देउवाको सन्देशः शेखरलाई रोक्ने, बाँकीलाई बोक्ने ! – Nepal Press

देउवाको सन्देशः शेखरलाई रोक्ने, बाँकीलाई बोक्ने !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो २४ घण्टामा २ पटक कांग्रेसको केन्द्रीय समिति विस्तार गरे । दईपटकमा गरेर देउवाले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा एउटा स्पष्ट सन्देश दिएका छन्- त्यो हो शेखर कोइरालालाई पन्छाउने र बाँकी सबैलाई खुसी पार्ने ।

१४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले सबैलाई समेटेर जाने बताएका थिए । यद्यपि, दुई चरणको मनोनयनबाट प्रतिस्पर्धी खेमालाई ‘इग्नोर’ गरेर देउवा अघि बढ्न खोजेको देखिन्छ । निर्वाचनमा प्रत्यक्ष-अप्रत्यक्षरूपले सहयोग गर्नेदेखि आफ्नो समूहबाट पराजित पदाधिकारीका प्रत्याशीलाई देउवाले केन्द्रीय समितिमा ल्याएका देउवाले शेखरको समूहलाई बेवास्ता गरेका छन् ।

केन्द्रीय समितिमा दुई तिहाईभन्दा बढी वर्चस्व भएका कारण देउवाको हरेक निर्णय बहुमतले सदर हुने अवस्था छ । यही कारण शेखर समूहलाई ‘साइज’ मा राख्ने रणनीति देउवाले अंगीकार गरेका हुन् । ‘सुरूदेखि नै भाउ दिन खोज्यो भनेपछि गार्‍हो पर्न सक्छ । केन्द्रीय समितिमा उपस्थिति हेर्दा शेखर पक्षलाई धेरै मिलाउनपर्ने देखिँदैन । त्यसैले सभापतिजी यसपटक सुरूदेखि नै प्रष्ट भएर हिँड्न खोज्नुभएको छ’, देउवानिकट एक नेताले भने ।

कांग्रेस विधानको दफा २१ ले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । हालसम्म देउवाले १३ जना मनोनीत गरेका छन् । १३ जना मनोनीत गर्दा देउवाले आफ्ना निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको समूहबाट प्रतिस्पर्धा गरी पराजित भएका नेताहरूलाई भने समेटेनन् ।

सभापति देउवाले आफ्नो टिमबाट उपसभापतिमा पराजित भएका विजयकुमार गच्छदार, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत र प्रदीप पौडेलसँगै सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीसम्मलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । महाधिवेशनको चुनावी प्रक्रिया बहिष्कार गरेका रामचन्द्र पौडेल र चुनाव नलडी देउवाको प्रस्तावक बनेका कृष्णप्रसाद सिटौला पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

त्यस्तै पहिलो चरणमा सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई नै सघाएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि मनोनीत केन्द्रीय सदस्य बन्ने अवसर पाएका छन् । सिंहको प्यानलबाट उपसभापतिमा पराजित सुजाता कोइरालादेखि प्रतिस्पर्धामै नउत्रिएका डा. नारायण खड्का, मीन विश्वकर्मा र उमा रेग्मी पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

कांग्रेस विधानको दफा २१ ले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । हालसम्म देउवाले १३ जना मनोनीत गरेका छन् । १३ जना मनोनीत गर्दा देउवाले आफ्ना निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको समूहबाट प्रतिस्पर्धा गरी पराजित भएका नेताहरूलाई भने समेटेनन् । उपसभापतिमा पराजित डा. चन्द्र भण्डारी र महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाललाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छैनन् ।

उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महेश आचार्यलाई पनि देउवाले मनोनीत गरेका छैनन् । आफूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गरेकालाई मात्रै देउवाले २ चरणको मनोनयनमा समेटेका हुन् । देउवा पक्षका नेताहरूले यसलाई सभापतिले आफ्नो अधिकार प्रयोग गरेको रूपमा व्याख्या गरेका छन् भने कोइराला पक्षका नेताहरूले ‘गुटबन्दीको सुरूआत’ गरेको आरोप लगाएका छन् ।

कांग्रेस नेता अर्जुनरसिंह केसी सभापतिले देउवाको निर्णयले ‘पहिलो गाँसमै झिँगा परेको’ टिप्पणी गर्छन् । पार्टीभित्रको प्रतिपक्षी शक्तिलाई पेलेर जाने नीति लिनु देउवाका लागि प्रत्युत्पादक हुनसक्ने केसीको भनाइ छ ।

‘महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा एक पक्षलाई निषेध गरेर जाने मनोवृत्ति सुरूमै देखिएको छ । कांग्रेसलाई एकताबद्ध बनाउने हो भने सभापतिजी त्यो मनोवृत्तिबाट बाहिर आउनुपर्छ । पार्टीभित्र फरक मत राख्नेहरूलाई पाखा लगाउने प्रयास गलत छ’, केसीले भने । उनले पदाधिकारीमा पराजित अरु नेताहरू केन्द्रीय सदस्य मनोनीत हुँदा महेश आचार्य, चन्द्र भण्डारी र मिनेन्द्र रिजाललाई नजरअन्दाज गरिनु गलत भएको बताए ।

सभापति देउवानिकट केन्द्रीय सदस्य जितजंग बस्नेतले भने निर्वाचित सभापतिले आफ्नो सहजता खोज्नु स्वभाविक भएको बताए । विधानले दिएको अधिकार प्रयोग गर्दा आलोचना गर्नुको औचित्य नभएको बस्नेतको भनाइ छ ।

‘सभापतिजीले वरिष्ठ नेतादेखि पूर्वपदाधिकारीहरू सबैलाई समेट्नुभएको छ । एकताको सन्देश दिनुभएको छ । सबैजना अट्न सम्भव नहुन सक्छ । जितेको सभापतिले चलाउन पाउनुपर्यो नि । अहिलेदेखि नै विरोध गर्नुको अर्थ छैन,’ बस्नेतले नेपाल प्रेससँग भने ।

विधानको प्रयोग भयो, तर विवेकको भएन : उपसभाति गुरुङ

कांग्रेस उपसभापति धनराज गुरुङ केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापति देउवालाई नै भएको बताउँछन् । विधानले दिएको अधिकार प्रयोग गरे पनि विवेकको प्रयोग गरे/नगरेको विषयमा चै मूल्यांकन हुनुपर्ने उनको भनाइ छ ।

‘उहाँले विधानले दिएको अधिकार प्रयोग गरेर आवश्यक ठानेका नेताहरूलाई मनोनीत गर्नुभयो । मनोनीत गर्दा एक पक्षलाई उहाँले वेवास्ता गर्नुभएको छ । विधानको पालना त भयो तर विवेकको पालना भएन कि ? यसलाई सबैले मूल्यांकन गर्नुपर्ला,’ गुरुङले नेपाल प्रेससँग भने । पार्टीलाई एकताबद्ध बनाएर लैजाने मूल जिम्मेवारी सभापतिकै हुने भन्दै उपसभापति गुरुङले आम नेता कार्यकर्ता र जनताले सभापतिको कामको मूल्यांकन गरिरहेको बताए ।

विरोधीलाई बढी भाग दिनुभयो : सहमहामन्त्री यादव

सभापति देउवानिकट कांग्रेस सहमहामन्त्री महेन्द्र यादव भने मनोनयन गर्दा प्रतिस्पर्धीलाई बढी महत्व दिइएको दाबी गर्छन् । देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, सुजाता कोइराला र कल्याण गुरुङ देउवाको विकल्प खोज्ने नेताहरू रहेको यादवले बताए ।

‘देउवालाई हराउनैपर्छ भन्ने नेताहरूलाई नै उहाँले केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ । यसमा त बरु देउवाका मान्छेहरूलाई दुःख लाग्नुपर्ने हो । किनकी हिजोसम्म देउवाको विरोध गर्नेहरूलाई नै उहाँले मनोनित गर्नुभएको छ । सभापतिजीले सबैलाई समेट्न खोज्नुभएको होला’, यादवले भने ।

मनोनीत गर्ने संख्या सीमित रहेकोले केही नेताहरू छुट्नसक्ने भन्दै यादवले सभापतिले उदारता देखाउँदा समेत विरोध गरिएको बताए ।

‘शेखरदाइले त सभापतिलाई धन्यवाद भन्नुपर्छ । सभापतिले सबैलाई समेट्न खोज्नुभएको छ । केही छुटेका नेताहरूलाई पनि छिट्टै समेट्नुहुन्छ होला । अहिले विरोध गर्नुपर्ने म केही देख्दिन’, यादवले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

One thought on “देउवाको सन्देशः शेखरलाई रोक्ने, बाँकीलाई बोक्ने !

  1. बहुमत छ भने मनपरि गर्ने ,नैतिकता लोकलाज, सामाजिक मान्यता केइ न हेर्ने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर