एक सचिव बढुवाका लागि तीन सहसचिवकाे नाम सिफारिस – Nepal Press

एक सचिव बढुवाका लागि तीन सहसचिवकाे नाम सिफारिस

सहसचिव खरेलकै लागि दरबन्दी थपिएकाले उनकै बढुवा हुने सम्भावना बलियो

काठमाडौं । सरकारले केहि दिन अघि मात्रै बसेको मन्त्रिपरिषद् बैठकले थपेको एक सचिवको दरबन्दीमा बढुवा गर्नका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको बढुवा समितिको बैठकले बरिष्ठताका आधारमा तीन सहसचिवको नाम सिफारिस गरेको बढुवा सिफारिस समितिले जनाएको छ ।

एक सचिवमा बढुवाका लागि बढुवा समितिले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको हो । सहसचिव दंगाल अर्थ मन्त्रालयमा, निरौला गृह मन्त्रालयमा र खरेल लोक सेवा आयोगमा कार्यरत छन् ।

सहसचिव दंगालको नाम यसअघि दुईपटक र निरौलाको नाम एकपटक सचिव बढुवाका लागि बढुवा सिफारिस समितिले मन्त्रिपरिषद्मा सिफारिस गरिसकेको छ । तर, खरेलको नाम भने पहिलो पटक सचिव बढुवाका लागि सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । यदि मन्त्रिपरिषद् बैठकले बरिष्ठताका आधारमा सचिव बढुवा गर्ने हो भने दंगालको बढुवा हुनेछ । बढुवा भएका सचिवको पदस्थापन रिक्त रहेको बागमती प्रदेश वा सुदूरपश्चिम प्रदेशमा हुनेछ ।

तर खरेललाई नै सचिव बनाउनकै लागि प्रशासन सेवातर्फको पद सिर्जना गरिएकाले यस पटक तेस्रो नम्बरमा बढुवाका लागि सिफारिस भएका खरेलको बढुवा हुने सम्भावना बलियो छ । सहसचिव खरेलले माघ ४ गते निजामती सेवाबाट अवकाश पाउँदैछन् । २०४४ साल साउन एक गते निजामती सेवा प्रवेश गरेका उनी ५८ वर्षे उमेरहदका कारण निवृत्त अनिवार्य अवकाश पाउदैँछन् ।

खरेल २०६९ फागुन २६ गते उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए । खरेललाई केही दिनकै लागि भए पनि सचिव बनाउन प्रधानमन्त्री कार्यालयमा प्रशासन सेवातर्फ सचिवको दरबन्दी सिर्जना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यदि खरेल अहिले सचिव बढुवा नभएको अवस्थामा भने सहसचिवबाटै उमेर हदका कारण अनिवार्य अवकाश पाउनेछन् ।


प्रतिक्रिया

2 thoughts on “एक सचिव बढुवाका लागि तीन सहसचिवकाे नाम सिफारिस

  1. एउटा व्यक्तिलाई सचिव बनाउन आवश्यक नै नभएकाे पद बनाएर सचिव बनाउनु भनेकाे सरकारकाे चरम भ्रष्टाचार हाे । यसकाे लागि क कसले पैसा खाएका छन् छानबिन हाेस् ।

  2. सरकर चलाउनेनै दोषी हुनुपर्ने हो जिम्वेवारी लिने हो भने मेरो विचारमा!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर