१४ जिल्लाका सीडीओ तथा सहायक सीडीओ हेरफेर, कसकाे कहाँ सरूवा ? – Nepal Press

१४ जिल्लाका सीडीओ तथा सहायक सीडीओ हेरफेर, कसकाे कहाँ सरूवा ?

काठमाडौं । गृह मन्त्रालयले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै १४ जिल्लामा कार्यरत सहसचिव र उपसचिव सरहका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।

कतिपय प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिएका छन् भने मन्त्रालयका कार्यरत सहसचिव एवम उपसचिव सीडीओ वा सहायक सीडीओकाे रुपमा जिल्ला पठाइएका छन् ।

मन्त्रालय स्रोतका अनुसार सुर्खेतका प्रमुख जिल्ला अधिकारी सहसचिव छविलाल रिजाललाई झापा सरूवा गरिएकाे छ । सुर्खेतकाे प्रमुख जिल्ला अधिकारीमा कैलालीबाट खगेन्द्रप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा फाजिलमा रहेका सहसचिव रमेश ढकाललाई भने बागलुङको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काको गृह मन्त्रालयमा सरुवा भएको छ । मन्त्रालयमा कार्यरत उपसचिव माधवप्रसाद ढुुंगाना इलामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पुगेका छन् ।

यस्तै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपसविच बाबुराम अर्याललाई बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरैलाई पठाइएको छ ।

रुकुप पश्चिमको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मन्त्रालयमा कार्यरत उपसविच परमानन्द घिमिरेलाई दिइएको छ । ओखलढुंगाका प्रजिअ उपसचिव बन्दना राई गृह मन्त्रालय तानिदा मन्त्रालयका उपसचिव एवम सूचना अधिकारीको जिम्मेवारीमा रहेका दिलकुमार तामाङलाई ओखलढुंगाको प्रजिअ बनाइएकाे छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी उपसचिव गोपालकुमार अधिकारी मन्त्रालय तानिँदा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्रराज पौडेललाई बाजुराको प्रजिअ बनाइएकाे छ । दार्चुलाका प्रजिअ सिद्धराज जोशी मन्त्रालय तानिदाँ बाँकेका सहायक प्रजिअ दिर्घराज उपाध्याय भने दार्चुलाको जिम्मेवारीमा गएका छन् ।

गृह मन्त्रालयले भने सरुवा हुने सहसचिव र उपसचिवको सूची सार्वजनिक गरेको छैन । गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहचिव प्रदिपकुमार कोइरालाले सहसचिव र उपसचिवको सरुवा बुधबार नै भएको भए पनि आफुलाई क–कसको सरुवा भएको हो भन्ने बारेमा जानकारी नभएको बताए । उनले कर्मचारी प्रशासन शाखा प्रमुख शोभाखर रेग्मीलाई साेध्न भने।’

रेग्मीले भने आफुले प्रवक्ता कोइरालालाई उक्त सूची उपलब्ध गराइसकेको र प्रवक्तासँग बुझ्न अनुरोध गरे । यसअघि गृह मन्त्रालयले सरुवा हुने वित्तिकै मन्त्रालयको वेवसाइटमा राख्ने गरेको भए पनि विगत केही समय यता भने वेवसाइटमार्फत सार्वजनिक गर्ने काम पनि रोकिएको छ ।

सरुवा भएका सहसचिव र उपसचिवको सूची गृह मन्त्रालयले किन लुकाएको भन्ने नेपाल प्रेसको प्रश्नमा गृहसचिव टेकनारायण पाण्डेले केही समयभित्र वेवसाइटमा राखिने बताए । तर, अहिलेसम्म पनि सरुवा हुनेको सूची वेवसाइटमा राखिएको छैन ।

नेपाल प्रेसले समाचार लेखेकाे दाेस्राे दिनमा मात्रै गृह मन्त्रालयले सरुवा हुने सहसचिव र उपसचिवकाे सूची वेवसाइटमा सार्वजनिक गरेकाे छ ।


प्रतिक्रिया

One thought on “१४ जिल्लाका सीडीओ तथा सहायक सीडीओ हेरफेर, कसकाे कहाँ सरूवा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर