लालपुर्जा नपाए भाेट नदिने भन्दै सुकुम्बासीले गरे शक्ति प्रदर्शन – Nepal Press

लालपुर्जा नपाए भाेट नदिने भन्दै सुकुम्बासीले गरे शक्ति प्रदर्शन

चितवन । निर्वाचन अगाडी नै लालपुर्जा उपलब्ध गराउन माग गर्दै चितवनका सुकुम्बासीहरुले शक्ति प्रदर्शन गरेका छन् ।

सोमबार चितवन नारायणगढ बजारको लायन्सचोकदेखि सुरु भएको र्‍याली चौविसकोठी, केन्द्रीय बस ट्रमिनलहुदै जिल्ला प्रशासन कार्यालयको मुख्यगेट अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

नो लालपुर्जा, नो भोट’ अभियान चलाउँदै नेपाल बसोबास बस्ती संरक्षण समाजले मेची–महाकाली दौडाहा गरेको छ । मंसीरमा झापादेखि सुरु भएको अभियान अन्र्तगत २३ जिल्लामा खरबदारी कार्यक्रम भैसकेका छन् ।  माघ महिनाभित्र सबै जिल्लाका सबै स्थानीय तहमा नो लालपुर्जा, नो भोट अभियान अन्तरगत खरबरदारी कार्यक्रम सक्ने लक्ष्य रहेकोछ । समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले भूमि ऐन संशोधन गरेर सिधा लालपुर्जा आउने वातावरण बन्नुपर्ने बताए ।

‘लालपुर्जा आयोगबाट होइन, मालपोतबाट बाँडिनुपर्छ, अस्थायी पुर्जा दिएर झुक्याउने काम रोकिनुपर्छ’, उनले भने, ‘जोखिममुक्त ठाउँमा बसोबास गरेकालाई बसकै ठाउँको लालपुर्जा दिनुपर्छ, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेलाई सोही वडाभित्रै उचित व्यवस्थापन हुनुपर्छ, टाडा स्थानान्तरण गराएर दुःख दिइनुहुदैन ।’

उनले दलहरुले हरेक चुनावमा लालपुर्जा बाँड्ने सपना देखाउँदै भोट लिने गरेकोमा अब पहिलेका वाचा पुरा नगरेसम्म भोटनै नदिने अभियान चलाइएको बताए । उनले सबै दलका शिर्षनेता, सांसद, जनप्रतिनिधिलाई सडकमै ल्याएर विगतका घोषणापत्र हेर्न लगाउनेसम्मका कार्यक्रम फागुनदेखि चल्ने बताए ।

उनले भने, ‘विगतका आश्वासन किन पुरा भएनन् भनेर सडकमै बहस गर्नेछौँ । अब लालपुर्जा दिन्छु भनेर झुक्याउने दिन गए ।

नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले लालपुर्जा नपाएसम्म भोट नदिन सबै सुकुम्बासी एकतावद्ध रहेको बताए ।

उनले भने, धेरै वर्ष झुठा आश्वासनले भोट दियौँ अब लालपुर्जा नपाएसम्म भोट नदिने देशव्यापी अभियान चलाएका हौँ ।’

उनका अनुसार तत्कालिन भूमि आयोगमा लालपुर्जाका लागि चितवनबाट ४३ हजार २ सय २८ जनाले फारम भरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर