स्व. नारायणप्रसाद राई: जसले उत्तरी मोरङमा बनाए ‘मिनी कन्याम’ – Nepal Press

स्व. नारायणप्रसाद राई: जसले उत्तरी मोरङमा बनाए ‘मिनी कन्याम’

इटहरी । इलामको कन्याम भनेको चिया बगान क्षेत्र मात्रै हैन । योे एक आकर्षक चिया क्षेत्रको बिम्ब पनि हो । त्यहि बिम्ब प्रयोग गरेर ‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा’ बोलको गीतका जनगायक किशोर थुलुङ उत्तरी मोरङको जेफालेलाई ‘मिनी कन्याम’ भन्छन्।

महेन्द्र बहुमुखी क्याम्पस धरानमा पत्रकारिताका लेक्चरर थुलुङले थुप्रैपटक आफ्ना विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाका लागि उत्तरी मोरङको जेफाले क्षेत्रमा लगेका छन । जेफालेको ‘मातृभूमि टी स्टेट’मा पुर्‍याउँछन् । र, देखाउँछन्, ठ्याक्कै कन्यामकै झल्को आउने २०५६ बाट सुरु भएको मातृभूमि टी स्टेटको आठ सय रोपनी क्षेत्र । उक्त क्षेत्रमा ग्रिन कार्पेटझै बसेका चियाका आकर्षक बुट्यानहरु ।

मोरङको दुर्गम पाहाडी क्षेत्रहरु समेटिएको केराबारी गाँउपालिका–२ सिंहदेवी जेफालेमा नारायणप्रसाद राईले बनाएको ‘मिनी कन्याम’को मूल कथा सुरु हुन्छ–खाडी मुलुक ओमानबाट ।

फ्रान्सेली र अस्ट्रेलियन राजदूतसँग संगतपछिको चिया प्रेम

नारायणप्रसाद राईले २०४९ मा बिहे गरे । बिहे गरेको अर्को साल २०५० मा उनी वैदेशिक रोजगारीको लागी खाडी मुलुक बहराइन पुगे ।

मासिक नेपाली दुई हजार मात्रै तलब भएपछि उनी त्यहाँ तीन महिना मात्रै टिके । कम्पनीले उनलाई ओमान पुर्‍यायो । उनको ओमान नै अन्तिम वैदेशिक रोजगारी गन्तव्य बन्यो ।

राई वैदेशिक रोजगारी पुग्नु भन्दा अगाडि नै नेपालमा केहि गर्न नखोजेका होइनन् । २०४२ सालमा उर्लाबारीको सुनपकुवा माविबाट उनले एसएलसी सकेपछि भारत गएर पाँच वर्ष आईटीआई कोर्ष गरे । यो भनेको रेडियो जोडजाड, विद्युतीय उपकरणको जानकारीदेखि टाइपराइटरसम्मको सीप हो । पारीबाट सीप सिकेर मोरङकै उर्लाबारी र लेटाङ क्षेत्रमा इन्स्टिच्युड खोले । त्यतिबेला प्राविधिक ज्ञानको अभावमा इन्स्टिच्युड खासै चलेन । त्यसपछि हो, उनले विदेश जाने सोच बनाएको । एक वर्षअगाडि जेफालेको आफ्नै चिया बगान परिसरमा नेपाल प्रेससँगको कुराकानीमा राईले भनेका थिए, ‘विहे गरेपछिको जिम्मेवारी र ऋणले म विदेशिन बाध्य भएको थिएँ ।’

ओमानको राजधानी मस्कटको कोरम क्षेत्रको अल खामिज प्लाजामा काम सुरु गरेको दुई वर्षपछि उनको तलब बीस हजार रुपैयाँ पुग्यो । सात वर्षपछि त साढे तीन लाख ‘चोख्खो’ तलब । ‘कम्पनीको बोनससोनस जोड्दा मासिक कमाई पाँच लाख रुपैयाँसम्म पनि पुग्थ्यो,’ उत्साहका साथ उनले विगत सम्झिए ।

उनी सेल्स म्यानेजर भएर काम गर्दा ओमानका शेख परिवारदेखि ओमान स्थित विदेशी राजदूतहरुसँग व्यापारिक चिनापर्ची बढ्यो । खास गरी उनी ओमानस्थित फ्रान्स र अस्टे«लियन राजदूतहरुसँग नजिकिए । उनीहरुको चिया प्रेमले उनलाई छोयो । २०५३ मा उनले इलामबाट मगाएर चियाको स्याम्पल लगे । राजदूतहरुले खुब मन पराए । एक सय केजी ल्याइदिन माग गरे । छ महिनाभित्र ल्याएदिने राईले बचन दिए । तर, नेपालमा छ महिनासम्म पनि एक सय किलो चिया तयार भएन । उनलाई राजदूतले बेस्मारी गाली गरे । उनी रातोपिरो भएर नाजावाफ हुनुको विकल्प रहेन ।

राजदूतको गालीले उनलाई चिया उद्यम बारेमा भने सचेत गराइसकेको थियो । त्यहि चिया उद्यम सपना बोकेर उनी २०६० मा नेपाल आए । नेपाल आउनु अगाडि नै उनले २०५२ मा लेटाङमा जग्गा किनिसकेका थिए । २०५३ मा जेफाले क्षेत्रको पाँच रोपनी ‘नेवारबारी’ किने । जग्गा उनले अत्यन्तै सस्तोमा पाए । १६ हजार हाराहारीमा उनले जग्गा किनेका थिए ।

२०६० बाट सुरु भएको चिया क्रान्ति

ओमानको रियाल कमाइ छाडि स्वदेशमै डलर कमाउने सपना बोकेर राई २०६० सालमा नेपाल आए । जेफाले क्षेत्रमा थप जग्गा जोडे । इलामबाट चियाको बिउ लिएर चिया क्षेत्र बिस्तार गरे । २०५३ मा जग्गा किनेर सुरु गरेको चियाको बिक्री हुन पाएन । बिक्री नहुने दुई कारण थिए । एक, जेफालेसम्म पुग्ने सडक थिएन । दुई, राम्रो परिमाणमा बेच्न आवस्यक प्रशोधन उपकरण थिएनन् । आफ्नो पहिलो चिया उत्पादन बारेमा राईले भनेका थिए, ‘पहिलो उत्पादन त सुकाँउदै गाँउले र आफन्तलाई बाँडेर सकिएको थियो ।’

२०६५ सालबाट भने उनले चीनबाट सानो आकारको चिया प्रशोधन मेसिन ल्याए । पूर्वमन्त्री पूर्णकुमार शेर्माका छोरा राजु शेर्माको कार्गोबाट उनले मेसिन जेफाले ल्याएका हुन् । आफ्नै मेसिन ल्याउनुको अर्को कारण बन्द हड्ताले अरु प्रशोशन केन्द्रमा समयमै काम नहुनु पनि थियो । त्यो मेसिन नेपाल आएको पहिलो सानो आकारको चिया प्रशोधन मेसिन थियो । यसको हल्ला दार्जिलिङदेखि सिक्कमसम्म भएको थियो । चिनियाँ मेसिन ल्याउनुभन्दा अगाडि भारतबाटै मेसिन किन्न खोजेपनि अत्यन्तै महँगो भएकाले उनले आँट गरेका थिएनन् ।

उनको मेसिन आएको केहि समयमै जेफाले क्षेत्र पुर्वपश्चिम राजमार्गसँग सहजै जोडियो । सिए भन्ने संस्थाले २९ लाख लागानी गरेपछि पैदल हिँड्दा आठ घन्टा लाग्ने समय सडकबाट एक घण्टामै पुग्न सकिने भयो ।

राईले आफ्नो प्रथम उत्पादन काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शन गरे । यो २०६७ सालको कुरा हो । पहिलो प्रर्शनमा उनले १६ सयको चिया बेचे । थोरै विके पनि उनको अर्गानिक चियाले राम्रो प्रतिक्रिय पायो । उनी पटकपटक प्रदर्शनमा पुगे । पछिपछि उनले एकै प्रदर्शनमा डेढ लाखसम्मको चिया बेचे ।

दुधमा हालेर खाने सिटिसी चियाकै बिगबिगी भएको समयमा उनी ग्रिन टी देखि गोल्डेन टी लिएर प्रदर्शनीमा सहभागी हुन्थे । भृकुटीमण्डपबाट सुरु भएको उनले प्रदर्शनी यात्रा भारतको मुम्बई, चीनका रिझाओ तथा फुजियानदेखि रुसको मस्कोसम्म पुग्यो । आफैं नपुगेर आफ्नो चिया एजेन्टमार्फत पुगेका त कति छन कति ।

सामान्य अवस्थामा मातृभूमि टी स्टेटले वार्षिक ६ हजार किलो चिया उत्पादन गर्छ । खपत विदेशमै बढी हुन्छ । नेपाली खपतकर्ताले चिया लिएर पैसा समयमै नतिर्ने भएकोले जोखिम भएको राईको अनुभव छ । नेपाली चियाको भारत र चीनमै विशाल बजार रहेको भन्दै उनले भने, ‘नेपाली चियाको सहज निर्यातको वातावरण सरकारले गर्ने हो भने उत्पादन जत्ति बढाए पनि बजार छ । पैसा छ ।’

४३ जनाले रोजगारी पाएका छन् । पछिल्ला दुई वर्षमा त उनको फार्म हाउस क्षेत्रमा होमस्टे पनि चलेको छ । पाहुनाको लागि आवश्यक कुखुरादेखि खसी/बोकासम्म फार्म हाउसमै उपलब्ध छ । एक जनाको १५ सयले एक रात पुग्ने होमस्टेमा एकैपल्ट बीस जनासम्म अट्छन् । प्रसस्त किवि खेती र पशुपालनमा पनि ध्यान दिएका छन् । समग्रमा भन्दा उनको चिया बगान अहिले बहुउद्देश्यीय फार्म हाउसजस्तै बनेको छ ।

अमेरिकाले भिसा दिएन तर, चियाले उत्कृष्ट अवार्ड पायो

सन २०१९ को नोभेम्बर १ देखि ३ सम्म अमेरिकाको सिकागो सहरमा चिया प्रदर्शनी थियो । प्रदर्शनीका लागि निम्तो पाएपछि भिसा प्रक्रिया पूरा गर्न काठमाडौं आएका उनलाई अमेरिकी दूताबासले भिसा दिएन ।

अमेरिकामै रहेका व्यापारिक साथी सुदीप पानको सहयोगमा उनले चियाका ६ आइटम प्रदर्शनीमा राखे । त्यसमध्ये दुई– गोल्डेन टी र ह्वाइट टी ले अवार्ड पाए । त्यसबारे उनले गत वर्ष आफ्नै चिया बगान क्षेत्रमा मुस्कुराउँदै भनेका थिए, ‘अमेरिकाले मलाई नपत्याए पनि मेरो चियालाई पत्याएकोमा खुशी नै छु ।’

अमेरिकामा सुदीपसँग जस्तै युरोपका देशहरुमा आफ्नो चिया विक्रीका लागि उनले लक्ष्मण घिमिरेलाई एजेन्ट बनाएका छन । थुप्रै ठाँउमा पुरस्कार र सम्मान पाएका छन । उनले २०७१ सालमा जिल्ला कृषि विकास कार्यालय मोरङबाट राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाए । २०७२ मा माघ २४ देखि २७ सम्म विराटनगरमा भएको नवौं प्रांगारिक कृषि मेलामा उनले प्रथम पुरस्कार पाए । २०७३ पुष १५ देखि १६ सम्म विराटनगरमै भएको खाद्य मेलामा उनी प्रथम भए । अन्य विभिन्न संघ संस्थाबाट पाएको अवार्ड र सम्मानको लिस्ट धेरै लामो छ ।

राईको पौरखले सम्भव भएको ‘रिभर्स माइग्रेसन’

२०२३ सालमा तत्कालीन सिंहदेवी गाँउ पन्चायतको चिसोपानी सियालेमा जन्मेका नारायणप्रसाद राई पाँच वर्ष नपुग्दै गाँउमा खडेरी आतंक भयो । २०२८ मा भएको खडेरी यति भयंकर भयो कि बिउसमेत जोगाउन सकिएन । गाँउलेहरु तितरबितर भएर तराई झर्न थाले । कोहि लेटाङ झरे । कोहि केराबारी । कोहि सुनझोडा । कोहि उर्लाबारी र जाँते ।

राईको हजुरबुबाका पाँच छोरामा उनका बुबा अन्तरे । तीस रोपनी मात्रै हजुरबुबाको जग्गा भएकोले आफ्नै नाममको जग्गा भन्नु खासै थिएन भन्दा पनि हुन्छ । त्यस्तो अवस्थामा खडेरी पीडित भएर राई आफ्ना बुबासँगै पहिले लेटाङको कात्तिके आए । त्यहीँ हुँदा २०३२ सालमा आमा बित्नु भयो । त्यसपछि उनको परिवार सुनझोडा पुग्यो । त्यहाँ पनि छाडेर २०३६ साल ताका जाँते पुग्यो ।

आफ्नो बडाबाको घरमा बसेको उनको परिवारको आफ्नै घर २०४२ ताका मात्रै बन्यो । २०४२ मै उनले एसएसली सके । अनि कमाइ, पढाइ र बिहे गरेर उनी २०५० मा विदेश भासिए । २०६० मा आफ्नै देश आएर सक्रिय चिया उद्यममा लागे । त्यसपछि सुरु भयो रिभर्स माग्रेसनको चरण ।

बाबुहरुले बसाइसरेर छाडेको पुर्खौली क्षेत्रमा उनी पुनः आए । कुनै बेला खडेरीले बिजोग बनाएको गाँउमा उद्यम गरे । चिहानडाँडा भनिने नांगो पाखामा चिया लगाएर हराभरा पारे । उनका बुबा २०६८ मा आफ्नै पुर्खौली गाँउमै आएर प्राण त्यागे ।

राईको निजी परिवारमा मात्रै हैन अहिले उक्त क्षेत्रमा बसाइसरेका परिवारहरु फर्केर आएका छन । पछिल्लो समयमा जेफाले मोरङको मात्रै नभएर प्रदेश १ को चर्चित होमस्टे गन्तव्य भएपछि मोरङको तराईतर्फबाट र भेडेटारदेखि राजारानी हुँदै पनि सहजै जेफाले पुग्न सकिन्छ ।

कुनै बेला खडेरीले जेफाले छोडेर जेफालेकै मान्छेहरु तराई झरेका थिए । अहिले तराईका मान्छेहरु पर्यटक भएर मात्रै हैन घडेरी किन्ने ग्राहक भएर जेफाले उक्लन थालेका छन । लेटाङ बजारमै घर भएपनि राईको परिवार जेफालेमै बस्छन ।

पूरा हुन नपाएको एउटा सपना

बसाइ सरेर छोडिएको पुर्खौली थले फर्कने नारायणप्रसाद राईपको सपना पूरा भयो । ओमानको रियाल छाडेर जेफालेमै डलर कमाउने सपना पूरा भयो । जेफालेलाई कृषि पर्यटनमा चिनाउने सपना पूरा भयो । गाँउलेहरुलाई पनि गाँउमै फर्काउने सपना पनि पूरा भयो ।

तर, एउटा सपना भने पूरा हुन पाएन । त्यो हो आफू वैदेशिक रोजगारीमा हुँदा चिया पुर्याउन नसक्दा रिसाएका ओमनमा भेटिएका फ्रान्सेली र अस्ट्रेलियाली राजदूतकै देशमा पुगेर चिया प्रदर्शनी गर्ने ।

राईले गतवर्षको भेटमा भनेका थिए, ‘मर्नु अगाडि एक पटक फ्रान्स र अस्ट्रेलियामा आफैं चिया लिएर पुग्न बाँकी छ ।’

अब उनको त्यो सपना कहिल्यै पूरा हुने छैन । गएको असोजमा उनले कोरोना संक्रमणलाई जिते । तर, हृदयघातबाट बच्न सकेनन् ।

सबै तस्बिर- विराट अनुपम/नेपाल प्रेस

(हृदयघातका कारण केहि समयअघि निधन भएका राईसँग करिव एक वर्षअघि नेपाल प्रेसकर्मी विराट अनुपमले गरेकाे कुराकानीमा आधारित ।)


प्रतिक्रिया

One thought on “स्व. नारायणप्रसाद राई: जसले उत्तरी मोरङमा बनाए ‘मिनी कन्याम’

  1. वास्तव मै अति सुन्दर छ । ७४ सालको शुरू तिर हामीले पनि वहाँको वगान भ्रमण गर्ने अवसर पाएका थियौ ।चियाको स्वाद पनि लिने अवसर मिल्यो तर दुखद कुरा स्वर्गीय भन्ने समाचार पढ्नु पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *