पर्यटन बोर्डमा अख्तियार पस्यो, आर्थिक कारोबारका कागजात माग – Nepal Press

पर्यटन बोर्डमा अख्तियार पस्यो, आर्थिक कारोबारका कागजात माग

काठमाडौं । पछिल्लो सयम विवादसँगै आर्थिक पारदर्शितामा प्रश्न उठेपछि नेपाल पर्यटन बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नजर परेको छ ।

निलम्बनमा परेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले अनियमितता गरेको उजुरीपछि अख्तियारले केही योजनासँग सम्बन्धित कागजात तत्काल पठाउन भनेको स्रोतले बतायो ।

सीईओ रेग्मीले आफ्नो कार्यकक्ष निर्माणमा सार्वजनिक खरिद ऐनविपरीत जथाभावी खरिद गरी भुक्तानी दिएको, त्रिभुवन विश्वविद्यालयसँग पर्यटन क्षेत्रको हितभन्दा पनि व्यक्तिगत लाभ पुग्ने गरी प्रक्रिया पूरा नगरी ५ करोडको परियोजना संचालन गरेको, बोर्डको उद्देश्यभन्दा फरक प्रयोजनमा होटलमा भएको खर्चको भुक्तानी गरेकोजस्ता काममा अनियमितता भएको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

यो पनि पढ्नुहोस् : के गर्दैछ पर्यटन बोर्डको छानबिन समिति ? कस्ता छन् रेग्मीमाथिका आरोप ?

विवादमा तानिए पछि निलम्बित रेग्मीमाथि छानबिन गर्न पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा समिति बनाइएको छ । पुस २ को बोर्ड बैठकले सो समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय सीमा तोकिएको छ । पर्यटन बोर्डलाई व्यक्तिगत फाइदामा मात्र बढी प्रयोग गरेको र आफन्तसँग मिलेर मनखुसी करोडौं रकम व्यक्तिगत लाभ हुने गरी खर्च गरेको जस्ता आरोप रेग्मीमाथि छ ।

२०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त भएका रेग्मी दुई वर्ष कार्यकाल बाँकी छँदै बेलायतबाट फर्कँदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारीमाथि हातपात गरेको भिडिओ सार्वजनिक भएपछि झन् विवादमा तानिएका थिए ।

पर्यटन क्षेत्रलाई कम बुझेको र नीजि क्षेत्रसँग कुनै सहकार्य नगरी काम गरेको भन्दै पर्यटन प्रवर्द्धनमा रेग्मीबाट केही आशा गर्न नसकिने पर्यटन व्यवसायीहरूले टिप्पणी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *