माधव नेपालसँगको हिमचिमले द्वारिकलालको लज्जास्पद हार, स्वागत गर्न नेकपा एस तयार – Nepal Press

माधव नेपालसँगको हिमचिमले द्वारिकलालको लज्जास्पद हार, स्वागत गर्न नेकपा एस तयार

इटहरी । अघिल्लो शुक्रबारबाट सुरु भएको एमाले सुनसरीको सातौँ अधिवेशनमा सर्वसम्मति जुटेन । अध्यक्षमा बहालवाला अध्यक्ष खेमराज पोखरेलसहित दुई पूर्व अध्यक्ष रेवतीरमण भण्डारी र द्वारिकलाल चौधरी इच्छुक भएपछि मंगलबार चुनाव भयो ।

लोसे मतगणनाले बिहिबार साँझ अबेरमात्र परिणाम आएको छ । रेवतीरमण भण्डारीले जित्दा खेमराज पोखरेल उपबिजेता बने । तीन जनामा सबैभन्दा ‘भाइरल’ उमेद्वार द्वारिकलाल चौधरी भने ज्यादै थोरै मत ल्याएर तेश्रो स्थानमा रहे ।

१८०५ मतदाता भएको चु्नावमा बिजतेका भण्डारीको ९२० आएको छ भने उपबिजेता खेमराज पोख्रेलको ७३३ मत आयो । तर द्वारिकलाल चौधरीमा एक सय मत समेत कटाउन नसकेर रोकिए ।

स्थानीय चुनावबाट इटहरीको मेयर हुने समयसम्म जिल्ला अध्यक्ष भएका चौधरीको यत्ति कमजोर राजनीतिक प्रस्तुति हुनु आफैमा रोचक छ । यो मतरिणामलाई लिएर धेरैले चौधरीको राजनीति सोचेभन्दा कमजोर भएको तर्क सामाजीक संजालमा गरिहेका छन ।

हुन त चुनावमा उत्रिएका भण्डारी, पोखरेल र चौधरी तीनै उमेद्वारहरु यसअघि अध्यक्ष हुँदा चुनावबाट आएका थिएनन् । सबै सहमतिमै अध्यक्ष भएका थिए । कसको हैसियत कत्ति भन्ने चुनावी आँकलन हुने कुनै विगतको नजिर नभएकोले तीनै जना हौसिएका थिए । जसमा रेवतीलाई रोक्न उमेद्वारी दिएका चौधरी आफै रोकिएका छन् । उनी पार्टी जनमतमा कमजोर देखिएका छन् । उनको भण्डारी रोकेर इटहरी भूगोलको नेता हुने तयारी समेत असफल भएको छ ।

माधव नेपालसँग नजिकिँदा…

एमाले सुनसरीको जिल्ला नेतृत्वमा हुँदा चौधरी कुनै गुटमा देखिनेगरि टाँसिने नेता थिएनन् । उनी कुनै एक गुटमा कट्टर हुने भन्दा सबैलाई मिलाएर लाने स्वभावका थिए । एमालेको जिल्ला राजनीतिमा सचिव, उपाध्यक्ष हुँदै अध्यक्षदेखि स्थानीय तहमा मेयर हुँदा सम्म उनको खास गुटीय उपस्थिति देखिन्थेन ।

उनी सुनसरी एमालेका हेभिवेट नेता भिम आचार्य निकट थिए । माधब गुटका आचार्यसँग निकट भएपनि उनी केन्द्रमा इश्वर पोखरेल नजिक भएको सुनसरीका एमाले नेताहरु बताउँथे । चौधरी अध्यक्ष हुँदाका हरेक जसो कार्यक्रममा प्रमुख अतिथिमा पोखरेल ल्याएकोले धेरैले यस्तो लख काट्थे ।

नेकपा गठनदेखि पुष ५ को केपी ओलीको संसद विघठनबाट बढेको फाटोमा चौधरी लगभग तटस्थै थिए । उपमेयर लक्ष्मी गौतम ओली पक्षमा खुलेर केन्द्रिय सदस्यमा मनोनित हुँदा चौधरी भने ओली र प्रचण्ड माधब दुवै गुटमा खुलेनन् । नेकपा फुटताका ‘तपाईँ कुन गुट’ भन्नेहरुलाई उनले आफू कुनै गुटको नभएर स्थानीय जनताले जिताएको मेयर मात्रै भनेर परिचय दिन्थे ।

अदालतले २०७७ फागुन २३ मा एमाले र माओवादी अलग गरेपछि भने उनी एमालेका कार्यक्रमहरुमा खुल्न थाले । एमाले सुनसरीमा दश बुँदे र संस्थापन बिचको बैैठक आफ्नो अध्यक्षतामा हुने फेसबुक पोस्ट गरेर उनी बागी देखिए ।

तर, उनको कुरा दश बुँदे र संस्थापन दुवैले सुनेनन् । संस्थापनबाट अध्यक्ष रहेका रेवती भण्डारी र दश बुँदेका अध्यक्ष रमेश बस्नेत दुवै अध्यक्ष भएनन् । तेश्रो व्याक्ति खेमराज पोखरेल कात्तिक २४ मा अध्यक्ष बने ।

त्यसपछि चौधरीले आफूलाई माधब नेपालसँग निकट देखाउन थाले । उनले कात्तिक २६ गते चतराको यज्ञ उद्घाटन गर्न आएका माधब नेपालाई घरमा बोलाएर भोजन गराए । प्रदेश १ का मुख्यमन्त्री समेत रहेका नेकपा एसकासचिव राजेन्द्र राईले समेत चौधरीको घरमा भोजन गरे ।

नेकपा (एमाले) र नेकपा एसको पानी बाराबारको अवस्थामा एमालेको चुनाव चिन्हबाट निर्वाचित र औपचारिक रुपमा नेकपा एस नरोजेका चौधरीले माधब नेपालाई घरमै स्वागत गर्दा इटहरी एमालेमा हल्लिखल्लि भयो । नेकपा एस इटहरी नामको फेसबुक आइडीबाट त चौधरी नेकपा एस प्रवेश गर्न लागेको समेत लेखिएको थियो ।

कात्तिक २५ गते नै चौधरीले नेकपा एसका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँगको तस्बिर सामाजीक संजाल फेसबुकमा राखेका थिए । तस्बिर सार्वजनिक भएसँगै चौधरी नेकपा एस जान लागेको हल्ला इटहरी एमाले बृत्तमा व्यापक चलेको थियो ।

नेकपा एसका प्रदेश १ अध्यक्षसँग तस्बिर सार्वजनिक गरेको भोलीपल्टै घरमा केन्द्रिय अध्यक्षलाई भोजन गराएका चौधरीलाई एमाले केन्द्रले खासगरि अध्यक्ष ओलीले पत्याएनन् ।

ओलीले प्रस्ताव गरेको केन्द्रिय कमिटिमा चौधरी परेनन् । गत मंसिर १० देखी १४ सम्म भएको अधिवेशनमा नअटेपछि चौधरीले नेकपा एससँगको हिमचिम बढाए ।

उनले मंसिर २४ मा इटहरी १० मा १७ करोड बढि लागत भएको बहुजातीय संग्रहालय शिलान्यास गरे । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कु्मार राईले शिलान्यास गरेको कार्यक्रममा सोहि क्षेत्रका नेकपा (एमाले)का प्रदेश सांसद लिलम बस्नेतलाई बोलाएनन् ।

इटहरीका प्रथम मेयर तथा हाल प्रदेश सांसद सर्वध्वज साँवालाई समेत बेलाएनन् । स्थानीय सरकारको ‘रातो किताब’मै नभएको परियोजना नेकपा एसका मुख्यमन्त्रीबाट शिलान्यास गर्नु र एमालेका निर्वाचित प्रतिनिधिलाई नबोलाउनुले चौधरीले नेकपा एसबाट चुनावी तयारी गरेको बताइयो ।

संग्रहालय उद्घाटनको ठिक चार दिनपछि चौधरीले माधब नेपालाई बोलाएर मंसिर २८ मा इटहरी १७ मा करिब २५ करोड लागतको भनिएको आँखा अस्पताल शिलान्यास गरे । १० कट्ठा क्षेत्रफलमा बनाउन भनेपनि जग्गाधनीलाई नसोधी शिलान्यास भएपछि विवाद चर्कियो । नेपाल र चौधरी दुवैको आलोचना भयो ।

माधब नेपालसँगको तारान्तार हिमचिको कारण चौधरीले कम मत ल्याएको एमाले सुनसरीका नेता बताउँछन् । इटहरी उपमहानगरको मेयर तथा जिल्ला अध्यक्ष भइसकेको नेताले सय मत समेत कटाउन नसक्नुले उनको जनमत खस्केको देखिएको छ ।

‘माधब नेपालाई घरमा ल्याएर भोज गराउनेदेखि शिलान्यासमा प्रमुख अतिथि बनाएर उहाँले आफूलाई एमालेले भाउ नदिए नेकपा एसले दिने सन्देश दिनु भयो’, एमाले सातौँ अधिवेशन आयोजक समितिका एक सदस्य भन्छन, ‘उहाँको त्यहि खेलाँचिले गर्दा न केन्द्रिय सदस्य बनाउन नेतृत्वले पत्यायो । न जिल्ला अध्यक्ष हुन कार्यकर्ताले पत्याए ।’


प्रतिक्रिया

One thought on “माधव नेपालसँगको हिमचिमले द्वारिकलालको लज्जास्पद हार, स्वागत गर्न नेकपा एस तयार

  1. चाैधरीले कम मत ल्याउनुमा उनले अहिलेसम्म गरेकाे, बाेलेकाे सबै ठिक भए पनि उनले माधव नेपालसँग हिमचिम बढाएकाले हारेकाे जस्ताे काईते विश्लेषण गर्नेकाे बाैद्विक दरिद्रता देख्दा दया लागेर आउँछ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर