नेपाल भित्रिने पर्यटकमा भारतीयपछि अमेरिकी धेरै


काठमाडौं । भ्रमण, पदयात्रा र पर्वतारोहणका लागि नेपाल आउनेमा अमेरिकी पर्यटकको संख्या दोस्रो स्थानमा छ । सीमावर्ती छिमेकी मुलुक भारतपछि अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ ।
सन् २०२१ मा १ लाख ५० हजार ९६२ पर्यटन नेपाल भित्रिएका थिए । जसमध्ये भारतबाट ४२.७८ प्रतिशत अर्थात ६४ हजार ६७३ जना र दोस्रोमा अमेरिकाबाट १५.१४ प्रतिशत अर्थात २२ हजार ८५३ जना नेपाल भित्रिएका थिए ।
सार्क मुलुकबाट ७१ हजार ६१० जना पर्यटक नेपाल प्रवेश गरेका थिए । यो कुल संख्याको ४७.४४ प्रतिशत हुन आउँछ । तर अन्य वर्षहरुको तुलनामा सार्क मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा कमी आएको नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले बताए ।
तथ्यांकअनुसार सबैभन्दा कम भुटान, श्रीलंका र पाकिस्तानी पर्यटक रहेको छ । बौद्ध धर्मावलम्वीको बाहुल्य रहेको ताइवानबाट यस वर्ष ९१ जना मात्र पर्यटक भित्रिएका छन् ।
सरकारले सन् २०२० मा २० लाख पर्यटन नेपाल भित्राउने लक्ष्य राखे पनि कोभिड-१९ महामारीका कारण सफल हुन सकेन । तर कोभिड-१९ कै महामारीबीच गत वर्ष पर्वतारोहीहरुको संख्यामा भने उल्लेख्य बृद्धि भएको पर्यटन विभागको तथ्याङक छ ।
यो समयमा सगरमाथा आरोहण गर्न हालसम्मकै धेरै ४०८ जनाले विभागबाट अनुमति लिएका थिए ।