रुपन्देहीको एमाले रुझान्- गृहजिल्लामै किन कमजोर बने घनश्याम भुसाल ? – Nepal Press

रुपन्देहीको एमाले रुझान्- गृहजिल्लामै किन कमजोर बने घनश्याम भुसाल ?

रुपन्देही । एमालेको नवौं महाधिवेशनमा रुपन्देहीका कार्यकर्ताको नारा थियो- विकासको नेता विष्णु पौडेल, विचारको नेता घनश्याम भुसाल । दुवै नेता फरक टिमबाट उपमहासचिव उम्मेदवार थिए तर विचारका अर्का नेता शंकर पोखरेल पराजित भए र विष्णु–घनश्याम उपमहासचिव भए ।

यसबीचमा पौडेल नेकपाको महासचिव हुँदै एमालेको उपाध्यक्ष बन्दा घनश्याम भने स्थायी कमिटी सदस्य छन् । वाककला, मार्क्सवाद र अर्थतन्त्रको विश्लेषण तथा अध्ययनमा विशेष रुची राख्ने नेताको पहिचान बनाएका एमाले नेता घनश्याम भुसाल केन्द्रमा मात्र होइन आफेन्र गृहजिल्लामा समेत थप कमजोर बनेका छन् ।

पार्टीको उपमहासचिवमा निर्वाचन जितिसकेका, पार्टी अध्यक्षको प्रस्ताव विपरीत उपाध्यक्षमा निर्वाचन लडेर पनि राम्रो मत ल्याएका स्थायी कमिटी सदस्य भुसाल गृहजिल्लामा कमजोर बने वा बनाइयो भन्ने विषयमा अहिले रुपन्देहीमा बहसको विषय बनेको छ ।

एमालेका केही नेताले पार्टीमा गुट सकिएकाले यस्तो भएको दावी गरेपनि सांगठनिक रुपमा उनले आफ्नो समुह बलियो बनाउन नसकेकै कारण धेरैले साथ छाडेका छन् र भएकाहरु पनि कतै समेटिन सकेका छैनन् ।

उनको पक्षमा लागेका नेताहरु निर्वाचन भएपनि जितेर आउन नसक्ने अवस्थामा रहेको र सहमतिमा आउँदा पनि नसमेटिएको अवस्था प्रष्ट देखिन्छ । पार्टीको पालिका अधिवेशनका क्रममा भुसालको निर्वाचन क्षेत्रमा पर्ने सिद्धार्थनगर नगरपालिकामा उनी निकटका उम्मेदार सबै पराजित भएकाले पनि यो अवस्था आएको प्रष्ट देखिन्छ ।

रुपन्देहीमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेताहरु खिमलाल भट्टराई, लिला गिरी, नेत्र पन्थी, राधा ज्ञवालीलगायतकाले आफ्ना नजिकका व्यक्तिहरुलाई अगाडि लैजानसकेपनि भुसाल निकटका नेताहरु अघि बढ्न सकेनन् । बिगतमा उनलाई काँध थापेका धेरै नेताहरुले उनको साथ छाडेका छन् भने अहिले पनि उनलाई काँध थाप्ने नेताहरु पार्टी संगठनमा आउन सकेनन् । कतिपय उनका खास निकटहरुले पार्टी नै छाडेर नेकपा एस रोजिसकेका छन् ।

अघिल्लो जिल्ला कमिटीमा करिब ४० प्रतिशतको हाराहारीमा भुसाल निकटका नेताहरु थिए । रुपन्देहीमा अहिले १५१ सदस्यीय कमिटी बन्दा एक पदाधिकारी र एकजना सदस्य मात्र उनी निकटका समेटिएका छन् । उनले आफूलाई साथ दिनेहरुको संरक्षण गर्न नसकेकाले राजनीतिक सुरक्षा खोज्दै कार्यकर्ताले विष्णु पौडेललाई अभिभावक मानेका छन् ।

भुसालको पक्षमा लामो समय रहेर पनि कतै सुरक्षित नबन्ने देखिएपछि साथ दिन नसकेको नेताहरुको भनाइ छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा भुसालकै एक्लो जोडबलमा तिलोत्तमा नगरपालिकाको मेयरको टिकट पाएर जितेका बासुदेव घिमिरे केही समयअघि नेता विष्णु पौडेलको पक्षमा लागे ।

यतिसम्म कि उनको गृहनगर तिलोत्तमाको पालिका अधिवेशनमा उनलाई अतिथिको रुपमा आउने वातावरणसमेत बनेन । उनको स्वकीय सचिव बनेका युवराज न्यौपाने, एमाले प्रदेश कमिटी उपाध्यक्ष तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, प्रदेश सांसद तुल्सी चौधरी, जिल्ला सदस्य युवराज घिमिरेलगायतका धेरै नेताले उनको साथ छोडिसकेका छन् ।

निर्वाचनका बेला उनलाई काँध थापेका युवा नेता देवराज पोखरेलले त पार्टीको कुनै जिम्मेवारीमै नरहने गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् । सरिता श्रीस,राजु गुरुङ लगायतका उनका खास सहयोगीले एमाले नै छाडिसकेका छन् । उनी कमजोर हुनुमा आफ्ना मान्छेलाई एमालेमा राख्न नसक्नु पनि हो ।

अहिलेको जिल्ला अधिवेशनमा भुसाल निकट मानिने जागेश्वरी चौधरी उपाध्यक्षमा आएकी छन् । उनलाई काँध थाप्ने नेताहरुमध्ये अध्यक्षमा पुरुषोतम घिमिरे, सचिवमा खेम लुइँटेल, सदस्यमा लक्ष्मी केसी लगायतले निर्वाचनका लागि उम्मेदारी दर्ता गरेपनि अन्तिम समयमा फिर्ता लिएका थिए ।

अध्यक्षका उम्मेदार घिमिरेले पत्रकारसँग भनेका थिए–निर्वाचनमा गएपनि हामीलाई हराउने गरी प्रतिनिधि आएका छन्, निर्वाचन मण्डलले घोषणा गरेपछि प्रतिनिधिको मानसिकतै फेरिएको छ । आफ्नो दावी र असमतिका लागि उम्मेदारी दिइएको हो, म चुनावमा जाने पक्षमा त छैन अघिल्लो पटक के भनेर मलाई उपाध्यक्षमा राखिएको हो त्यसको जवाफ खोजेको हो, एकपक्षीय रुपमा नेतृत्वमा पठाएर पार्टी कसरी एक बन्नसक्छ ?’

तर एमालेका केही नेताहरु १० बुँदे सहमति गरेर एमालेमै रहेका नेता भुसालको परिवारकै सदस्यहरुले पनि साथ नदिएकाले अरुले दिएनन् भनेर गुनासो गर्ने ठाउँ नरहेको दावी गर्दछन् । नेता भुसाल निकट अधिवक्ता तथा विश्लेषक विष्णु पौडेल नेता भुसाल गृहजिल्लामा सांगठनिक हिसाबले कमजोर बनेको स्वीकार गर्छन् ।

भुसालले भने–यो पार्टीमा बलियो बन्न आफ्नो संगठन बलियो चाहिने रहेछ, त्यसका लागि नेताले निकटका काँध थाप्नेलाई जिम्मेवारी दिएर टिकाउन सक्नुपर्ने रहेछ, विभिन्न ठाउँमा जिम्मेवारी दिनसक्नुपर्ने रहेछ, भुसाल कमरेडमा त्यो क्षमता देखिएन, बिगतमा भन्दा धेरै कमजोर उपस्थिति देखियो जिल्ला कमिटीमै, अब सबै नेताहरु आफ्नो भनेर अगाडि बढ्दा नै राम्रो होला उहाँका लागि ।

तर अर्का अधिवक्ता दामोदर घिमिरेले भने घनश्यामलाई जबरजस्ती कमजोर बनाइएको आफ्नो विश्लेषण सुनाए ।

उनले भने, ‘यतिको क्षमता भएको नेतालाई अरुले साथ दिएनन् भन्ने उचित होइन, उनको पक्षमा लाग्नेलाई उठ्न नसक्नेगरी थला पारियो, सबैतिरबाट बन्देज गरियो अनि प्रतिनिधि आउँदा त्यसरी नै आए अनि कसरी आउँछन् त उनका मान्छे नेतृत्वमा ? कसरी साथ दिन्छन् त उनलाई ?’

विश्लेषक तथा अग्रज पत्रकार डीआर घिमिरेले भने रुपन्देहीमा घनश्याम कमजोर भनेर विश्लेषण गर्दा उचित नहुने भन्दै गुट सकिएको भनेर बुझेर अगाडि बढे राम्रो हुने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर