्रदर्शन गरेपछि चीनले ती प्रदर्शनलाई लिएर चासो व्यक्त गरेको छ ।

दूतावासका प्रवक्ताले बिहीबार बेलुका वक्तव्य जारी गर्दै नेपालको सीमा मिचेको, नाकाबन्दी लगाएको, विद्यार्थीलाई फर्कन नदिएको र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्ने आरोपहरुको खण्डन गरेका छन् ।

नेपाल जागरुक संघको ब्यानरमा केही नेपाली युवाहरुले बुधबार माइतीघर मण्डलमा चीनसँगको सरोकारका मुद्दा कार्यान्वयन हुनुपर्ने माग राख्दै चीनविरोधी प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको एकदिनपछि चिनियाँ दूतावासले प्रतिक्रिया जनाएको हो ।

चीनले नेपाललाई उसको महत्वाकांक्षी पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को महत्वपूर्ण अंग मानेको र आफूले नेपाललाई गर्ने सहयोगमा कुनै राजनीतिक उद्देश्य नरहेको समेत प्रष्ट पारेको छ ।

नेपाल र चीनबीच सीमा समस्या नरहेको दोहोर्‍याउँदै सन् १९६० कै मैत्रीपूर्ण परामर्शअन्तर्गत सीमा समस्या हल भएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । नेपालको परराष्ट्र मन्त्रालयले यसबारे यसअघि नै स्पष्ट पारेको समेत चीनले जनाएको छ ।

कोभिड–१९ महामारीविरुद्ध चीनले नेपाललाई खोप, स्वास्थ्य उपकरणसहितको महामारीविरुद्ध सघाएको समेत उल्लेख छ । ठूलो कठिनाइको बाबजुदले कार्गो आयातका लागि एकतर्फीरुपमा सडक खुलाएको समेत चीनले जनाएको छ ।

पछिल्लो समय पुनः सुरु भएको कोभिड महामारीले नेपाल र चीनसहित विश्वभर नै व्यक्तिगत र भौतिक सामान विनिमयमा कठिनाइ भएको जनाइएको छ । नेपाललाई सघाउन चीन सँधै तत्पर रहेको समेत चिनियाँ दूतावासका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर