लाउरेको हिरासत बसाइ लम्बियो : अदालतद्वारा १७ दिन म्याद थप – Nepal Press

लाउरेको हिरासत बसाइ लम्बियो : अदालतद्वारा १७ दिन म्याद थप

पोखरा । लागूऔषध प्रकरणमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’को हिरासत बसाइ थप लम्बिएको छ । उनीसहित पक्राउ परेका चार जनालाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

अदालतले यसअघि आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको थियो ।

लाउरे पुस १६ गते प्रहरीले पोखराको न्यूरोडबाट पक्राउ परेका थिए । लागूऔषध ब्राउन सुगर खरिद गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए । उनी चर्चित नेपाली टिभी रियालिटी सो हिमालय रोडिजनका जज समेत हुन् ।

अहिले रोडिजको चौंथो सिजन प्रसारण भैरहेको छ । सुटिङ यसअघि नै भैसकेकाले दर्शकले उनलाई जजकै रुपमा हेर्न पाउनेछन् । तर, सिजन पाँचमा लाउरेको भविष्य के हुने भन्नेबारे टुंगो लागेको छैन ।

लागुऔषध कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानूनी प्रावधान छ। लाहुरे लागुऔषध सेवनकर्ता मात्र रहेको प्रहरीको प्रारम्भिक निष्कर्श छ।

यद्यपी प्रहरीले करिब १३ ग्राम ब्राउन सुगरसहित लाउरे र बाँकी दुई जनालाई पक्राउ गरेको थियो ।

बाँकी दुई जना भने कारोबारी हुन सक्ने अनुसन्धान अधिकारी बताउँछन् । अनुसन्धानका क्रममा लाहुरेले आफूले २१ वर्षको उमेरदेखि ब्राउन सुगर सेवन गर्न थालेको बताएका छन् ।

‘नियमित सेवनकर्ता चाहीँ होइन। कहिले काहीँ सेवन गर्ने गरेको बताएका छन् । कन्सर्टलगायत विभिन्न कार्यक्रममा आफूले सेवन गर्ने गरेको उनको भनाई छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *