सन् २०२१ का १० विश्वघटना : अमेरिकी संसदमा आक्रमण, मंगलमा यानदेखि बुहारीको बयानसम्म – Nepal Press

सन् २०२१ का १० विश्वघटना : अमेरिकी संसदमा आक्रमण, मंगलमा यानदेखि बुहारीको बयानसम्म

काठमाडौं । ग्रेगरियन पात्रोअनुसार नयाँ वर्ष २०२२ शनिबारदेखि सुरुआत हुँदैछ । सन् २०२१ को अन्तिम दिन आज र बितेका ३६५ दिनहरुलाई सिंहावलोकन गर्दा विश्व मनोविज्ञान कोभिड-१९ महामारी र त्यसविरुद्ध विज्ञानले आविष्कार गरेको खोपको वितरण वरीपरी फन्को मारेको देखिन्छ ।

सन् २०२१ मा संसार महामारीको दोस्रो र तेस्रो लहरबाट प्रभावित मात्र भएन, पुरानै लयमा फर्कन प्रयत्नशिल रह्यो । कोभिडको कालो बादलमा खोपरुपी चाँदीको घेराले आशा त दिलायो तर, विश्व स्वास्थ्य संगठनले सन् २०२२ को सुरुआतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले सुनामी ल्याउन सक्ने चेतावनी दिएपछि चुनौति सकिएका छैनन् ।

तरपनि, मानिसको जीजिविषा जीवितै छ र आशाहरु जीवन्त छन् । कोभिडले लेखेको सन् २०२१ को विश्व पटकथामा भूराजनीति, जलवायु संकट र चुलिँदो आर्थिक असमानताले चुनौति मात्र थपेनन् मंगल ग्रहमा मानवीय जीवनको खोजी, खोपको विकास, चीनको उदय, लोकतन्त्रमा समावेशिताको पहलजस्ता इभेन्टले मानव जातिलाई आशावादी बन्न पनि सिकाए । एकछिन सन् २०२१ लाई फर्केर हेरौं र यसबाट आउने समयको लागि पाठ पनि सिकौं ।

अमेरिकी संसद क्यापिटल हिलमा आक्रमण

जनवरी ६ मा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु अमेरिकी संसद भवन क्यापिटल हिलभित्र प्रवेश गरेर तोडफोडमा मात्र उत्रिएनन्, प्रहरीसँगको झडपमा पाँचजनाको मृत्यु भयो भने दर्जनौं घाइते भए । अमेरिकी मिडियाले लोकतन्त्रको मन्दिरमाथि हमला भएको भन्दै ट्रम्पलाई आगामी राष्ट्रपति चुनावमा उठ्न नपाउने गरी महाभियोग लगाउनुपर्ने प्रस्ताव राखे तर त्यो अघि बढेन । शक्ति हस्तान्तरण गर्ने अमेरिकी लोकतन्त्रकै इतिहासमा यसलाई कालो दिनको रुपमा व्याख्या गरियो ।

अमेरिकी लोकतन्त्रभित्र अनुदार प्रवृत्तिको उदय भएको रुपमा यसलाई परिभाषित मात्र गरिएन्, घरभित्रै अमेरिका लोकतन्त्रलाई चुनौति सिर्जिएको रुपमा यसलाई बुझियो । किनभने चुनाबमा पराजित भएपनि ट्रम्पले चुनावी नतिजालाई स्वीकार्न मानेका थिएनन् बरु उनले समर्थकलाई नतिजाविरुद्ध उक्साइरहे । यी सबै घटनापछि अन्ततः जो बाइडेनले ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरे ।

म्यानमारमा सत्ताविप्लव : नेतृ सूकी हिरासतमा

फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै म्यानमारको जुन्ताले सत्ता नियन्त्रणमा लियो । सरकारको नेतृत्व गरेको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आङसाङ सूकी र अन्य लोकतन्त्रवादी नेताहरुलाई पक्राउ गर्दै सेनाले अहिले शासन चलाइरहेको छ ।

राष्ट्रसंघका अनुसार सेनाले कू गरेयता सेनासँगको लडाइमा १३ सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने सयौं घाइते छन् । नेतृ सूकीलाई दर्जनौं अभियोगमा सैनिक नियन्त्रणको अदालतले जेल सजाय सुनाएको छ र अहिले उनी हिरासतमा छिन् । अन्तर्राष्ट्रिय शक्तिहरुको तीव्र विरोध हुँदाहुँदै पनि सैनिक सरकारले आगामी वर्ष २०२२ आमनिर्वाचन गर्ने बताएको छ ।

फेब्रुअरीमै अमेरिका पुनः पेरिस सम्मेलनमा जोडियो । अमेरिकामा आएको शक्तिशाली आँधीले १३६ जनाको मृत्यु भयो भने हप्तौं टेक्सससहितका राज्य अन्धकारमा डुबे । यही महिनामै डब्लुएचओको टीमले कोरोनाभाइरसको उत्पत्ति चीनको प्रयोगशालाबाट नभएर प्राकृतिकरुपमै फैलिएको निष्कर्ष निकाल्यो । अमेरिकामा कोभिडबाट मृत्यु हुने संख्या ५ लाख नाघेको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष

सन् १९४९ देखि चीनको सत्ता आएको चिनियाँ कम्युनिष्ट पार्टीले जुलाइमा स्थापनाको सयवर्ष मनाएको छ । सो अवसरमा तियानमेन स्क्वायरमा आयोजित विशेष सम्बोधनमा राष्ट्रपति सी जिनपिङले चीनलाई आगामी शताब्दीको पहिलो विश्व शक्ति बनाउने उद्घोष गरे ।

सो अवसरमा चीनले नेपालसहितका मित्रराष्ट्रसंघ भर्चुअल संवादसमेत आयोजना गरेको थियो । यसैवर्षदेखि सी विचारधारालाई चीनको पाठ्यक्रममा समावेश गर्ने र उनलाई थप शक्तिशाली बनाउने घोषणा पनि भयो । केही महिनाअघि बसेको केन्द्रिय कमिटी बैठकले सीलाई आगामी कार्यकालको लागि पनि राष्ट्रपति बनाउने बाटो खुला गरेको छ ।

अफगान सत्तामा तालिबानको पुनरागमन

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान सरकारसँग सन् २०२० मा आफ्ना सेना फर्कने सहमतीसहितको घोषणा गरेका थिए । सन् २०२१ को मे १ भित्र सबै अमेरिकी र नेटो सेना फिर्ता हुने सहमती थियो । तर, राष्ट्रपतिमा बाइडेन आएपछि सेना फिर्ता हुने समयसीमालाई केही पछि धकेल्दै सेप्टेम्बरको पहिलो सातासम्म कायमै राखे । तर, अमेरिकी समयसीमा संकटमा यतिबेला पर्‍यो जतिबेला विद्रोही तालिबानले राजधानी काबुल वरपरका सबै रणनीतिक र आर्थिक सहरलाई जित्दै काबुलतर्फ अघि बढ्यो ।

बिजुली गतिमा असरफ घानी र उनको सेना तासको घरजस्तै ढलेन मात्र, स्वयम घानीले देश छाड्नुपर्‍यो । सेना फिर्ता हुने अन्तिम दिनसम्मै काबुलमा रहेका विदेशी नागरिक र देश छाड्न चाहने अफगानीलाई लैजान काबुल विमानस्थलमा उद्दार कार्य चल्यो । सो क्रममा विस्फोटका घटना मात्र भएनन्, सयभन्दा बढीले ज्यान गुमाए । नेपालले पनि मित्रराष्ट्रसँग मिलेर नेपालीलाई उद्दार गर्‍यो । तालिबानले सरकारलाई नियन्त्रणमा लिएपछि अमेरिकी सैनिक जहाज, हतियार र गाडीहरु तालिबानको नियन्त्रणमा पुगे । अगस्ट १५ मा तालिबानले काबुलको सत्तामा नियन्त्रणमा लियो ।

कोप-२६ : कोइलाको प्रयोगलाई घटाउँदै लैजाने सहमती

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) कोइलाको प्रयोगलाई घटाउने र पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभित्रै सीमित राख्न प्रयत्न गर्ने सहमती लगायतका घोषणापत्र जारी गर्दै सम्पन्न भयो । अन्तिम समयमा भारतको दबाबपछि कोइलाको प्रयोगलाई स्थगित नगरी चरणबद्धरुपमा घटाउँदै लैजाने सहमती कोप सम्मेलनमा भएको थियो ।

यो निर्णयले भारत, चीनजस्ता ठूला कार्बन उत्सर्जनलाई क्रमशः कोइलाको प्रयोग घटाउने र नवीकरणीय ऊर्जातर्फ लैजान मद्दत मिल्ने बताइएको छ । नेपालले पनि सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा लैजाने प्रतिबद्धता जनाएको छ । तर, जलवायु संकटबाट प्रभावित नेपालजस्ता विपन्न मुलुकलाई कोप-२६ बाट अपेक्षित लाभचाहिँ भएन । नेपालले हिमालको मुद्दा र जलवायु क्षतिपूर्तिको मुद्दालाई उठाएको थियो ।

जर्मनीमा मर्केल शासनको अन्त्य

चान्सलर पदमा पुनः नलड्ने एंगेला मर्केलको घोषणापछि जर्मनीमा मर्केल युगको अन्त्य भयो । जर्मनीको राजनीतिक इतिहासमा सत्तासिन चान्सलरले पहिलोपटक पुनः निर्वाचित हुने कुरालाई अस्वीकार गरेको यो पहिलो घटना हो । सेप्टेम्बरमा भएको जर्मनीको आमनिर्वाचनमा वर्षको सुरुआतमा आएको विनाशकारी बाढी, कर व्यवस्था र आप्रवासीको लर्कोजस्ता मुद्दाको दबदबा रह्यो । मध्यबामपन्थी दल (एसपीडी) उक्त चुनावमा ठूलो दलको रुपमा उदायो । संसदको ७३६ सिटमध्ये एसपीडीले २०६ सिट प्राप्त गरेको थियो ।

१५२ मतसहित क्रिस्चियन डेमोक्रेटिक युनियनले खराब प्रदर्शन गर्‍यो । नोभेम्बर २३ मा एसपीडी, एफडीपी र ग्रीन दलले संयुक्त सरकार बनाउने सहमती गरे । एसपीडीका नेता ओलाफ स्कोल्जले डिसेम्बर ८ मा जर्मनीको नयाँ चान्सलरको रुपमा नयाँ कार्यभार सम्हाले । उनी मर्केलको शासनमा अर्थमन्त्री समेत थिए । कार्बन उत्सर्जनलाई घटाउने, प्राविधिक पूर्वाधारलाई आधुनिकिकरण गर्ने, नागरिकता कानूनलाई पुनर्संरचना गर्ने, न्यूनतम ज्याला बढाउने, गाँजालाई वैधानिकता दिनेजस्ता चुनौति छन् ।

तीन यान मंगल ग्रहमा अवतरण, अन्तरीक्ष पर्यटनको ढोका पनि खुला

अमेरिकी अन्तरिक्ष नियोग नासा, चीन र युएईका तीन अन्तरीक्ष यानले गत फेब्रुअरी र केही साताको आसपासमा रातो ग्रहमा अवतरण गरे । सन् २०२० को जुलाइमा प्रक्षेपण गरेका तीनैवटा यान अहिले मंगलको सतह र कक्षमा छन् । नासाको पर्सिभिअरेन्स रोबोटले पानी र खनिजको अध्ययन र नमुना संकलन गर्दै हेलिकोप्टर समेत उडाएको थियो ।

चीनले झुरोङ नामक अर्बिटर, ल्यान्ड र रोबर पठाएर मंगल सतहमा पठायो । चीनले स्पेस भेहिकल पनि पठाएको छ र चीनले पानीको खोजी गर्नेछ । युएईको अर्बिटरको नाम चाहिँ एल अमल (आशा) हो । अरब मुलुकको तर्फबाट यो पहिलो मंगल मिस हो । यसले मंगलको जलवायु परिवर्तनको अध्ययन गर्नेछ । यसैबीच, नासाको पार्कर नामक यान पहिलोपटक सूर्यको वायुमण्डलभित्र प्रवेश गरेको छ । उच्च तातो र विकिरणबाट जोगिने गरी बनाइएको यो यानले सूर्यले कसरी काम गर्छ भनेर अध्ययन गर्नेछ । यसैबीच डिसेम्बरमा हब्बललाई विस्थापित गर्ने अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप लन्च गरिएको छ । नासा, युरोपेली अन्तरीक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले यसलाई निर्माण गरेका हुन् । यसले ब्रम्हाण्डको रहस्य पत्ता लगाउने विश्वास गरिएको छ ।

जुलाइमा भर्जिन ग्लाक्टिकका संस्थापक रिचर्ड ब्रान्सनले डेढघण्टा लामो समय अन्तरीक्षको किनारमा पुगे । उनीसँगै ब्लू ओरिजिनका अर्बपति जेफ बेजोस पनि अन्तरीक्ष पुग्ने पहिलो गैरव्यवसायिक अन्तरीक्षयात्री बने । सेप्टेम्बरमा इलोन मस्कको रकेट कम्पनी स्पेस–एक्सले सर्वसाधारण यात्रीलाई लिएर तीन दिने अन्तरीक्ष यात्रामा पठाएको थियो । यी तीन अर्बपतिले अन्तरीक्ष पर्यटनको ढोका समेत खोलिदिए ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि

नोभेम्बर २६ मा कोरोनाभाइरसकै अहिलेसम्म संक्रामक मानिएको भेरिएन्ट ओमिक्रोन दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको छ । अहिलेसम्म १२० भन्दा बढी मुलुकमा फैलिएको यो भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनको आपतकालिन बैठकले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ ।

सन् २०२० तिर पुष्टि भएको डेल्टाभन्दा बढी संक्रामक मानिएको ओमिक्रोनको कारण कतिपय मुलुकहरु पुनः लकडाउनमा गएका छन् भने कतिपय मुलुकले आवतजावतमा कडाइ गर्न थालेका छन् । विश्व सुन्दरी प्रतियोगिता, विश्व आर्थिक मंचको सम्मेलन लगायतका ठूला कार्यक्रम स्थगित भएका छन् । डिसेम्बर २८ सम्म विश्वभर ८.६ बिलियन मात्रा खोप लगाइएको छ ।

टोकियो ओलम्पिक विवादमा सुगाले दिए राजीनामा, बेइजिङ ओलम्पिकलाई कूटनीति बहिष्कार गर्ने अमेरिकाको घोषणा

जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको राजधानी टोकियोमा कोरोनाभाइरस महामारीको बीचमा गृष्मकालिन ओलम्पिक प्रतियोगिता सम्पन्न भयो । जुलाई २४, २०२० मा गर्ने भनिएको प्रतियोगिता भाइरस महामारीले पोस्टपोन्ड भएको थियो ।

घरेलु विवाद र विरोध प्रदर्शनबीच जापानले ओलम्पिक प्रतियोगिता त गर्‍यो तर, जापानमा कोरोना संक्रमण ह्वात्तै बढ्यो । मुलुकको अर्थतन्त्र तहसनहस हुनुमा ओलम्पिक जिम्मेवार रहेको भन्दै जापानी नागरिक सडकमा उत्रिए । महामारी नियन्त्रण गर्नुको सट्टा बढाउने काम गरेको भन्दै नागरिकले प्रधानमन्त्री सुगाको राजीनामा मागे । विवाद चर्र्कैदै गएपछि अन्ततः सुगाले राजीनामा दिनुपर्‍यो ।

गत डिसेम्बर ६ मा अमेरिकाले बेइजिङमा हुने विन्टर ओलम्पिक प्रतियोगितालाई कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ । क्यानडा, बेलायत र अष्ट्रेलियाले पनि कूटनीतिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । मानवअधिकार पालनामा चीन गम्भिर नभएको भन्दै उनीहरुले बहिष्कारको घोषणा गरेका हुन् । तर, चीनले चाहिँ बहिष्कारको उक्त घोषणा राजनीति प्रेरित रहेको बताएको छ ।

ह्यारी र मेगनको विस्फोटक अन्तवार्ताले बेलायती राजसंस्था विवादमा

अमेरिकी टेलिभिजनकर्मी ओफ्रा विन्फ्रेसँग बेलायती राजपरिवारका दुई सदस्य प्रिन्स ह्यारी र बुहारी मेगन मर्केलको अन्तर्वार्ता सन् २०२१ कै चर्चित अन्तवार्ता बन्यो । अमेरिकाको सीबीएस टीभीमा दुई घण्टा लामो अन्तवार्तामा मेगन र उनका पतिले जातिवाद, मानसिक स्वास्थ्य, संचारमाध्यमसँगको सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विषयमा बोलेका थिए ।

विवाद चर्कदैँ जान थालेपछि बघिङ्घम प्यालेसले विज्ञप्ति जारी गर्दै ह्यारी र मर्केलले उठाएका जातिय प्रश्नहरु गम्भीर रहेको र त्यसलाई पारिवारिकरुपमै समाधान गर्ने बताएको थियो । अन्तर्राष्ट्रिय संचारमाध्यमले उक्त अन्तवार्ताको कारण बेलायती राजपरिवार अहिलेसम्मकै संकटमा परेको जनाएका थिए । उक्त अन्तवार्तालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले साहसी र महत्वपूर्ण भएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर