सरकार सस्तो लोकप्रियताका लागि बतासमाथि खनियो : पोखरा उद्योग वाणिज्य संघ – Nepal Press

सरकार सस्तो लोकप्रियताका लागि बतासमाथि खनियो : पोखरा उद्योग वाणिज्य संघ

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले पछिल्लो समय सरकारले गरेका गतिविधिहरुले निजी क्षेत्रको मनोवल गिराउने काम गरेको बताएको छ ।

बुधबार पोखरा उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती जारी गर्दै बतास अर्गनाइजेसनलाई विवादमा ल्याएर निजी क्षेत्रको मनोवल गिराउनुका साथै सरकार आफैले गरेका निर्णयहरु लत्याउने र कानूनी राज्यको खिल्ली उडाउने काम भएको गुनासो गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघको सदस्य प्रतिष्ठान होटल आनन्दका सञ्चालक आनन्दराज बतास तथा बतास ब्रदर्सले नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरु राज्यप्रदत्त व्यापार र व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको संघले जनाएको छ ।

सरकारले टेण्डर आह्वान नगरेको भए,सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रलाई लगानीको आवह्रान नगरेको भए बतास समूहले नारायणहिटी भित्रको रेष्टुरन्ट,गौशाला वा अन्य क्षेत्रमा लगानी नगर्ने संघको भनाइ छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘राज्य स्वयंले टेण्डर आवह्रान गर्ने,सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोपरप्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैमा विरोधाभाषपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको हाम्रो ठम्याइ रहेको छ । प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गरिनुपर्नेमा संघ स्पष्ट छ ।’

सरकार सस्तो लोकप्रियताका लागि व्यक्तिमाथि खनिनु राम्रो मान्न नसकिने संघकामहासचिव सुरेन्द्रमान विजुक्छेले बताए ।

संचारमाध्यममा आएका टिप्पणीकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिइ मन्त्रीको निर्देशनमा निर्माणाधीन संरचना भत्काइनु राज्यको गैरजिम्मेवारीको पराकाष्ठा भएको उनले बताए ।

‘सम्झौतामा दुबै पक्षको हस्ताक्षर हुन्छ र तोड्दा अवलम्बन गर्नुपर्ने प्रावधानहरु पनि पट रुपले किटान गरिएकै हुन्छ । ती प्रावधान लत्याउने दुबै पक्षलाई नभएको पनि हामी स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ ।

यस्ता गतिविधिहरु तत्काल रोक्न,राज्यबाट भएको ज्यादतिको क्षतिपूर्ति दिन र कानूनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन एवं व्यवसायीको सम्पत्तिमाथि पुयाइएको नोक्सानीको क्षतिपूर्तिको लागि पोखरा उद्योग वाणिज्य संघले माग गरेको छ ।

‘बतास व्यक्ति हैन, व्यवसायी हो । अहिले भएको प्रहार व्यवसायीमाथिकै प्रहार हो । लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरुको मानमर्दन र चरित्रहत्या गर्ने प्रवृत्तिले लगानीको वातावरण बन्दैन भन्नेमा पनि हामी सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’ विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर