निर्मला र नकुन्नीको हत्याराले राज्यको आड पाएको बाबुरामको आशंका (भिडिओ) – Nepal Press

निर्मला र नकुन्नीको हत्याराले राज्यको आड पाएको बाबुरामको आशंका (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नकुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको टिप्पणी गरेका छन् ।

यी दुईजनाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ देखि माइतीघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकालाई भेट्दै भट्टराईले घटना शंकास्पद भएको दाबी गरे ।

अपराधीहरूको विरुद्धमा जनमत सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘सरकार जसले शान्ति सुरक्षा कायम गर्ने, न्याय दिलाउने जिम्मेवारी राज्यको हो । त्यसले अहिले सम्म करिब १२ वर्ष भइसकेको बुझिन्छ यो घटना यतिबेलासम्म । यो घटनाको न्यायपूर्ण छानबिन भएर सत्यतथ्य बाहिर नआउनु, अपराधीलाई कारबाही नगर्नुको पछाडि तिनीहरूले राज्यको आड पाएका छन् कि भन्ने शंका लाग्छ । अपराधीलाई कारबाही गर्नुपर्‍यो । ठुलै पहुँचवाला मान्छेहरु छन् र तिनीहरुको विरुद्धमा जनमत सिर्जना गर्नुपर्छ र राज्यले यसरी अपराधीको पक्षमा उभिनु र जनतालाई सुरक्षा नदिनु गम्भिर गल्ती हुन्छ ।’

निर्मला कुर्मीको हत्या तथा ननकुन्नी धोबीको हत्या प्रकरणमा छानविन समितिले पेस गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न र निर्मला कुर्मीको घटनाको छिटोभन्दा छिटो सुरुदेखि नै अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीहरू माइतीघरमा धर्नामा छन् ।

महिला अधिकारकर्मी रुबी खानले आफूहरू महिनौदेखि न्यायका लागि धर्ना बसेको भए पनि सरकार संवेदनशील नभएको बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर