माओवादी महाधिवेशनको सन्देश– प्रचण्डको विकल्प पुष्पकमल – Nepal Press
टिप्पणी

माओवादी महाधिवेशनको सन्देश– प्रचण्डको विकल्प पुष्पकमल

पछिल्लो समय देशका चार ठूला पार्टीको राष्ट्रिय महाधिवेशन भयो । एमाले, कांग्रेस र राप्रपाको महाधिवेशनको सन्दर्भ अलि पुरानियो । तर, माओवादी महाधिवेशनको सन्दर्भ आलै छ ।

कुनै पनि राजनीतिक दल वा संघसंस्थाको अधिवेशनले दुई कुरा छिनोफानो गर्छ– नीति र नेतृत्व । नेपालका राजनीतिक दलमा नीतिमाथि गहिरो छलफल नहुने परम्परा नै स्थापित भइसकेको छ । बढीमा पद थप्नु वा घटाउनुलाई नै नीति निर्माण गरेको भन्छान्, राजनीतिक दल । अनि त्यसैमा मख्ख पर्छन्, कार्यकर्ता पंक्ति ।

नेतालाई मात्रै होइन, कार्यकर्तालाई पनि नीतिको खासै मतलब हुँदैन । आफूनिकटका नेता नेतृत्वमा पुगे आफूले टेको पाउने आशमा आमकार्यकर्ता पंक्ति गुलाम बनिदिन्छन् । यो सबै दलको रोग हो ।

तुलनात्मक रुपमा माओवादीले महाधिवेशनमा नीतिमाथि ‘गम्भीर छलफल’ भएको बताइरहेको छ । अध्यक्ष प्रचण्डले मानव समाजको उत्पतिदेखि हालसम्मका ऐतिहासिक विकासक्रमसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समूह बनाएर छलफल भयो र माओवादी पंक्तिले यसलाई प्रचण्ड विचार वा प्रचण्ड युग घोषणा गर्नुपर्ने सुझाव पनि दियो । समूहका नेताले प्रतिवेदनमाथि बोले । राम कार्की र लेखनाथ न्यौपानेले फरक मत राखे । अन्तिममा फरक मतलाई फरक मतकै रुपमा राख्ने भन्दै प्रचण्डको प्रतिवेदन ताली बजाएर पारित गरियो ।

नेतालाई मात्रै होइन, कार्यकर्तालाई पनि नीतिको खासै मतलब हुँदैन । आफूनिकटका नेता नेतृत्वमा पुगे आफूले टेको पाउने आशमा आमकार्यकर्ता पंक्ति गुलाम बनिदिन्छन् । यो सबै दलको रोग हो ।

चारपाँच दिन लम्ब्याएर नीतिमाथि गम्भीर छलफल गरेको भन्दै भद्दा राजनीतिक प्रहसन गर्नुभन्दा प्रचण्डले प्रतिवेदन पेश गर्नेबित्तिकै पास भएको घोषणा गरेको भए हुने रहेछ । किनकि, न त्योबीचमा आएका कुनै सुझावलाई समेटियो, न फरक मतको सम्मान नै भयो ।

बरु माओवादी वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीले त देशमा ‘प्रचण्ड युग’ घोषणा गर्न माग गर्दै प्रचण्डको देवत्वकरण गरे । अरु धेरैले पनि सहयात्रीकै मार्ग पच्छ्याए । किनकि, माओवादी कार्यकर्तालाई प्रचण्डको देवत्वकरण नगरे कतिबेला पाखा परिने हो भन्ने मात्रै चिन्ता छ ।

‘माओवादी भनेकै प्रचण्ड, प्रचण्ड भनेकै माओवादी’ जस्तो भएको अहिले होइन । नेकपा एकता अघि तत्कालीन एमाले र माओवादीको कार्यदलमा छलफल हुँदा एकपटक सुरेन्द्र पाण्डेले माओवादीतर्फका कार्यदल सदस्यलाई तपाईंहरुको सदस्य संख्या कति हो, कमिटी प्रणाली के हो ? भन्दै डिजिटल कपी मागेछन् ।

जवाफमा महराले भनेछन्– यस्ता कुरा गर्नुहुन्छ भने यो पार्टी एकता हुँदैन । हाम्रोमा सदस्यता, कमिटी भन्ने कुरा त्यस्तै हो, प्रचण्डले यो पार्टी छ भनेका दिनसम्म रहन्छ । विघटन भयो भनेका दिन आफैं विघटन हुन्छ ।

नभन्दै नेकपा एकताको करीव ३ वर्षमा कुनै सांगठानिक काम भएन र तदर्थवादमै चलेको पार्टी अन्ततः पुनः एमाले र माओवादीमै विभाजित भएको छ । माओवादीको एउटा पंक्ति फुटेर एमालेमा बस्यो, एमालेको एउटा पंक्ति फुटेर अलग पार्टी बन्यो । नेकपा एकताको साइड इफेक्ट त्यति नै हो ।

प्रचण्डविनाको माओवादी पार्टीको परिकल्पना सम्भवतः कसैले गरेका छैनन् र त्यो सम्भव छैन । प्रचण्डले २०५२ सालमा सशस्त्र द्वन्द्व सुरु गरेदेखि नै आफ्नो देवत्वकरण थालेका हुन् । त्यतिबेला माओवादी कार्यकर्तालाई सबैभन्दा बढी प्रचण्डको स्तुतिगान गाउन लगाइयो ।

‘बलिदान क्रान्तिको उर्जा हो’ भनेर तत्कालीन पूर्वी कमाण्ड इन्चार्ज आलोकले पोस्टरमा आफ्नो उक्ति राख्न लगाएपछि उनी कारबाहीमा परे र अन्ततः माओवादी छापामारकै कब्जामा रहेका बेला गाम भिडन्तमा मारिए भनिन्छ ।

प्रचण्डले प्रायः आफ्नो स्तुतिगान आफैंले होइन, नेता कार्यकर्ताबाटै गराएका हुन्छन् । २०५७ सालको राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथ उनको प्रस्तावमा होइन, मोहन वैद्यको प्रस्तावमा पारित भएको थियो ।

जनयुद्ध सुरु भएपछि मिडियामा बाबुरामको मात्रै फोटो आउन थालेपछि प्रचण्डको फोटो सार्वजनिक गरिएको थियो । त्यसपछि नै माओवादीमा प्रचण्डबाहेक अरुको अस्तित्व स्वीकार गरिएन । चुनौती दिने आलोक मारिए, बाबुराममाथि कारबाही भयो र झण्डै मारिएको कुरा हिसिला यमीले पुस्तकमा लेखेकी छन् ।

प्रचण्डविनाको माओवादी पार्टीको परिकल्पना सम्भवतः कसैले गरेका छैनन् र त्यो सम्भव छैन । प्रचण्डले २०५२ सालमा सशस्त्र द्वन्द्व सुरु गरेदेखि नै आफ्नो देवत्वकरण थालेका हुन् । त्यतिबेला माओवादी कार्यकर्तालाई सबैभन्दा बढी प्रचण्डको स्तुतिगान गाउन लगाइयो ।

देवेन्द्र पौडेल, हिसिला यमी, दिनानाथ शर्मादेखि देवेन्द्र पराजुली र कल्पना धमलासम्मका नेताहरु कारबाहीमा परे । प्रचण्डले राता आँखे जनवादको प्रयोग युद्धकालदेखि गरेकै हुन् तर उनलाई ठेगान लगाउन सक्ने केपी ओली मात्र देखिए । नेकपा कालमा उल्टै केपी ओलीले उनलाई साइजमा राख्न खोजेपछि पार्टी नै फुट्यो ।

कुनै पनि आन्दोलन वा क्रान्ति देवत्वकरणका विरुद्ध हुन्छ । विश्वमा जति आन्दोलन, क्रान्ति भए– समानता, स्वतन्त्रता र पहिचानका लागि भएका छन् । तर आफूलाई माओवादीका नेता कार्यकर्ताले समानता, स्वतन्त्रता र पहिचानको पर्याय प्रचण्डलाई मान्छन् । स्कूल नै त्यस्तो भयो ।
प्रचण्डले सुरुदेखि नै माओवादीलाई आफ्नो प्राइभेट कम्पनी जस्तै बनाए । भन्न त प्रचण्डका कार्यकर्ताहरु अहिले एमालेलाई ओलीको प्रालि भन्छन् तर एमालेमा ओलीले चाहेको जस्तो मात्र हुँदैन । माओवादीमा चाहिँ प्रचण्डले चाहेजस्तो मात्र हुन्छ ।

त्यसैले माओवादीको भर्खरै सम्पन्न महाधिवेशन पनि कुनै निजी वा पब्लिक कम्पनीको साधारणसभाभन्दा फरक भएन भनेर टिप्पणी गर्नेहरु छन् । हुन त प्रचण्डले मिडियाले अपमान गरेको भनेका छन् । तर महाधिवेशनका नाममा प्रचण्डको तजबिजबाहेक अरु के भयो ?

राष्ट्रिय सम्मेलन भनेर प्रतिनिधि छानिए । तर प्रचण्डले ‘लौ अब महाधिवेशन’ भन्दिए । त्यसपछि राष्ट्रिय सम्मेलनका लागि आएका प्रतिनिधि प्रचण्डको एउटा बोलीबाट रातारात महाधिवेशन प्रतिनिधि भए ।

कुनै पनि निजी वा पब्लिक कम्पनीमा कोही लगानीकर्ता वा सिइओ यतिधेरै हाबी हुँदैन होला, तर माओवादीमा प्रचण्ड यस्तो शक्ति हुन्– उनको बोली नै अन्तिम सत्य हो ।

हुँदाहुँदा माओवादीलाई यसरी प्रचण्डको कम्पनी जस्तो बनाइयो कि, पार्टीको लोगोमा समेत प्रचण्डको फोटो राखियो । एमालेका महाधिवेशनमा केपी ओलीको फोटोको कटआउट राख्दा माओवादी पंक्तिले गरेका टिप्पणीले आफैंलाई गिज्याउने गरी होडिङ बोर्ड र महाधिवेशनस्थलमा प्रचण्डका प्रतिमा टाँगिए ।

हुन त व्यक्तिपूजाको संस्कृति भित्र्याएको नेपालमा माओवादीले नै हो । प्रचण्डलाई पहिलो संविधानसभा निर्वाचनमा राष्ट्रपतिका रुपमा भित्ताभरी टाँगियो । पछि उनलाई भित्ते राष्ट्रपति भनियो ।

प्रचण्ड परिवारबाट यसपटक चारजना मात्र केन्द्रीय सदस्य भए । प्रचण्डलाई बलियो साथ दिएका जनार्दन शर्माको परिवारबाट आधा दर्जनजतिले केन्द्रीय समितिमा अवसर पाए । अलि आलोचनात्मक चेत राख्ने युवाहरु केन्द्रीय समितिमै परेनन् ।

जनार्दनले यसपटक सुरुदेखि नै प्रचण्डपथ छाडेका कारण माओवादी कमजोर भएको विषय उठाएर प्रचण्डलाई प्रशन्न बनाएका थिए । प्रचण्ड जोसँग प्रशन्न हुनुभयो, उनीहरुको नाम प्रचण्डको फाइलमा चढ्यो । उम्मेदवारी मनोनयनको प्रक्रिया समेत नभइ केन्द्रीय सदस्य निर्वाचित भए ।

राष्ट्रिय सम्मेलन भनेर प्रतिनिधि छानिए । तर प्रचण्डले ‘लौ अब महाधिवेशन’ भन्दिए । त्यसपछि राष्ट्रिय सम्मेलनका लागि आएका प्रतिनिधि प्रचण्डको एउटा बोलीबाट रातारात महाधिवेशन प्रतिनिधि भए ।

सामान्यतः निर्विरोध हुँदा पनि उम्मेदवारले मनोनयन फारम भर्छन् । तर प्रचण्डले वाचन गरेका नाम नै शिलालेख भए । ४० औं वर्षका लागि प्रचण्ड अध्यक्ष भइसकेका छन् । पदाधिकारीमा प्रचण्डले विगतकै जस्तो अन्तरविरोधमा खेल्न खोजेकाले वर्षमान पुन आउन्जेल रोकिएको छ ।

विगतमा कहिले मोहन वैद्य र बाबुराम, कहिले बाबुराम र बादलबीच अन्तरविरोध कहिले बाबुराम र नारायणकाजीबीच खेलेर मज्जा लिने गरेका प्रचण्डमाथि पछिल्लोपटक जनार्दन र वर्षमान भिडाएर आफू दुवैको नेता बन्न खोजेको आरोप छ । यसपटक महासचिव चयनमा त्यो देखिनेछ ।

भन्न त प्रचण्डले आफू छाड्न चाहेको तर उत्तराधिकारी कोही निस्कन नसकेको भन्छन् । करिब ३५ वर्षसम्म एकछत्र नेतृत्व गरेको व्यक्तिले आफ्नो उत्तराधिकारी हुने व्यक्ति चिन्न वा छान्न नसकेको हो वा बाचुन्जेल यसै भनेर नेतृत्वमा रहन चाहेको हो ? प्रश्न माओवादीभित्रै उठ्नुपर्ने हो ।

माओवादीमा सायद कोही पूर्वअध्यक्ष नभइ यसको विघटन हुने हो कि ? किनकि प्रचण्डबिनाको पार्टी त्यसपछिका नेताहरुले पनि सोचेका छैनन् । उनले अझै १० वर्ष आफूले आराम नगर्ने र अवकाश नलिने भनिसकेकाले अझै एउटा महाधिवेशनमा उनको विकल्प खोजिने छैन ।

प्रतिक्रिया

One thought on “माओवादी महाधिवेशनको सन्देश– प्रचण्डको विकल्प पुष्पकमल

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर