लुम्बिनीमा एमाले जिल्ला अधिवेशनका बाछिटा : असन्तुष्ट नेताहरु धमाधम पार्टी छाड्दै – Nepal Press

लुम्बिनीमा एमाले जिल्ला अधिवेशनका बाछिटा : असन्तुष्ट नेताहरु धमाधम पार्टी छाड्दै

रुपन्देही । नेकपा एमालेको जिल्ला अधिवेशन जारी रहेको छ । शुक्रबारबाट जारी अधिवेशनमा आधाभन्दा बढी जिल्लामा अधिवेशनले नेतृत्व समेत चयन गरिसकेको छ ।

अधिकांश जिल्लामा सर्वसम्मतिले नेतृत्व चयन भएको छ । केही ठाउँमा सहमतिका नाममा पेलेरै नेतृत्व चयन गरिएको भन्दै असन्तुष्टि पनि जनाइरहेका छन् । सहमतीय चुनावी प्रकृयाले लुम्बिनी प्रदेशमा सो पार्टी केही क्षमतावान नेताहरुले पार्टी जिम्मेवारी छाडेका छन् ।

पार्टी केन्द्रले नै सकेसम्म सहमतिमै नेतृत्व छान्न दिएको निर्देशनले नेकपा एकताका समयमा जोडिएका पूर्व माओवादी खेमाबाट आएका नेताहरुको व्यवस्थापन तथा १० बुँदे सहमति गरेर आएका नेताहरुको भावनाको कदर गर्ने अपेक्षा गरिएपनि लुम्बिनीमा त्यो पूर्ण देखिएन ।

निर्वाचन प्रकृयामै नगएका कारण माओवादी खेमाबाट आएकाहरुमा कुनै समस्या नदेखिएपनि १० बुँदे सहमतिबाट आएका समूहमध्येबाट धेरै असन्तुष्टि देखिएको छ । १२ जिल्ला रहेको लुम्बिनीमा १० जिल्लामा अधिवेशन सकिँदा ७ वटामा सर्वसम्मत नेतृत्व छानिएको थियो भने ३ जिल्लामा निर्वाचन प्रकृयाबाट नेतृत्व छनौट भएको छ ।

निर्वाचनबाट नेतृत्व छानिएका जिल्लामा धेरै नेता कार्यकर्ताको गुनासो आएन तर जहाँ सर्वसम्मत छानियो ती जिल्लामा केही शीर्ष नेताहरुले पार्टीबाटै अलग्गै बसेको घोषणा गरेका छन् ।

नयाँ नेतृत्व सर्वसम्मत घोषणा भएको दाङ एमाले निवर्तमान अध्यक्ष टिकाराम खड्काले त्यहाँको चुनावी प्रकृयाबाट पूर्ण असहमति जनाउँदै आफ्नो लामो राजनीतिक जिम्मेवारीबाट नै अलग्गै रहेको घोषणा गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलको गृहजिल्लाका निवर्तमान अध्यक्षले पार्टी छोड्ने अवस्था आउनु सामान्य विषय लिन नहुने एमाले नेताहरुले बताउन थालेका छन् । उनी माधव नेपाल समूहमा रहेर १० बुँदे सहमतिपछि एमालेमै रहेका नेता हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :-

दाङ कम्युनिष्ट आन्दोलनको उर्वर भूमि हो । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई अध्ययन गर्दा दोस्रो तेस्रो स्थानमा पर्दछ । दाङको किसान आन्दोलन पनि जेठो छ । यस्तो जिल्लामा जन्मिएर हुर्केर सामाजिक मुक्ति आन्दोलनको सहयात्री हुन पाउँदा गर्व अनुभूति भएको छ । म २०३५।३५ सालको पंचायतविरोधी आन्दोलनको रापचापले परिवर्तनको पक्षमा आकर्षण भएँ । सुरूमा अनेरास्ववियु अनेकिसंघको माध्यमबाट सामेल हुने अवसर मिलेको थियो २०३९देखि भूमिगत गतिविधि पार्टी सम्पर्कमा रहि राजनीतिमा उमेरको १६ वर्षमै होमिएँ । २०४२ सालमा अनेरास्ववियु दाङ जिल्ला कमिटी सदस्य र सहसचिव हुँदै गर्दा आठ महिना जेल बस्नुपर्यो । त्यसपछि २०४४ साल देखि २० वर्ष उमेरमा पार्टी राजनीतिमा कृयाशील भएँ । दाङ, रोल्पा, रुकुम, सल्यान र प्युठानमा पार्टी र जनसंगठनको जिम्मेवारी लिएर काम गर्ने मौका मिलेको थियो । दाङमा पनि २०५७ सालदेखि पार्टी जिल्ला कमिटीमा आजका दिनसम्म सकृय राजनीतिमा कृयाशिल रहें । त्यो पूर्व २०४७ सालमा बैशाख ९ गतेदेखि २०५६ माघसम्म रोल्पामा पूर्ण पेशेवर कार्यकर्ताको रुपमा पार्टी संगठनको जिम्मेवारी लिएको थिएँ । आज म ज्यादै खुसी छु संगठनको काम गर्दा सबै मित्र को निकै ठूलो सहयोग पाएँ । म सबैलाई धन्यावाद र कृतज्ञता प्रकट गर्दछु । नेकपा एमाले दाङको १३ औ जिल्ला अधिवेशनलाई भव्यरूपमा सफल पार्न सहयोग गर्ने सहयोगी मित्रहरुलाई आयोजकका नाताले धन्यावाद दिन चाहन्छु । आराम गर्ने अवसर प्राप्त भएको छ । अब सांगठनिक जिम्मेवारीबाट विश्राम लिने मनस्थितिमा छु ।

अर्घाखाँचीका एमाले नेता खुबिराम आचार्यले सर्वसम्मत नेतृत्व छनौटको विषयलाई यस्तै असन्तुष्टि जनाएका छन् । उनले निर्विरोध निर्वाचित ९० जनाको कमिटी खारेज नगरे सामुहिक राजीनामा दिने नेता खुबिराम आचार्यले बताएका छन् ।

एमाले अर्घाखाँचीको अधिवेसन निरंकुशताको पराकाष्ट भएको बताएका नेता आचार्यले सामाजिक संजालमा असन्तुष्टि पोख्दै माग गरेका छन्, ‘इमान्दार कार्यकर्ता बाहिर राखेर नेता विशेषका मान्छे भर्ती केन्द्र पार्टी नबनाउ, यो गल्ती तुरुन्त सच्चाउ, केही समय पर्ख र हेरमा बसौ नत्र सबैले एक साथ राजीनामा दिने तिर सोचौला ।’

उनले लेखेका छन् :-

एमाले अर्घाखाँची जिल्ला अधिवेशनको नाम दिएर हिजो इमान्दार कार्यकर्ताहरुमाथि गरिएको प्रहार कुनै दिन पनि क्षम्य हुने छैन । इमान्दार कार्यकर्ता पाखा लगाएर हिजो नेता विशेषले मनगणन्ते आफ्ना मान्छे जिल्ला कमिटीमा भर्ती गरिएकोप्रति घोर आपत्ति जनाउँदै नेता भनाउदाले आफ्नो पकेटमेन भर्ती गरे पनि हामी इमान्दार कार्यकर्ताले बनाएको पार्टी नेकपा एमाले भएकाले यो कमिटी नेता विशेषको गुटको कमिटी मात्र हो । यस कमिटीबाट निरुत्साहित भएर पार्टीबाट राजीनामा दिनुहुन सम्पूर्ण युवासाथीहरुमा हार्दिक अनुरोध गर्दछु । पार्टी अहिलेका नेता भनाउँदा भजन मण्डलीको मात्र होइन, हामी सबैइमान्दार कार्यकर्ता तथा सबै युबा कमरेडहरुको लगानी रगत पसिना भिजाएर बगाएको पार्टी भएकाले अहिलेको यो अधिबेशन नाम दिएको कमिटी नेता विशेष को मात्र हो । इमान्दार कार्यकर्ता बाहिर राखेर नेता विशेषका मान्छे भर्ती केन्द्र पार्टी नबनाउ यो गल्ती तुरुन्त सच्चाउन अपिल गर्दै म सधै पार्टीप्रति इमान्दार कार्यकर्ता र युबा साथीहरुको साथमा म रहने छु । नेता बिशेषको पकेटमेनको बिरोध गरौं केही समय पर्ख र हेरको अबस्थामा बसौ । म सधै तपाईंहरुको सुख दुख दुखमा साथमा छु अहिले राजीनामा नगरौं ।

जिल्ला उपाध्यक्षका आकांक्षी खुबिराम आचार्यले पार्टीभित्र इमान्दार कार्यकर्तालाई पाखा लगाएर गरेको अधिवेशन निरंकुशताको पराकाष्ठा भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले उम्मेदवारीका लागि दिएको दरखास्त च्यातिदिएर अन्तिममा दिएको दस्तुर फिर्ता र दरखास्त कागज डस्टबिनमा फाल्ने काम गरिदिएको बताए ।

उता नेकपा एमाले पाल्पाका निवर्तमान उपाध्यक्ष मोहन थापा मगर पार्टीबाट अलग रहेको घोषणा गरेका छन् । नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका थापा मगरले अबको जीवन राजनीति नभै समाजिक रुपमा अगाडि बढ्ने बताउँदै सामाजिक रुपमा अगाडि बढ्दा जस्तैसुकै अफ्ट्यारो परिस्थिति आए पनि सधै जनताको बीचमा रहिरहने बताएका छन् ।

उनले लेखेका छन् :-
२०४६ सालको जनआन्दोलन सफलता सङ्गै पार्टी खुल्ला हुँदै गर्दा मेरो खुला राजनीति जीवन ४२ वर्षपछि आज २०७८÷०९÷२५ गते आजकै मितिदेखि अलग रहने निर्णय गरेको छु, मैले मेरो राजनीतिक जीवनमा धेरै जनताको घरदैलो गरेको छु धेरैले मेरो विश्वास र वचनलाई नकार्न नसकेर नेकपा (एमाले) लाई माया गर्नु भयो सूर्य चिन्हमा मतदान गर्नुभयो मलाई यहाँसम्म आउदा तपाईहरुले माया स्नेह प्रदान गर्नुभयो यहाँहरुप्रति हृदयदेखि आभार व्यक्त गर्दछु अबको मेरो जीवन राजनीति नभै समाजिक रुपमा अगाडि बढ्दा जस्तोसुकै अफ्ट्यारो परिस्थिति आइ परे यहाँहरुको बीचमा रहिरहने छु । बाँकी अधुरो काम सामाजिक क्षेत्रबाटै पूरा गर्ने वचनबद्धता व्यक्त गर्दछु । धन्यवाद ।

त्यसैगरी अधिवेशन प्रकृयाबाट असन्तुष्ट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव गोबिन्द प्रसाद भुसालले एमाले परित्याग गरेका छन् ।

पार्टीभित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अवसरबाद, नातावाद कृपावाद र नेतृत्वमा देखिएको निरंकुशता देखिको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी एमाले परित्याग गरेको सचिव भुसालले बताएका छन् ।

युवासंघ अर्घाखाँचीका इन्चार्ज रहेका भुषालले भनेका छन :-

नेकपा एमालेका वडा, नगर हुँदै हालै सम्पन्न राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिबेशनसम्म आइपुग्दा पार्टीभित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अवसरवाद, नातावाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता जस्ता प्रवृत्तिबाट हामीजस्ता इमानदार र निष्ठावान नेता तथा कार्यकर्ताहरु एमाले पार्टी र यसका जनवर्गीय संगठनहरुमा रहेको निरन्तर काम गर्नसक्ने अवस्था नदेखिएकाले आजका मितिदेखि राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय सचिवलगायतका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी एमाले परित्यागको घोषणा गर्दछु ।’

नेकपा एमाले रुपन्देहीका सदस्य तथा युवा नेता देवराज पोखरेलले अधिवेशन प्रकृयाबाट असन्तुष्ट हुँदै राजनीतिबाटै अलग्गै भएको घोषण गरेका छन् ।

पार्टीभित्र गलत प्रवृद्धिको खरो आलोचना गर्ने नेता पोखरेलले सामाजिक सन्जालमा लेखेका छन् :-
लेटरप्याडको नाम र दराजमा थन्काएको दस्तावेजबाहेक व्यवहारमा सबै पार्टी उस्तै उस्तै हुन ! त्यसैले नेपालमा सबभन्दा धेरै विकल्प भएको क्षेत्र नै राजनीति हो ! कुनै दुःखेसो छैन ! एमालेलाई आफ्नो ऊर्जाशील जीवनको २८ वर्ष दिए ! कोभिडबाट बाहिर निस्किएपछि बिभिन्न विकल्पसहित दृढतापूर्वक अगाडि बढिन्छ !

नेपालगञ्जका पुराना पत्रकार झलक गैरे एकताका क्रममा ठूलो जिल्ला कमिटी निर्माण भएपनि अहिले घटाउँदा समस्या आएको बताउँछन् । नेतृत्व चयनमा आकांक्षीहरुलाई एक ठाउँमा राखेर कुरा गर्न सके भए यस्तो समस्या समाधान हुने सम्भावना हुने उनको भनाई छ ।

उनी भन्छन्, ‘अधिवेशनमा सबै नेताहरुलाई पद पुग्दैन, पहिले ठूलो संख्यामा जिल्ला कमिटी बनाइएको थियो एकताको क्रममा, अहिले घटाउँदा सबै अटाउने कुरा भएन तर नेतृत्वले आकांक्षीहरुलाई राखेर कुरा गरेकाले बाँकेमा त्यति धेरै समस्या आएन सर्वसम्मत भएपनि अन्य जिल्लामा आकांक्षीहरुलाई नै वेवास्ता गरी नाम घोषणा गर्दा समस्या आएको सुनिएको छ ।’

उनले शीर्ष नेताहरुले थकाउने, गलाउने र आकांक्षीहरुलाई निरन्तर संवाद गरेका कारण बाँकेमा धेरै समस्या नआएको बताए ।

विश्लेषक ऋषि आजादले सहमतिका नाममा नेतृत्वले नेताहरुलाई आफ्नो परीक्षण गर्न नदिएका कारण एमालेमा दशकौं बिताएका सादगी नेताहरु बाहिरिनुपर्ने अवस्था आएको बताएका छन् ।

उनी भन्छन्, ‘सर्वसम्मत बनाउने प्रयासमा थकाउने, गलाउने, आफ्नो नजिककालाई मात्र अगाडि बढाउने गरिँदा एमालेलाई भयानक क्षति हुनसक्छ, नेतृत्वमा जान चुनावमा जान डराउने तर दशकौं एउटै पद छोपेर बस्ने प्रवृतिले पार्टी बलियो बनाउँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर