माओवादीलाई केन्द्रीय समितिमा ‘क्लस्टर’ मिलाउन सकस – Nepal Press

माओवादीलाई केन्द्रीय समितिमा ‘क्लस्टर’ मिलाउन सकस

काठमाडौं । ‘इन्द्रेणी’ रंग जस्तै समावेशी केन्द्रीय समिति बनाउने उद्घोष गरेको नेकपा (माओवादी केन्द्र)लाई ‘क्लस्टर’ अनुसार तोकिएकोसंख्या मिलाउन सकस परेको छ ।

माओवादीको जारी आठौं महाधिवेशन हलबाट शनिबार पारित भएको विधानमा महिलाको प्रतिनिधित्व पार्टीमा ३५ प्रतिशत हुने भनिएको छ। यो हाल सरकारले दिँदै आएको आरक्षण भन्दा पनि दुई प्रतिशत बढी हो।

माओवादीले दलितको हकमा पनि अगाडि बढ्दै १५ प्रतिशतको प्रतिनिधित्व गराउने व्यवस्था विधानमा गरेको छ। दलतिको जनसंख्या १३.६ प्रतिशत भए पनि विगतको क्षतिपूर्तिस्वरुप माओवादीले त्यसलाई बढाएर १५ प्रतिशत प्रतिनिधित्व गराउने भनेको थियो। त्यस्तै मुस्लिमको ५ प्रतिशत र सबै समूहबाट ४० वर्षसम्मका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य हुने व्यवस्था विधानमा गरेको थियो।

विधान कार्यान्वयनका सकस

विधान अनुसारको व्यवस्था कार्यान्वयन गराउन भने माओवादीलाई सकस परेको छ । निर्वाचन प्रयोजनार्थ माओवादीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको ‘क्लस्टर’ले भने पार्टी विधानको मर्म भत्काउने देखिन्छ। दलितलाई १५ प्रतिशत प्रतिनिधित्व गराउने भनेको माओवादीले ५० प्रतिशत समानुपातिक कोटा अन्तर्गत २२ जना केन्द्रीय सदस्य मात्रै दलित समुदायबाट निर्वाचित हुने उल्लेख गरेको छ । यो ७ प्रतिशत मात्रै हो ।

सार्वजनिक भएको सूचना अनुसार महिलाको प्रतिशत भने भनिए अनुसारै पुग्नेछ। तर, मुस्लिम, युवा लगायतका हकमा भने विधानको व्यवस्था अनुसार हुने देखिँदैन। मुस्लिम कोटाबाट ७ जना निर्वाचित हुने छन् जुन २ प्रतिशत मात्रै हो । माओवादी विधानमा ५ प्रतिशत प्रतिनिधित्व हुने भनिएकोछ। त्यस्तै युवाको प्रतिनिधित्व पनि १० प्रतिशत मात्रै हुने देखिएको छ। विधानमा २० प्रतिशत गराउने भनिएको छ।

संविधानकै व्यवस्थालाई चुनौति !

नयां संविधान अनुसार सरकारले हरेक क्षेत्रमा समावेशीतर्फको ४५ प्रतिशतलाई शतप्रतिशत मानी महिलालाई ३३ प्रतिशत, मधेसी २७ प्रतिशत, आदिवासी जनजाति २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांग ५ र पिछडिएको क्षेत्रलाई ४ प्रतिशत प्रतिनिधित्व गराउँदै आएको छ।

२ सय ९९ सदस्यीय केन्द्रीय समितिमा माओवादीलाई संविधानमा व्यवस्था भए अनुसारकै गर्न पनि कठिनाइ परेको छ। यही कारण शनिबार कतिपय प्रदेशले आफ्नो भागमा परेका केन्द्रीय सदस्य संख्या दिन नसक्दा बन्दसत्रबाट घोषणा गर्ने कार्यक्रम स्थगन गरेर आइतबारसम्म सार्नु परेको हो।

संविधानले व्यवस्था गरेभन्दा महिलाको २ प्रतिशत बढी प्रतिनिधित्व गराउन लागेको माओवादीले आदीवासी जनजाती, दलित, मधेसी, पिछडिएको क्षेत्र र अपांगता भएको क्षेत्रमा भने त्यो संविधानकै व्यवस्था कार्यान्वयन गर्न नसक्ने देखिन्छ। माओवादीको समानुपातिकतर्फ आदीवासी जनतजाती ४३ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ, जुन १४ प्रतिशत हुन आउँछ। संविधानमा भने २२ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था छ।

त्यस्तै संविधानमा दलितका लागि ९ प्रतिशत छुट्याइएको छ। माओवादीमा यो २ प्रतिशत कम हुने देखिएकोछ। त्यस्तै संविधानमा मधेसीका लागि २७ प्रतिशत छुट्याइएको छ। माओवादीमा मधेसी ८ प्रतिशित मात्रै हुने देखिएको छ। त्यस्तै मुस्लिमतर्फ ५ प्रतिशत प्रतिनिधित्व गराउने विधानको व्यवस्था पनि माओवादीले कार्यान्वयन गर्न नसक्ने देखिन्छ। पिछडिएको र अपांगता भएको क्षेत्रका लागि माओवादीले १ र १ प्रतिशत मात्रै छुट्याएको छ। तर, संविधानमा दुवै क्षेत्रका लागि ५ र ५ प्रतिशतको व्यवस्था छ ।

यसले माओवादीमा केही असन्तुष्टि समेत देखिएको छ। माओवादी नेता दलजीत श्रीपाइलीले यसबारे आफूहरुले कुरा उठाएको बताए । उनले भने, ‘जसरी समावेशिता र समानुपातिकको व्यवस्था हामीले गरेका थियौं, त्यो अनुसार नभएपछि सशक्त रुपमा त्यो कुरा उठाएका छौं ।’

विधानले गरेको भन्दा फरक ढंगले आएपछि केही गम्भीर ढंगले कुरा उठेको उनले बताए। ‘युग परिवर्तन गर्ने एउटा पार्टीले समावेशी समानुपातिकमा जुन अलिकति गढबढ भएको छ, त्यसमा अधिकारका लागि आवाज उठाइएको छ,’ श्रीपाइलीले भने। यद्यपि यो विषय सम्बोधन हुने आसा पनि उनको छ। ‘हामीलाई लाग्छ, त्यो सम्बोधन हुन्छ,’ उनले थपे, ‘अध्यक्ष कमरेड प्रचण्डले पनि त्यसलाई सम्बोधन गरेर जान्छु भन्नुभएको छ।’

‘मेकअप’ गर्न सक्ने ठाँउ

शनिबार सार्वजनिक गरिएको कलस्टर अनुसारै समानुपातिकतर्फ दस्य चयन गरेको खण्डमा पनि माओवादीले आफ्नो विधानमा भएको व्यवस्था अनुसारको केन्द्रीय समिति बनाउन नसक्ने भने होइन ।

खुला केन्द्रीय सदस्य र मनोनय गर्ने १५ प्रतिशतमा माओवादीले यी समस्याको समाधन गर्न सक्छ । खुलातर्फ १४५ केन्द्रीय सदस्य निर्वाचित हुने छन्। त्यस्तै २९९ जनाको १५ प्रतिशतले ४५ जना मनोनित गर्न पाउने भएकाले जम्मा १ सय ९० जनाबाट पनि अपुग भएका कलस्टरमा ‘मेकअप’ गर्न भने सक्छ । समानुपातिकतर्फ युवाको प्रतिनिधित्व १० प्रतिशत गराएको माओवादीले खुला र मनोनितमा समेत गरी थप १० प्रतिशत पुर्‍याउनु पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर