भोजपुर एमाले नेतृत्वका लागि भोटिङ हुने सम्भावना, को-को छन् दाबेदार ? – Nepal Press

भोजपुर एमाले नेतृत्वका लागि भोटिङ हुने सम्भावना, को-को छन् दाबेदार ?

कार्यकर्ताको नजर शेरधनमाथि

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन देशका ६१ जिल्लामा आजदेखि एकैसाथ सुरू भएको छ । भोजपुरमा पनि अधिवेशन सुरू हुनुअघि नै नेतृत्वका लागि दाबेदारहरूको रस्साकस्सी बढेपछि जिल्लाको नेतृत्व चयन भोटिङबाट हुने सम्भावना बढेको छ ।

नेताहरूले सहमतिमा जिल्ला कमिटी बनाउँने रटान लाए पनि आकांक्षी र प्रतिनिधिको मनोविज्ञान अधिवेशनलाई मतदानतिरै धकेल्ने देखिएको हो ।

अध्यक्षका प्रमुख दाबेदारमा शरणकुमार राई र मक्कर खड्का देखिएका छन् ।

राई अहिले उपाध्यक्ष छन् । २०७५ जेठ २ को संरचनामा उनी जिल्ला कमिटी सचिव थिए । गत असोज ५ गतेको बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्दै जिम्मेवारी हेरफेरको क्रममा राईलाई उपाध्यक्ष बनाइएको हो ।

माधव नेपालले पार्टी फुटाउँदा विभाजनप्रति असन्तुष्टि जनाउँदै राईलगायतका केही नेता एमालेमै बसेपछि स्थानीय तहका प्रमुखसम्मका जनप्रतिनिधि र कार्यकर्ताको ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो । संगठन निर्माण, युवा परिचालन र पार्टीको रणनीतिक गतिविधिमा जिल्लामा उनी अब्बल मानिन्छन् ।

‘पार्टीमा कहिलेदेखि को कसरी खटिरहेको छ भन्ने मूल्यांकन हुनुपर्छ । बढ्दो चुनौतीबीच भोजपुरमा एमालेको दरिलो उपस्थितिको लागि मेरो दाबी हो । स्थानीयदेखि संघसम्मको चुनाव आउँदैछ । सबै भूगोलबाट समानुपातिकरूपमा क्षमतावान व्यक्तिहरूको प्रतिनिधित्व भयो भने मात्र एमालेलाई नम्बर एक पार्टी बनाउँन सक्छौं’, राईले भने ।

अध्यक्षका अर्का आकांक्षी मक्कर खड्का अहिले सचिव छन् । जेठ २ कार्यान्वयनको क्रममा शरणलाई उपाध्यक्ष बनाइएपछि सचिवको जिम्मेवारी मक्करलाई दिइएको छ । अखिलका नेता खड्काले विद्यार्थी राजनीतिमा लामो अनुभवसँगै जिल्ला कमिटीमा रहेर काम गरिरहेका छन् । खड्का नेतृत्वमा नयाँ पुस्ताको एजेण्डासहित प्रतिनिधिमाझ भोट मागिरहेका छन् ।

‘अरु साथीहरूको पनि दाबी सुन्दैछु । पार्टीमा जस्तोसुकै संकट आउँदा पनि सतिसालजत्तिकै काँध थापेर बसेको हुनाले अध्यक्षको लागि मेरो आकांक्षा स्वाभाविक हो । म पछाडि फर्किने सम्भावना छैन ‘, खड्काले नेपाल प्रेससँग भने । उनले अधिवेशनमा निर्वाचनको सम्भावना देखाए ।

तर, हिजो माधव पक्षमा लागेर एमालेको विरोध गरेको भन्दै शरण राईलाई छेक्ने रणनीतिका साथ एउटा समूह लागेको प्रतिनिधिमाझ चर्चा छ । मक्करलाई अघि सारेर राईसँग भिडाउने र अन्तिममा सहमतिको नाममा प्रेम राईलाई नै दोहोर्‍याउने दाउ भएको विश्लेषणका साथ सहमतिको संभावना क्षण हुँदै गएको हो ।

वर्तमान अध्यक्ष प्रेमकुमार राई अहिलेसम्म मौन छन् । तर, दोहोर्‍याउने वा जिल्ला नेतृत्वबाट विश्राम लिने भन्ने अहिले भन्न नसक्ने उनले नेपाल प्रेससँग बताए । राईले नेताबीच छलफल गर्ने भन्दै आफ्नो दाबीको सम्भावनालाई नकार्न नसक्ने घुमाउरो जवाफ दिए । उनी हतुवागढी गाउँपालिकाका प्रमुख पनि हुन् ।

राईले ९० सदस्यीय जिल्ला कमिटी चयन सहमतिबाटै हुने दाबी गरेका छन् । तर, सहमतिको नाममा कसैमाथि अन्याय नगर्ने उनले बताए । ‘नेतृत्वमा आउँन साथीहरूले जुन इच्छा देखाउनुभएको छ । यो स्वाभाविक हो । सबैजना एकसेएक हुनुन्छ’, अध्यक्ष राईले भने, ‘तर, म अध्यक्ष भए सबै कुरा भइहाल्छ भन्ने तरिकाले जानुहुँदैन । भोलि स्थानीय निर्वाचनहरू आउँदैछ त्यो बेलाका चुनौती र अवसरलाई पनि केलाउनुपर्छ । हामी सल्लाह गर्छौं । जसरी भए पनि छान्नु त पर्‍यो ।’

भोजपुरको अधिवेशनमा आएका प्रतिनिधि ।

भोजपुरमा करिब १३ सय प्रतिनिधि छन् । अधिकांश प्रतिनिधि युवाको काँधमा नेतृत्व आउँनुपर्ने पक्षमा छन् । साल्पासिलिछो गाउँपालिकाका लिला घले आउँदो चुनावमा एमालेलाई अब्बल देखाउन जिल्लाको सबै भूगोल, कार्यकर्ताको भावना र संगठन निर्माण र परिचालनमा सशक्त भइ रातविरात खट्नसक्ने मान्छेको आवश्यकता औंल्याउँछन् ।

पदाधिकारीका अन्य दाबेदारमध्ये उपाध्यक्षमा सिर्जना राई, धुर्व राई, ज्ञानेन्द्र कार्की, धर्म किराती, विष्णु राउत, टीका विष्ट लगायत छन् । त्यस्तै ईन्द्र थापा, मेरिका राई, रमा राई, जगत चौहान, किरण राई सचिवको आकांक्षीमा देखिएका छन् । मेरिका षडानन्द नगरपालिकाकी उपमेयर हुन् भने किरण पौवादुङ्मा गाउँपालिका प्रमुख हुन् ।

उपसचिवमा एक्सन राई, जीवन राई, बहादुर राई, शिव सापकोटा, दीपक तामाङलगायतले दाबी गरेका छन् ।

यी आकांक्षीमा अरु पनि थपिने र अहिले कतिपय पर्ख र हेरको अवस्थामा मौन रहेको बताइएको छ ।

कार्यकर्ताको नजर शेरधनमाथि

भोजपुर पूर्वमुख्यमन्त्री शेरधन राईको गृहजिल्ला हो । एमालेको उपल्लो कमिटीमा रहेका नेतामध्ये शेरधन स्थायी कमिटी सदस्य छन् । अध्यक्षमा कसलाई अघि सार्छन् भन्ने उत्सुकताका साथ कार्यकर्ताको नजर शेरधनमा छ ।

आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्ने वातावरणका लागि जिल्लामा सबै नेतालाई मिलाउन राईले अभिभावकत्व निर्वाह गर्छन्/गर्दैनन् यो महत्वपूर्ण रहेको एक नेता बताउँछन् ।

अधिवेशन उद्घाटन गर्दै स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई ।

‘उहाँ हाम्रो नेता हो । शेरधन राईका लागि यो अधिवेशन अवसर र चुनौती दुवै हो । अभिभावकत्व देखाउँनुहुन्छ वा हुन्न यो हेर्न बाँकी नै छ । कसैलाई काखा र पाखा गर्ने हिसाबले पक्कै नजानुहोला’, ती नेताले भने, ‘स्थानीयदेखि केन्द्रसम्मका निर्वाचन आउँदैछ । कार्यकर्तामाझ कहिँकतै तिक्तता नहुने गरी आफ्नो राजनीतिक भविष्यसमेत हेरेर कम्फर्टेबल बनाउनमा भूमिका खेल्नु नै उत्तम हुनेछ ।’

पूर्वमुख्यमन्त्री राई सहमतिमा नेतृत्व चयन हुने भोजपुर एमालेको इतिहास रहेकाले यो पटक पनि कुनै समस्या नरहेको बताउँछन् ।

‘यसअघिका सबै अधिवेशन सौहार्दपूर्ण भएका छन् । भोजपुरमा यो वा त्यो भन्ने केही छैन । सबै बसेर सल्लाह गरेरै सहमतिमा नेतृत्व छानिन्छ ‘, राईले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर