नेपाली पासपोर्ट संसारकै खराबको सूचीमा : उत्तर कोरियाभन्दा पनि कमजोर – Nepal Press

नेपाली पासपोर्ट संसारकै खराबको सूचीमा : उत्तर कोरियाभन्दा पनि कमजोर

नेपालले ३७ देशमा मात्र पाउँछ अनअराइभल भिसा

काठमाडौं । नेपाली पासपोर्ट विश्वकै कमजोरको सूचीमा परेको छ । राहदानीबारे अध्ययन गर्ने बेलायती एजेन्सी हेन्ली एन्ड पार्टनर्सले बुधबार सार्वजनिक गरेको सन् २०२२ को सूचीमा नेपालको पासपोर्टको स्थान पहिलेभन्दा तल सूचीकृत भएको हो ।

विश्वकै कमजोर पासपोर्ट हुने पुछारबाट अन्तिम दस मुलुकमध्ये नेपाल उत्तर कोरियाभन्दा तल १०५ औं स्थानमा प्यालेस्टाइनसँगै छ । नेपाल र प्यालेस्टाइनले ३७ देशमा मात्र अनअराइभल भिसा पाउँछन् ।

सबैभन्दा पुछारमा अफगानिस्तान छ । पुछारबाट अन्तिम दशको सूचीमा नेपालसहित उत्तर कोरिया, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तानजस्ता द्वन्द्वग्रस्त मुलुकहरु छन् ।

सूचीको पहिलो स्थानमा जापान र सिंगापुर छन् । यी दुई मुलुकको पासपोर्ट विश्वकै बलियो भएको जनाइएको छ । जर्मनी र दक्षिण कोरिया दोस्रो स्थानमा छन् । फिनाल्यान्ड, इटाली, लक्जेम्बर्ग र स्पेन तेस्रो स्थानमा छन् ।

अमेरिका छैटौं स्थानमा छ । भारत पहिलेभन्दा स्थानमा सुधार गर्दै ८३ औं स्थानमा छ । भारतले ६० मुलुकमा अनअराइभल भिसा पाउँछ । दक्षिण एसियामा माल्दिभ्स सबैभन्दा शक्तिशाली देखिएको छ जसले ३७ मुलुकमा अनअराइभल भिसा पाउँछ ।

बंगलादेशको पासपोर्टले ४१ देश, श्रीलंकाको पासपोर्टले ४२ देश, भुटानको राहदानी बोक्नेले ५३ मुलुकमा अनअराइभल भिसा पाउँछन् । हेर्नूस टपटेन सूची :

यी हुन् शक्तिशाली राहदानी

  • जापान र सिंगापुर- १९२
  • जर्मनी र दक्षिण कोरिया- १९०
  • फिनल्याण्ड, इटाली, लक्जेम्बर्क र स्पेन – १८९
  • अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड, स्वीडेन – १८८
  • आयरल्याण्ड, पोर्चुगल- १८७
  • बेल्जियम, न्यूजिल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, बेलायत, अमेरिका-१८६
  • पोल्याण्ड, हंगेरी- १८३
  • लिथुआनिया, स्लोभाकिया- १८२

यी हुन् कमजोर राहदानी

  • उत्तर कोरिया- ३९
  • नेपाल र प्यालेस्टाइन- ३७
  • सोमालिया- ३४
  • यमन-३३
  • पाकिस्तान-३१
  • सिरिया-२९
  • इराक-२८
  • अफगानिस्तान-२६

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर