सिरहामा पुनः ट्रक जलाइयो, चालकमाथि कुटपिट


जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा आज विहान पुनः एउटा ट्रकमा आगजनी गरिएको छ ।
बतहा खोलाको पुलमै ना ४ ख १००९ नम्बरको ट्रकमा अपरिचित व्यक्तिको समूहले विहान करिब पाैने ६ बजे आगजनी गरेको हो ।
आगजनीबाट ट्रक पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । आगजनीमा राजमार्ग अवरुद्धको घोषणा गरेका जनमत पार्टीकै कार्यकर्ताको संलग्नता रहको हुनसक्ने प्रहरीको अनुमान छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरि ओलीले चालकलाई कुटपिट गरी ट्रकमा आगजनी गरेको जानकारी दिए । उनका अनुसार घाइते चालकको अहिले उपचार भइरहको छ । आगजनी जनमत पार्टीकै कार्यकर्ताले गरेको अनुमान छ ।
जनमत पार्टीले यसअघि पनि सप्तरी र सिरहामा एक एक वटा ट्रकमा आगजनी गरिसकेको छ । धनुषाको पोर्ताहामा प्रहरीले हिजो आन्दोलनकारीमाथि गोली चलाएपछि उनीहरु सशक्त आन्दोलन गर्ने बताएका थिए ।