२३ वर्षीय मेघराज, जो अस्ट्रेलियाको भिसा त्यागेर मातृभूमिमै कालिजपालन गरिरहेछन् – Nepal Press

२३ वर्षीय मेघराज, जो अस्ट्रेलियाको भिसा त्यागेर मातृभूमिमै कालिजपालन गरिरहेछन्

कालिज बेचेर पाँच महिनामा १२ लाख कमाइ

दाङ । धेरै नेपाली युवा स्वदेशमा अवसर नभएको भन्दै अध्ययन र कामको सिलसिलामा विदेशिने गरेका छन् । पढाइसँगै काम गर्न जाने धेरै नेपाली विद्यार्थीको रोजाइमा पर्ने देश हो, अस्ट्रेलिया । तर पश्चिम रुकुमका एक युवा अस्ट्रेलियाको भिसा त्यागेर स्वदेशमै कृषिकर्म गरिरहेका छन् । र उनी आफ्नो व्यवसायप्रति सन्तुष्ट छन् ।

मुसिकोट नगरपालिका-४ सोलाबाङ निवासी २३ वर्षीय मेघराम खड्काले करिब ५० लाख रुपैयाँ खर्च दाङको घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा एमके मल्टिप्रपोज प्रालिमार्फत् कालिजपालन थालेका हुन् । उनले कालिजको बच्चा पनि उत्पादन गर्दै आएका छन् ।

एक वर्षअघि कालिजपालनमा लागेका उनी अहिले कालिजकै परिकार पाइने रेस्टुरेन्ट सञ्चालनको तयारीमा जुटेका छन् । ‘कालिज फर्ममा बच्चा उत्पादनको काम भइरहेको छ । अब कालिजको मात्र विभिन्न परिवार पाइने गरी रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको छ’, उनले भने, ‘यसले व्यवसाय विस्तारमा सहयोग पुग्ने आश गरेको छु ।’

केही फरक व्यवसाय गराैं भन्ने सोच र सानैदेखि कालिजप्रतिको आकर्षणले कर्जाहीमा २ बिगाहा जमिन भाडामा लिएर व्यावसायिक कालिजपालनमा लागेको खड्काले बताए ।

विदेश जाने सोच भए पनि लकडाउनका कारण उड्न नपाएपछि व्यवसायमा लागेको उनले बताए । ‘अस्ट्रेलिया जाने तयारीमा थिएँ’, उनले भने, ‘लकडाउनपछि समस्या भयो, विदेश जान ठीक पारेको पैसा व्यवसायमा लगानी गरें । अहिले यसप्रति खुसी छु ।’

उनले वार्षिक एक लाख रुपैयाँभन्दा बढी जग्गाको भाडा तिर्ने गरेका छन् । फर्ममा कालिजसँगै लौकाट, कडकनाथ, लोकल कुखुरासँगै बाख्रा पनि पालेका छन् । सँगसँगै उनले तरकारी उत्पादन गर्दै आएका छन् । खड्काले व्यवस्थापन संकायबाट प्लस टुसँगै एग्रीकल्चर विषय पनि अध्ययन गरेका छन् ।

करिब पाँच महिनाको अवधिमा १२ लाखसम्मका कालिज बिक्री गरेको उनले बताए । फर्ममा उत्पादन भएका कालिज दाङसहित बुटवल, कैलाली, काठमाडाैंलगायतका सहरमा बिक्री गर्दै आएका छन् । उनले फर्ममा दुईजनालाई रोजगारी समेत दिएका छन् ।

उनले फर्ममा कालिजका बच्चा उत्पादनका लागि ह्याचरी मेसिनसँगै दाना मेसिनसमेत राखेका छन् । त्यसैगरी कालिजका लागि बर्सिम, जै, नेपियरलगायतको घाँस खेतीसमेत गरेको उनले बताए । ‘कालिजले दानासँगै घास पनि खान्छ । त्यसका लागि घाँसखेती पनि गरेको छु’, उनले भने, ‘कालिज पंक्षी भए पनि घाँस खाने गर्दछ ।’

१२ लाखको लगानीमा २ हजार कालिजको बच्चा पालेर व्यवसाय सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै मात्र गएको छैन, काजिलसम्बन्धी अन्य व्यवसायसमेत थप्दै गएका छन् उनले । उनको फर्ममा अहिले १५ सयभन्दा बढी कालिज छन् ।

चिसोमा बस्न रुचाउने कालिजलाई अहिलेको मौसम राम्रो भए पनि गर्मी मौसमका लागि उनले छहराहरु तयार पारेका छन् । व्यवसाय सुरु गर्दा उनले कालिजको प्रतिबच्चा ७ सय रुपैयाँमा किनेका थिए ।

एउटा जिउँदो कालिज अहिले ३ हजार रुपैयाँमा बिक्री हुने गरेको थियो । तर अहिले कालिजको मूल्य केही घटेको छ । उनले अहिले प्रतिकालिज २५ सय रुपैयाँमा बिक्री गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर