प्रचण्डको प्रतिवेदनमा दलहरुलाई हेर्ने दृष्टिकोण नआएकोमा असन्तुष्टि, एमसीसी खारेज गर्नुपर्ने मत (भिडिओ रिपोर्ट) – Nepal Press

प्रचण्डको प्रतिवेदनमा दलहरुलाई हेर्ने दृष्टिकोण नआएकोमा असन्तुष्टि, एमसीसी खारेज गर्नुपर्ने मत (भिडिओ रिपोर्ट)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको जारी बन्दसत्रको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि सामूहिक छलफल भएको छ।

प्रचण्डले पेस गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामा मंगलबार २५ वटा समूहमा छलफल भएका हुन् ।

छलफलका क्रममा दलहरुलाई हेर्ने प्रष्ट दृष्टिकोण नआएको कुरा प्रतिनिधिहरुले राखेको उपत्यका विशेष प्रदेश समितिका सचिव सुरेन्द्र बस्नेतले बताए ।

‘एउटा राजनीतिक पार्टीको दस्तावेजमा मुलुकमा विभिन्न दलहरु क्रियाशिल छन्, ती पार्टीबारे अलग्गै शीर्षक राखेर पार्टीहरुलाई हेर्ने दृष्टिकोण आएन भन्ने कोणबाट सुझावहरु आएका छन्,’ बस्नेतले नेपाल प्रेससँग भने ।

समूहगत छलफल भइरहेका विभिन्न स्थानमा पुगेर कुरागर्दा अन्य धेरै प्रतिनिधहिरुले पनि प्रतिवेदनमा त्यो विषय स्पष्ट रुपमा राखिनुपथ्र्यो भन्ने सुझाव दिएका छन् । धेरै समूहमा यहाँ उल्लेख गरिएकै सुझावहरु प्राप्त भएका छन् जुन यो भिडिओ रिपोर्टमा सुन्न सकिन्छ ।

प्रचण्डको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचन भए पनि दलहरुलाई हेर्ने दृष्टिकोण प्रष्ट छैन् । यसअघि प्रचण्डकै प्रतिवेदनमा पनि दलहरुलाई हेर्ने दृष्टिकोण आएको हुन्थ्यो ।

अर्को सुझाव एमसीसी खारेज गर्नुपर्छ भन्ने छ । ‘यदि साँच्चिकै राष्ट्रघाती प्रावधान सचिन्छन भने एउटा कुरा, होइन भने यथावत अवस्थामा एमसीसी कुनै हालतमा पारित गर्नुहुँदैन भन्ने छ,’ बस्नेतले भने, ‘एमसीसी खारेज गरिनुपर्छ भन्ने खालका विचार पनि त्यहाँ आए ।’

कतिपय प्रतिनिधिले प्रचण्डपथ ल्याउनुपर्छ भन्ने खालका सुझाव पनि दिएका छन् । त्यस्तै समाजवादको प्राप्ती लागि गरिने संघर्षमा मित्र शक्ति को–को हुनसक्छन् भन्ने किटान पनि प्रष्ट रुपमा गरिनुपर्ने सुझाव आएको बस्नेतले बताए ।

‘समाजवाद प्राप्तीको दौरहानमा मित्र शक्ति बन्न सक्ने जति पनि शक्तिहरु पनि छन्,’ उनले भने, ‘उहाँहरुसँग एकताको नयाँ मोर्चा खोल्ने सन्दर्भमा पनि अलिकति थप स्पष्टताका साथ आउनुपर्छ भन्ने सुझाव पनि आयो ।’

१५ वर्ष यताकै राम्रो प्रतिवेदन : पौडेल

समूहगत छलफल भइरहेको स्थानमै भेटिएका स्थायी समिति सदस्य एवम शिक्षा मन्त्री देवेन्द्र पौडेलले भने प्रतिवेदन १५ वर्षयताकै राम्रो भएको बताए।

‘१५ वर्षमा माओवादीले प्रस्तुत गरेका प्रतिवदेनमध्य तुलनात्मक रुपमा छलफल, बहसका निम्ति अहिले आवश्यक भएका राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिलाई उठान गरेर नेपाली राजनीतिलाई बहसको उठानको नयाँ अध्यायका रुपमा मैले यो प्रतिवेदनलाई लिएको छु,’ पौडेलले नेपाल प्रेससँग भने ।

यद्यपि प्रतिवेदनप्रति आफ्ना केही सुझाव पनि रहेको भन्दै उनले आफूले लिखित रुपमा दिने बताए। ‘सुझाव मैले लेखेर दिने कुरा छ, मैले लेखेर दिन्छु,’ पौडेलले भने, ‘तर, पनि सारभुत रुपमा संसारभरी नै समाजवादको संभावना छैन भनेर वैचारिक बहस चलाइराखेको बेलामा अबको नेपालमा र विश्वको ट्रेन्ड भनेको विकास, समृद्धि सहितको श्रमिक वर्गको स्वामित्व हुने प्रकृतिको समाजवाद हो र त्यो यस–यस कारणले सम्भव छ भनेको हुनाले यो प्रतिवेदनले ठिकै कुरा उठाएको मैले महसुस गरेको छु ।’

हेर्नुहोस भिडिओ रिपोर्ट:

भिडिओ : उमेश कार्की


प्रतिक्रिया

One thought on “प्रचण्डको प्रतिवेदनमा दलहरुलाई हेर्ने दृष्टिकोण नआएकोमा असन्तुष्टि, एमसीसी खारेज गर्नुपर्ने मत (भिडिओ रिपोर्ट)

  1. प्रचण्डले मन्त्री के बनाईदिएका थिए पाैडेल पूरै खुट्टैमा ढाेग्न पुगेर प्रतिवेदन १५ वर्ष यताकै राम्राे भन्दै छन् । मन्त्री नपाएकाे भए प्रचण्डकाे प्रतिवेदन अहिलेसम्मकै खराब हुन्थ्याे । यस्ता पदलाेलुपकाे विश्लेषणकाे के कुरा गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर