माताको टहरोमा यसरी भएको थियो अमानवीय कृत्य (स्थलगत रिपोर्ट/भिडिओ) – Nepal Press
रानीवन घटना

माताको टहरोमा यसरी भएको थियो अमानवीय कृत्य (स्थलगत रिपोर्ट/भिडिओ)

काठमाडौं । बालाजुस्थित सिद्धार्थ बनस्थली स्कुलबाट खरिबोटतिर दुई किलोमिटर अघि बढेपछि पुगिन्छ रानीवनको गणेश चोक । गणेश चोकसँगै रहेको ब्ल्याक रेस्टुरेन्ट छिर्ने तेर्सो बाटोमा तीन आना जग्गामा बनेको निलो जस्ताले बारिएको एउटा टहरो छ । त्यही टहरोमा बस्थिन् ४८ वर्षीया ‘माता’ उमा शाही ठकुरी ।

पर्खाल लगाउन थुपारिएका ब्लक हेर्दा भर्खरै बनिरहेको जस्तो देखिन्छ टहरो । भित्र छिर्न जस्ताकै सानो गेट छ । गेटमा हनुमानको पोस्टर टाँसिएको छ । ढोकानेरै तीनवटा त्रिशुल गाडिएका छन् । घडामा पानी राखिएको छ । हामी पुग्दा मुल ढोकामा चुकुल लगाइएको थियो ।

टहरोमा कुनै पनि साइनबोर्ड वा अन्य सूचना थिएनन् । यहाँ माता बस्छिन् भन्ने सहज अनुमान लगाउन सकिन्न । टहरोको अवस्था हेर्ने हो भने सिंगै परिवार बसिरहेको जस्तो देखिन्छ । सुकाएका कपडा यथतत्र छरिएका थिए । थोत्रो जुत्ता–चप्पल बाहिर राखिएको थियो ।

टहरोसँगै जोडिएको शौचालय नजिकको ड्रम आधाउधि भरिएको थियो । आँगनमा सिमेन्ट मुछ्न राखिएको थोत्रो जस्ता पसारिएको थियो । बाहिरबाट चियाउँदा भित्र सोचेभन्दा शानदार देखियो । जम्मा तीन वटा कोठा थिए । माता उमा यहीँ बस्थिन् । उनीसँगै एक अधवैंशे पुरुष पनि बस्थे, जसलाई चिनेजानेकाहरुले ‘पिता’ भन्थे । उनीहरुकै साथमा एक युवती पनि बस्ने गरेकी थिइन् ।

अहिले भने टहरोभित्र कोही छैन । दुई दिनअघिको असामान्य घटनाले यहाँको दृष्य बदलिएको छ । टहरोमा बस्ने मातासहित तिनैजना प्रहरीको खोरमा पुगेका छन् ।

उपचार गराउने नाममा राखिएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठले टहरोभित्रै ज्यान गुमाएकी थिइन् । उनीमाथि अमानवीय कुटपिट भएको थियो । उपचार गर्न आएकी रोशनीलाई माता उमा शाही ठकुरीले कुटपिट गरी हत्या गरेको परिवारको आरोप छ । बोक्सी भगाउने भन्दै अघिल्लो रातिदेखि उनीमाथि कुटपिट भएको थियो । माताले उनलाई त्रिशुलले समेत रोपेको आशंका गरिएको छ । बालिकाको शरीरमा तिखो चिजले घोपिएका प्वालहरु देखिएका छन् ।

यो पनि पढ्नुहोस्ः रानीवनमा माताविरुद्ध माताहरूको जुलुस ! उमालाई आजीवन कारावास माग (भिडिओ) 

शनिबारदेखि गणेशचोकमा बाहिरी मान्छेहरुको चहलपहल पनि बाक्लो भएको छ । सोमबार हामी पुग्दा चियापसलदेखि किरानापसलसम्म यही घटनाको चर्चा थियो । स्थानीय सबैको आक्रोशको केन्द्र बनेकी थिइन् माता उमा । आफुलाई माता बताउँदै आएकी ठकुरीकै कारण रानीवनकै बदनामी भएको भन्दै आक्रोश पोखिरहेका थिए छरछिमेकी । कोही आफुले केही थाहा नपाएको भन्दै विस्मात मान्दै थिए ।

छिमेकीका अनुसार माता ठकुरी ६ महिनाअघि मात्रै त्यहाँ टहरो बनाएर बस्न थालेकी हुन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी छोरी रोशनीलाई २१ दिनअघि त्यहाँ ल्याइएको थियो । उनलाई लामो समयदेखि हातखुट्टा नचल्ने, शरीर काम्ने, टाउको दुख्ने लगायतका शारीरिक र मानसिक समस्या रहेको शिकायत परिवारले गरेका थिए ।

ठकुरीले झारफुक गर्छिन् भन्ने छिमेकमा कसैलाई पनि थाहै नभएको छिमेकी इन्दिरा गौतम बताउँछिन् । उनले पनि घटना भएको हिजो आइतबार मात्रै थाहा पाइन् ।

यो पनि पढ्नुहोस्ः उपचारका नाममा माताको टहरोभित्र बालिकाको हत्या

उनले भनिन्, ‘हामीले यस्तो थाहा पाएको भए त आमा समूह मिलेर लखेट्थ्यौं ।’

रोशनीले कहिले ज्यान गुमाइन् ? छिमेकीसँग आउजाउ नभएकाले पनि घटनामा बारेमा छिमेकमा कसैले पनि तत्काल चाल पाएनन् । यतिसम्म कि उनको मृत्यु भएको खबर पाएर परिवार आएर अस्पताल लैजाँदासम्म आफूहरु अनभिज्ञ रहेको छिमेकीहरु बताउँछन् ।

ठकुरीको टहरोसँगै जोडिएको रेस्टुरेन्टका सञ्चालकहरुले माताले बालिकामाथि कुटपिट गरेको देखेका थिए । हत्या नै होला भन्ने नसोचिएको उनीहरु बताउँछन् ।

प्रत्यक्षदर्शी रोजु लामाका अनुसार शुक्रबार गोधुली साँझमा बालिकालाई माता र उनको सहयोगीले बाहिरै ल्याएर कुटेका थिए । त्यतिञ्जेल बालिकाको अवस्था इन्तुनचिन्तु भएको र ज्यान लत्रक्कै परेको उनले बताइन् ।

‘मातासँगै एक पुरुष र एक महिलाले बाहिर आँगनमा ल्याएर नाच्दै–नाच्दै कुटेको देखेको हुँ,’ उनले भनिन्, ‘लात्तै लातिले भकुर्दा बालिका बेहोशजस्तो देखिएकी थिइन् ।’

यो पनि पढ्नुहोस्ः बालिका हत्यामा आरोपित माता प्रहरी हिरासतमा, पाँच दिन म्याद थप

यसरी शरीरभरि निलडाम हुनेगरी कुटेको देखेपछि आफूहरुले सोधपुछ गरेको उनले बताइन् ।

‘हामीले सहनै नसकेर किन कुटेको भनेर सोध्यौं । तर, उनले उल्टै हाँस्दै नाच्दै झन् धेरै कुटे,’ लामाले सुनाइन् ।

त्यसपछि बालिकालाई लिएर उनीहरु सबै भित्र पसे । भित्र पसेर थप कुटपिट गरिएको लामाको आशंका छ ।

शनिबार विहान ठकुरीले ६ बजे बालिकाकी आमा राधिकालाई फोन गरेर रोशनी बेहोस भएको बताएकी थिइन् । राधिका तत्काल ट्याक्सी लिएर थिमीबाट रानीवन हानिइन् । उनी जाँदा माताले छोरीलाईं काखमा लिएर आफैं रोइरहेकी थिइन् । रोशनीले कपडामै दिशापिशाब गरेकी थिइन् ।

रोशनीलाई अस्पताल लैजान राधिकालाई माताकै आश्रममा बसेका पुरुषले सघाएका थिए । प्रत्यक्षदर्शी ब्ल्याक रेस्टुरेन्टका सञ्चालकले ट्याक्सीमा हाल्दै गरेको देखेको बताए । उनले देख्दा रोशनी पूर्ण अचेत थिइन् । रोशनीलाई मनमोहन अस्पतालतिर लगियो । तर अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको चिकित्सकले बताए । त्यसपछि मात्रै रोशनीको परिवारलाई रोजुले भनेजस्तै कुटपिटबाटै मृत्यु भएको निधो भयो ।

रोशनीको बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन् । राधिका भक्तपुरमा इँटा बोक्ने काम गरेर गुजारा चलाइरहेकी छन् । राधिकाले भक्तपुरमै रहेका मामा धनबहादुरलाई फोन गरेर अस्पताल बोलाएकी थिइन् । धनबहादुर साढे ९ बजे अस्पताल आइपुग्दा बच्चालाई शवगृहमा राखिएको थियो ।

उनले भान्जीको शव हेरे । अनुहारभरि चोटैचोट थियो । नाकबाट रगत बगेको देखेपछि कपडा खोलेर हेरे । यत्रतत्र निलडाम र प्वालै प्वाल देखेपछि कुटेर तथा त्रिशुल रोपेर मारिएको निस्कर्षमा पुगेका छन् उनी ।

धनबहादुरका अनुसार पुस ३ गते बालिकार्ला माताकहाँ ल्याइएको थियो । भक्तपुरबाटै आमा राधिकाले ल्याउने लैजाने गरेकी थिइन् ।

‘पछि माताले भाञ्जीलाई तिम्रो आमाजस्तै हुँ, तिमीलाई टाढा भयो, बिहान–बेलुकै फुक्नुपर्छ, यहीँ बस भनिछन् । छातिमा हात राखेर ठीक पार्ने जिम्मा मेरो भयो भनेर बहिनीलाई फिर्ता पठाइछन्,’ धनबहादुरले भने ।

‘अरुले पनि यसरी नै छोडेर जान्छन्, मैले फुकेर निको हुन्छ’ भनेपछि राधिकाले पनि विश्वास लागेर छोडेर गइन् । रोशनीले फोन गरिरहन्थिन् । नानीको स्थिति सोध्दा ठिक छ भन्थिन् ठकुरी ।

गत बिहीबार राधिकाले छोरीलाई फोन गरेर सञ्चोविसञ्चो सोधिन् । रोशनीले ठीक भइरहेको बताएकी थिइन् । उनले मम्मीलाई कहिले आउने भनेर सोधिन् । राधिकाले शनिबार आउने बताएकी थिइन् ।

म घर जान्छु र जाँच दिएर आउँछु भनेर रोशनीले भन्दा माताले जाँच पछि दिँदा पनि हुन्छ भनेर पठाउन चाहिनन् । तर शनिबार बिहान झिसमिसेमै फोन आयो राधिकालाई ।

रोशनीलाई टाउको दुख्ने बाहेक अरु गम्भीर समस्या नरहेको धनबहादुरले बताए ।

‘माता होइन, राक्षस रहेछ । मारेकै हो उनले,’ आक्रोशित हुँदै उनले भने ।

रोशनी माताको आइपुग्दा स्वस्थ्य नै देखिन्थिन् । उनी माताले पठाएको भनेर पसलमा सामान किन्न पुग्थिन् ।

त्यहाँ अरु कोही फुकफाक गर्न नआएको छिमेकीले बताएका छन् । छिमेकी गोमा अधिकारीले यस्तो अपराधीलाई यहाँ बस्न दिन नहुने बताइन् । उनका अनुसार यसअघि उमाले रानीबनमै माइतीमा झारफुक गर्ने गरेकी थिइन् ।

तस्बिर/भिडिओ : सराेज वैजु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर