मेलमिलापकै लागि त्याग गरेँ, १५ औं महाधिवेशनमा सभापतिमा उठ्छु : शशांक – Nepal Press

मेलमिलापकै लागि त्याग गरेँ, १५ औं महाधिवेशनमा सभापतिमा उठ्छु : शशांक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मेलमिलापकै नीतिअनुसार आफू १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग भएको बताएका छन् ।

मेलमिलाप दिवसको सन्दर्भमा नेपाल प्रेससँग कुराकानी गर्दै वीपीपुत्र शशांकले सभापतिमा आफ्नो स्वाभाविक दाबी भए पनि मेलमिलापको सन्देश दिन पछि हटेको बताए । ‘कांग्रेसको निर्वाचित महामन्त्री भइसकेका कारण सभापतिमा मेरो दावी स्वभाविक थियो । देशभरीका नेता कार्यकर्ताको सद्‍भाव पनि थियो । यद्यपि साझा उम्मेदवार बनाउन सहज होस् भनेर नै म सभापतिको रेसबाट अलग भएको थिएँ । मैले मेरोतर्फबाट मेलमिलापको सन्देश दिएको हुँ’, कोइरालाले भने ।

महाधिवेशनबाट प्राप्त परिणामलाई स्वीकार गर्नै कांग्रेसलाई बलियो र भरोसायोग्य बनाउनुपर्नेमा शशांकले जोड दिए । ‘महाधिवेशनमा भएको प्रतिस्पर्धा बिर्सेर अब एकताबद्धरूपमा अगाडि बढ्नुपर्छ । तीनै तहको निर्वाचनमा कांग्रेस जिताउनका लागि सबै मिलेर काम गर्नुपर्छ’, कोइरालाले भने ।

उनले कांग्रेसबाहेक अर्को राजनीतिक दलले नेपाली जनताको भावना अनुसार मुलुक सञ्चालन गर्न नसक्ने बताए । वीपीको मेलमिलापको नीति अझै सान्दर्भिक रहेको भन्दै शशाकंले कांग्रेसभित्र मेलमिलाप भए लोकतन्त्र अझ बलियो हुने उल्लेख गरे । ‘सन्दर्भ फेरिएको होला तर मेलमिलापको अपरिहार्यता बढेको छ । मुलुकलाई मात्रै होइन कांग्रेसलाई नै मेलमिलाप चाहिएको छ’, उनले भने ।

कांग्रेसको १४ औं महाधिवेशनमा पूर्वमहामन्त्री कोइरालाले खुल्लातर्फको कांग्रेस केन्द्रीय सदस्यमा सर्वाधिक मत पाएका थिए । उनले पार्टीभित्र भूमिका बदलिए पनि आफ्नो क्रियाशीलता कम नहुने बताए ।

‘१४ औं महाधिवेशनमा एकता र मेलमिलापकै लागि मैले त्याग गरेको हुँ । समकालीन नेताहरू सबैले नेतृत्वका लागि प्रतिस्पर्धा गरिसक्नुभयो । १५ औं महाधिवेशनमा सभापतिमा म उठ्दैछु । त्यहीअनुसार मेरो सक्रियता बढाउँछु’, शशांकले आफ्नो योजना सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर