हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह – Nepal Press

हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह

राजविराज। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले हारको डरले गठबन्धन सरकारले चुनाव नगराएको आरोप लगाएका छन् ।

शुक्रबार राजविराजस्थित राज रंगशालामा आयोजित नेकपा एमालेको नवौं सप्तरी जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले उपनिर्वाचन नगराउनु सरकारको अक्षम्य अपराध गरेको बताए । विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि भएको उनको भनाई छ । एउटै विधि मानेर राष्ट्रिय सभाको चुनाव गर्न सक्ने सरकारले ६ महिनाभित्र अनिवार्य चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था लत्यानुले गठबन्धन सरकार जनताबाट बहिष्कृत रहेको पुष्टि भएको नेता साहले जीकिर गरे ।

‘पछिल्लो राजनीतिक उतारचढावको नतिजास्वरुप देशका विभिन्न क्षेत्र आज प्रतिनिधि विहीन छ । संविधानले नै एक वर्ष कार्यकाल बाँकी रहेको अवस्थामा अनिवार्य रुपमा ६ महिना भित्र उप निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।’ नेता साहले भने, ‘विभिन्न षड्यन्त्रपूर्ण ढंगबाट बनेको परमादेशी गठबन्धन सरकार जनताबाट डराईरहेको छ । चुनाव हारिन्छ कि भन्ने त्रासका बीच यो जनविरोधी सरकारले उपनिर्वाचन गर्न नचाहेर पुष्टि गरेको छ कि वर्तमान सरकार जनताबाट बहिष्कृत सरकार हो ।’

‘उहीँ विधि पद्धति मानेर राष्ट्रियसभा निर्वाचन गर्न सक्ने सरकार आखिर उपनिर्वाचन किन गर्न चाहिरहेको छैन । जनताको हकको हनन गर्न पाईदैन, सरकारसँग थोरै पनि नैतिकता बाँकी छ भने उपनिर्वाचन गराओस् । यो गठबन्धनलाई जनताले असली हैसियत देखाईदिने छन् ।’ नेता साहले थपे ।

कार्यक्रममा प्रदेश ईन्चार्ज रघुवीर महासेठ, सहइन्चार्ज एवम् राष्ट्रिय सभा दलका नेता सुमन प्याकुरेल, सह-इन्चार्ज लिलानाथ श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर