प्रचण्डको समाजवाद चिन्तनः के छ ४५ पेजको प्रतिवेदनमा ? – Nepal Press

प्रचण्डको समाजवाद चिन्तनः के छ ४५ पेजको प्रतिवेदनमा ?

माओवादीको मूल कार्यनीति- समाजवादउन्मुख समृद्धि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो राजनीतिक प्रतिवेदन पेस गरे । प्रचण्डले धेरै दिन लगाएर निकै मिहिनेतसाथ लेखेको प्रतिवेदनले राजनीतिक वृत्तमा पर्याप्त ध्यानाकर्षण गरेको छ ।

४५ पेज लामो प्रतिवेदनको अन्तरवस्तु परम्परागत कम्युनिष्ट जार्गनहरूले भरिभराउ छ । प्रचण्डले देशका समसामयिक विषयवस्तुभन्दा पनि सैद्धान्तिक बहस छेड्ने प्रयास गरेका छन् । निर्मम आत्मसमीक्षासहित आफ्ना कमजोरीहरू आफैंले पहिल्याउने प्रयास गर्नु प्रतिवेदनको सकारात्मक पाटो मानिएको छ । यस आलेखमा चाहीँ प्रचण्डले प्रतिवेदनमा सबैभन्दा बढी महत्व दिएको ‘समाजवाद’ सम्वन्धी दृष्टिकोणबारे चर्चा गरिएको छ ।

नेपालको संविधानले समेत समाजवादलाई आत्मसात गरेकाले प्रायः सबै दलले अबको रणनीति र कार्यनीतिका रूपमा समाजवादलाई अंगालेका छन् । प्रचण्ड भने आफ्नो प्रतिवेदनमा समाजवादमा अरुभन्दा बढी नै घोत्लिएको देखिन्छ । आफ्नो प्रतिवेदनको शीर्षक नै उनले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ राखेका छन् । राजनीतिक दलले पेस गरेका प्रतिवेदनहरुमध्ये समाजवादबारे धेरै व्याख्या र चर्चा गरिएको प्रतिवेदन प्रचण्डकै हो भन्दा फरक नपर्ला ।

प्रचण्डले देखेको र चाहेको समाजवाद

प्रचण्डले आफ्नो प्रतिवेदनको सुरूआतमा विज्ञान प्रविधिबारे चर्चा गर्दै समाजवादको आवश्यकता औंल्याएका छन् । त्यस क्रममा उनले संसारका १० ‘धनकुबेर’ हरूको सूची प्रस्तुत गर्दै ८५ प्रतिशत सम्पत्ति उनीहरूको कब्जामा रहेको र सैन्य लगानीमा पनि होडबाजी चलेको दाबी गरेका छन् । हालको विश्वव्यापी पूँजीवादी अर्थतन्त्रको चरित्रको व्याख्या गदै प्रचण्डले समाजवादको औचित्यको पुष्ट्याइँ गर्न खोजेका छन् ।

नेपाली पूँजीवादी क्रान्ति मौलिक ढंगले भएको भन्दै प्रचण्डले नेपाली समाजवादी क्रान्तिको रणनीति पनि मौलिक हुनुपर्ने उल्लेख गरेका छन् । माओवादी सशस्त्र विद्रोह, दोस्रो जनआन्दोलन र त्यसपछि भएको संविधान निर्माणलाई उनले त्यसरूपमा व्याख्या गर्न खोजेका हुन् । हुन त, प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई पनि मौलिक भन्ने गरेका छन् ।

‘यो क्रान्ति पूँजीपति वर्गले सामन्तवादका विरुद्ध औद्योगिक पूँजीवादको विकासका लागि गरेको पुरानो प्रकारको पुँजीवादी-जनवादी क्रान्ति होइन,’ दस्तावेजमा प्रचण्डको मूल्यांकन छ, ‘साथै, यो क्रान्ति कम्युनिष्ट पार्टीको एकल नेतृत्वमा सबै खाले सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिहरूको मोर्चा बनाइ सम्पन्न गरिएको नयाँ जनवादी क्रान्ति पनि होइन । अपितु, यो क्रान्ति कम्युनिष्ट पार्टीको मुख्य पहल र नेतृत्वमा पूँजीपति वर्गलाई समेत नेतृत्वको हिस्सा दिएर र उसँग आवश्यक सहकार्य गरेर सामन्तवादको विरुद्ध सम्पन्न गरिएको क्रान्ति हो ।’

जनआन्दोलनमा कांग्रेसलगायतका ७ राजनीतिक दलसँग गरेको सहकार्यलाई प्रचण्डले पूँजीपति वर्गलाई समेत नेतृत्वको हिस्सा दिएको रूपमा अर्थ्याएका छन् । यद्यपि यसका केही अपूर्णता पनि रहेको प्रचण्डको विश्लेषण छ । अबको समाजवादतर्फको प्रस्थानका बेला ती बाँकी काम पूरा गर्नुपर्ने उनले बताएका छन् ।

तस्बिर : रासस ।

‘पहिलो कुरा यो क्रान्तिले सामन्तवादलाई समूल नष्ट गर्न सकेको छैन, दोस्रो यो क्रान्तिले दलाल-नोकरशाही पुँजीवाद र वैदेशिक हस्तक्षेपलाई रोक्न सकेको छैन,’ प्रचण्डको विश्लेषण छ, ‘त्यसकारण हाम्रा अगाडि समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत समाजवाद उन्मुख स्वतन्त्र एवं राष्ट्रिय अर्थतन्त्रको नीति सहित राष्ट्रिय पूँजी र समृद्धिको विकास गर्ने मूल कार्यनीतिसँग सामन्तवादका अवशेषको अन्त्य र दलाल नोकरशाही पूँजीवाद र वैदेशिक हस्तक्षेपका विरुद्धको संघर्षलाई जोड्न आवश्यक हुन गएको छ । यसलाई हामीले अर्को भाषामा समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने नीतिका रूपमा पनि बुझ्न सकिन्छ ।’

संविधानलाई तुलनात्मकरूपमा प्रगतिशील भनेका प्रचण्डले त्यसमा रहेका कमिकमजोरी पनि औंल्याएका छन् । त्यसमा सुधारका लागि सडक, सदन र सरकारका सबै मोर्चा एकसाथ प्रयोगमा जोड दिएका छन् । संविधानका कमी-कमजोरी औंल्याउँदै प्रचण्डले भनेका छन्, ‘यसले निर्वाचन प्रणाली, शासकीय स्वरूप, उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको पहिचान र अधिकार सहित संघीयतालाई जन-अपेक्षा र इतिहासको आवश्यकता अनुसार संस्थागत गर्न भने सकेको छैन । त्यसकारण हाम्रो पार्टीले यी मूलभूत विषयमा संविधान संशोधनको आवश्यकता देखाउँदै संविधान सभामा आफ्नो भिन्न मत दर्ता गरेको छ । समाजवादउन्मुख मूल कार्यनीतिको अंगका रूपमा अब हामीले ती मुद्धा पुरा गर्न सडक, सदन र सरकारका सबै मोर्चाबाट जोड लगाउनु पर्दछ ।’

यी काम पूरा गरेपछि समाजवादी क्रान्तिको नेपाली बाटो तय हुने बताएका प्रचण्डले माओवादीको अबको मूल कार्यनीति ‘समाजवाद उन्मुख समृद्धि’ तय गरेका छन् । तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम लागू गर्न सम्भव नदेखेका प्रचण्डले पार्टीको ध्यान शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटो बाटै समाजवादको आधार तयार पार्ने कुरामा केन्द्रित हुने उल्लेख गरेका छन् ।

‘नेपाली जनताको विकासको आजको विशिष्ट पूँजीवादी चरणमा पार्टीको रणनीतिले वैज्ञानिक समाजवादको स्थापना गर्नु हो,’ प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘तर राष्ट्रिय पूँजीको विकासको कमजोर स्थिति, अर्थतन्त्रमा दलाल नोकरशाही पूँजीवादको बलियो पकड तथा सामन्ती अवशेष र वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्षको आवश्यकताका कारण तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम लागू गर्न सम्भव छैन ।’

नेपालको संविधानले समेत समाजवादलाई आत्मसात गरेकाले प्रायः सबै दलले अबको रणनीति र कार्यनीतिका रूपमा समाजवादलाई अंगालेका छन् । प्रचण्ड भने आफ्नो प्रतिवेदनमा समाजवादमा अरुभन्दा बढी नै घोत्लिएको देखिन्छ । आफ्नो प्रतिवेदनको शीर्षक नै उनले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ राखेका छन् ।

उनले थपेका छन्, ‘तात्कालीन दृष्टिले पार्टीको ध्यान शान्तिपूर्ण प्रतिश्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार पार्ने कुरामा केन्द्रित हुनेछ । त्यसकारण आज पार्टीको मूल कार्यनीति ‘समाजवाद उन्मुख समृद्धि’ भनिएको हो । ‘समाजवादउन्मुख समृद्धि’ भन्नाले स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको नीति, सामाजिक न्यायसहित राष्ट्रिय पूँजीको विकास प्रक्रियालाई बुझ्नु पर्दछ ।’

‘समाजवाद उन्मुख सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने’ गर्ने तत्कालका कार्यक्रम के कस्ता हुन्छन् भन्ने व्याख्या पनि प्रचण्डले आफ्नो प्रतिवेदनमा गरेका छन् ।

प्रचण्डले समाजवादमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा कस्तो हुन्छ भन्ने पनि प्रष्ट पारेका छन् ।

‘सभ्य र समृद्ध समाज निर्माणको मूल आधार शिक्षा हो,’ उनले भनेका छन्, ‘शिक्षामा सुधारका निमित्त सबैभन्दा पहिलो करा वैज्ञानिक राष्ट्रिय शिक्षा नीतिको विकास गर्नु हो । शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको प्रक्रियालाई नियमन गर्दै र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने र प्रोत्साहित गर्ने नीति लिँदै अन्ततः शिक्षालाई सम्पूर्णरुपले राज्यको दायित्व भित्र पुयाउनु पर्दछ । तत्काल पुरानो पाठ्यक्रमको स्थानमा संविधानले निर्देशित गरे अनुसार समाजवाद उन्मुख वैज्ञानिक पाठ्यक्रम विकासमा जोड गर्नु पर्दछ ।’

त्यसैगरि पर्यावरण विनाश, पृथ्वीको तापक्रममा वृद्धि जलवायु र परिवर्तनले स्वास्थ्य तथा सामाजिक सुरक्षामा पारेका असरबारे पनि प्रचण्डले आफ्नो प्रतिवेदनमा व्याख्या गरेका छन् ।

‘पुँजीवादी उत्पादन प्रणालीले सृजना गरेको खानपिन र आहारविहारको संस्कृति समेतले मानिसहरुको स्वास्थ्यमा घातक असर परिरहेको छ,’ प्रचण्डको दृष्टिकोण छ, ‘जसको परिणाम आज नयाँ-नयाँ रोगको विकास भइरहेको छ । उच्च रक्तचाप, डायबिटिज, क्यान्सर, मुटुरोग, किड्नी फेल हुने जस्ता रोगहरु गुणात्मक र भयावह रुपले विकास भइरहेका छन् । नयाँ नयाँ रुपमा भाइरस आक्रमण हुने प्रक्रिया र अहिलेको कोरोना महामारीसम्म हेर्दासम्म मानव जाति माथि नै हमला भइरहेको देखिन्छ । स्वास्थ्य क्षेत्रमा देखा परिरहेका समस्याहरुको सामना गर्न वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नु पर्दछ ।’

सांस्कृतिक रूपान्तरण र कार्यकर्तालाई उत्पादनमा जोड्ने

प्रचण्डले समाजवादमा जान पहिले माओवादी त्यही संस्कृति अनुसारको हुनुपर्नेमा जोड दिएका छन् । अहिले पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आसक्ति बढ्दो रहेको उनको स्वीकारोक्ति छ ।

‘सामाजिक, आर्थिक तथा सांस्कृतिक चरित्रमा माओवादी र अन्य पार्टीहरूमा खासै भिन्नता देखिन छाडेको पनि दाहालले दस्ताबेजमा लेखेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘जनताले आज हाम्रो पार्टी र अन्य पार्टीहरूमा खासै भिन्नता देखिरहेका छैनन् । कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो छ । यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन । अतः सांस्कृतिक रूपान्तरणलाई गम्भीरतासहित साझा निष्कर्ष बनाएर व्यवहारमा उतार्न योजनाबद्ध पहल गर्नुपर्दछ ।’

त्यस्तै समाजवाद प्राप्त गर्न उनले कार्यकर्तालाई उत्पादनमा जोड्ने प्रस्ताव पनि गरेका छन् ।

‘समुदायको विकास निर्माणको आवश्यकता र उत्पादन वृद्धिका कामलाई विशेष ध्यान दिने हो,’ उनको प्रस्ताव छ, ‘यो प्रक्रियालाई पार्टी र जनसमुदायको सांस्कृतिक रूपान्तरण एवं चेतना अभिवृद्धिका कार्यक्रमहरूसँग जोडेर लैजानुपर्छ।’

प्रचण्डले संसारका १० ‘धनकुबेर’ हरूको सूची प्रस्तुत गर्दै ८५ प्रतिशत सम्पत्ति उनीहरूको कब्जामा रहेको र सैन्य लगानीमा पनि होडबाजी चलेको दाबी गरेका छन् । हालको विश्वव्यापी पूँजीवादी अर्थतन्त्रको चरित्रको व्याख्या गदै प्रचण्डले समाजवादको औचित्यको पुष्ट्याइँ गर्न खोजेका छन् ।

प्रचण्डले हरेक पालिकामा कम्तीमा ५० जना सहभागी गराइ अनिवार्य एक कृषि, उद्यम/उद्योग ६ महिनाभित्र स्थापना गर्ने प्रस्ताव गरेका छन् । यस्तो उद्यम स्थानीय स्रोत, बजार, प्रविधि, दक्ष जनशक्तिलाई ख्याल गरेर स्थानीय तहमा नै तय गर्ने, खाद्यान्न, पशुपालन, फलफूल, तरकारी नगदे बाली, घरेलु तथा साना उद्योग वा अन्य सिर्जनात्मक काम हुन सक्ने, जमिन चक्लाबन्दी गरी किसानको स्वामित्व कायम रहने र उनीहरूसमेत सेयरधनी हुने गरी कम्पनी वा सहकारी वा साझेदारीमा त्यस्ता व्यवसाय सञ्चालन हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

उनले प्रदेशले जिल्लास्तरबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग अन्तरजिल्ला समन्वय र बजारीकरणको काम गर्ने, प्रदेशले कम्तीमा १०० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी एक कृषि प्रशोधन तथा बजार केन्द्र चिस्यान केन्द्रसम्बन्धी उद्योग स्थापना गर्ने, केन्द्रमा केन्द्रीयस्तरको प्रशोधन चिस्यान केन्द्र व्यवस्था गर्ने, त्यसका लागि शक्तिशाली उद्यम/व्यवसाय परिचालन विभाग अध्यक्षको मातहत राख्ने र हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन ती स्थापित कृषि उद्यममा श्रम गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् ।

यद्यपि यो प्रचण्डको नयाँ कुरा भने होइन । हेटौंडामा भएको ७ औं महाविधेशनमा पनि प्रचण्डले यस्तै प्रस्ताव ल्याएका थिए । पोखरा लगायतका ठाउँबाट यस्तो अभ्यास गर्न खोजिएको थियो र त्यो बीचमै अलपत्र परेको थियो ।

प्रचण्डको आफैँसँग प्रश्नोत्तर

प्रचण्डले समाजवाद प्राप्तिसँग सम्बन्धित केही सैद्दान्तिक प्रश्न उठाउँदै जवाफ दिने प्रयत्न पनि गरेका छन् । उनको पहिलो प्रश्न ‘शान्तिपूर्ण प्रतिष्पर्धाको चुनावी बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ ?’ भन्ने छ । यसको जवाफमा प्रचण्डले त्यो सम्भव छ भनेका छन् ।

नेपाली पुँजीवादी जनवादी क्रान्ति नेपाली मौलिकतामा भएको हिसाबले पनि त्यो सम्भव हुन्छ भन्ने उनको तर्क छ ।

‘कम्युनिष्ट आन्दोलनको २० औं शताब्दीमा स्थापित मान्यता अनुसार यो सम्भव छैन,’ आफ्नो प्रतिवेदनमा उनले भनेका छन्, ‘तर हामीले विगतका प्रतिक्रान्तिका अनुभव, २१ औं शताब्दीका विशेषता र मुख्यतः नेपालको पँजीवादी जनवादी क्रान्तिमा कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताले खेलेको भूमिका समेतलाई विचार गरेर त्यो सम्भव छ भनेका छौं ।’

उनले थपेका छन्, ‘नेपालमा आएको परिवर्तनको मौलिक विशेषताका कारण समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र कुनै परम्परागत संसदीय प्रणाली होइन अपितु कम्युनिष्ट पार्टीको मुख्य नेतृत्वमा स्थापित भएको समाजवाद उन्मख राजनैतिक प्रणाली हो । यहि मूल विशेषताका कारण आजको नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ भनिएको हो ।’ यद्यपि माओवादीकै केही नेताले संसदीय बाटो अपनाएर समाजवाद नआउने तर्क पनि गर्छन् ।

तस्बिर : रासस ।

प्रचण्डको अर्को प्रश्न छ- के खुल्ला शान्तिपूर्ण र प्रतिष्पर्धाको राजनैतिक प्रक्रियाबाट निजी सम्पत्ति उन्मुलन गर्ने तथा सामूहिक जीवन पद्दति अँगाल्ने दिशातिर अग्रसर हुने उच्च सांस्कृतिक आचरण सहितका नेता, कार्यकर्ताहरुको कम्युनिष्ट पार्टी विकास गर्न सम्भव छ ? यसको जवाफमा प्रचण्डले भनेका छन्, ‘यो निकै गम्भीर पश्न हो । आज पार्टीमा व्यक्तिगत पद, प्रतिष्ठा, लाभ र स्वार्थका निमित्त जस्तोसुकै अचित कार्य गर्न पछि नपर्ने प्रवृत्ति हावी हुँदै गएको छ । यो स्थितिमा पार्टीको क्रान्तिकारी रुपान्तरणको प्रश्न सर्वाधिक महत्वको जटील प्रश्न हो । यसको सही जवाफ र रुपान्तरणको ठोस योजना र कार्यक्रम बिना अगाडि जान सम्भव छैन ।’

अनि उनले आफैँलाई सोधेको तेस्रो प्रश्न चाहिँ ‘विज्ञान प्रविधिमा भएको विकासको ज्ञान र प्रयोग बिना समाजवादको आधार निर्माण सम्भव छ ?’ भन्ने हो । यसको जवाफमा प्रचण्डले प्रविधिका प्रयोग विना समाजवादमा पुग्न असम्भव भएको उल्लेख गरेका छन् ।

‘सम्भव छैन,’ उनको तर्क छ, ‘विज्ञान-प्रविधिमा भएको विकासलाई आत्मसात गरेर नै सामाजिक क्रान्तिको विज्ञानका रुपमा माक्र्सवाद अगाडि आएको हो उत्पादक शक्तिको विकास र त्यो प्रक्रियामा मानिसहरुका बीचको आपसी सम्बन्धको विकासमा विज्ञान प्रविधिको असाधारण योगदान रहँदै आएको छ । आजका माक्र्सवादीहरुले सूचना प्रविधिमा कान्तिदेखि डिजिटल युगको प्रारम्भसम्म विज्ञानका विभिन्न क्षेत्रमा भएका आविष्कारहरुलाई आत्मसात नगरिकन २१ औं शताब्दीमा समाजवाद निर्माणको कल्पना पनि गर्न सकिदैन । तर, यहाँ कुन कुरामा स्पष्ट हुन जरुरी छ भने विज्ञान-प्रविधि होइन मानव र श्रम नै प्रमुख उत्पादक शक्ति हो ।’

आधुनिक रोबोटहरूले मान्छेलाई विस्थापित गर्छन् कि भन्ने चिन्तामा प्रचण्डको जवाफ छ- ‘आधुनिक रोबोटहरूले गर्न थालेको भौतिक र मानसिक काम समेतलाई देखाएर अब मानिसको भूमिका विस्थापित हुने चर्चा पनि गर्न थालिएको छ । यो सत्य होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर