गृहमन्त्री खाणले भने- सबै तहका चुनाव तोकिएकै मितिमा हुन्छन् – Nepal Press

गृहमन्त्री खाणले भने- सबै तहका चुनाव तोकिएकै मितिमा हुन्छन्

पोखरा । गृहमन्त्री बालकृष्ण खाणले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनको मितिभित्र शान्तिपूर्ण ढंगले सक्ने बताए ।

‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ,’ उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन् ।’ मन्त्री खाणले समय भने तोकेनन् ।

निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । अघिल्लो पटकको पहिलो स्थानीय निर्वाचन ३१ वैशाख २०७४ मा गते भएको थियो । खाणले त्यही मितिलाई लक्षित गर्दै समयभित्रै निर्वाचन गर्ने बताएका हुन् ।

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । नेपाल सरकारले नै प्रस्ताव परेको परियोजना भएकाले यसलाई पास गरेर जानुको विकल्प नभएको उनले बताए ।

‘एमसीसी कुनै सैन्य परियोजना हुँदै होइन । नेपालको भौतिक विकासका लागि नै हो । जलविद्युतको ट्रान्समिसन र सडक विस्तारका लागि नै यो परियोजना आएको हो,’ उनले थपे, ‘यसको रकम हामीले तिर्नुपर्ने छैन, अनुदान हो । नेपालीले यसको सदुपयोग गर्नुपर्दछ । त्यसैले यो अघि बढ्नुपर्छ ।’

एमसीसी पास गर्न सबै पार्टीको सहमति पाउने उनको विश्वास छ । ‘संविधानसभाको निर्वाचन हुँदैन भनेका थिए, दुईपटक निर्वाचन भयो । संविधानसभाबाट संविधान बन्दैन भन्ने थियो, बन्यो । हाम्रै पार्टीको महाधिवेशन हुँदैन भन्थे, भयो,’ खाण भन्छन्, ‘एमसीसी पनि सहमतिकै आधारमा पास हुन्छ, त्यो सरकारलाई विश्वास छ ।’ फरक प्रसंगमा गृहमन्त्री खाणले पोखरा र लेकसाइड क्षेत्र २४सैं घन्टा खुला गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर