वामदेवको विश्लेषण- प्रचण्डको बोलीमा समाजवादी संस्कृति, केपीको मुखमा दुर्वचनमात्र – Nepal Press

वामदेवको विश्लेषण- प्रचण्डको बोलीमा समाजवादी संस्कृति, केपीको मुखमा दुर्वचनमात्र

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएपछि कुनै पार्टीमा नरहेका एकता अभियानका नेता वामदेव गौतमले प्रचण्डको प्रशंसा गर्दैगर्दा आफ्ना पूर्वसहकर्मी केपी शर्मा ओलीप्रति तीब्र कटाक्ष गरेका छन् ।

गौतमले प्रचण्डको पछिल्लो भाषणको प्रशंसापछि ओली र प्रचण्डबीच गरेको तुलना उनकै मुखबाट जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिने अतिथिहरू सबैलाई जुन सम्मान दिनुभयो र जसरी मुक्तकण्ठले प्रशंसा गर्नुभयो त्यसबाट म प्रभावित भएको छ । मैले लगत्तै आफ्नोतर्फबाट प्रचण्डजीलाई धेरै धेरै बधाई र धन्यवाद पनि दिएँ ।

यसलाई सामान्यरूपमा लिएर टिकाटिप्पणी भए पनि यसको सार बुझ्न र मैले भन्न खोजेको कुरा के हो भनेर बुझाउन आवश्यक देखियो । यसमा मैले धेरै महत्वपूर्ण टिप्पणी गरेको छु । यो भनेको समाजवादी संस्कृति र कम्युनिस्ट संस्कारसँग जोडिएको कुरा हो ।

हरेक सभामा विशेषगरी आफूले आयोजना गरेको कुनै पनि कार्यक्रममा अतिथिको आलोचना गरिँदैन । आफैंले निम्ता गरेर झ्याँको झार्ने काम कसैले पनि गर्दैन । उन (प्रचण्ड) को यसपटकको प्रस्तुति साँच्चै नै गज्जबको थियो ।

ज जसले बोले त्यो सभामा, प्रचण्डले सबैको बारे टिप्पणी गरे । र, सबैको बोलीमा जे-जे सकारात्मक छ त्यसलाई मात्र उल्लेख गरे । त्यसमा आधारित हुँदाखेरि हामी सँगै जान सक्छौं भने । यहाँसम्म पनि राप्रपालाई पनि राष्ट्रियता र विकासको सन्दर्भमा हामी सँगै जान सक्छौं भने । सबैलाई प्रशंसा गरे ।

यो संस्कृतिको विषय हो । कुन व्यक्ति कति सुसंस्कृत छ भन्ने कुराको प्रमाण हो । प्रचण्डले एक ठाउँ पनि दुर्वचन व्यक्त गरेनन् । जबकी केपी ओली कुनै मन्तव्य दिँदा सुरू गर्दाखेरि पनि त्यहाँभित्र भन्न सम्म पनि कति हो कति दुर्वचन र अन्त्यमा पनि दुर्वचन गरेर बोल्न उनको त्यस्तो बानी बसिसक्यो ।

मैले हिजो पनि एउटा सानो वक्तव्य दिँदा यो कुरा उल्लेख गरेको छु केपीको नाम नलिईकन । यो संस्कृति समाजवादी संस्कृतिको अंग हो ।
सधैँभरि अरुको खोइरो खन्ने, अरुमाथि प्रहार गर्ने र आफूभन्दा फरक व्यक्तिलाई शत्रु देख्ने विचार कुनै पनि समाजवादी संस्कृति हुन सक्दैन । त्यो अपसंस्कार र अपसंस्कृति हो । केपीजस्ता व्यक्तिहरूले अपसंस्कृति फैलाइरहेका छन् । समाजवादको नाममा, कम्युनिस्टको नाममा बदनाम गर्ने बाहेक अरु केही गरेका छैनन् भन्ने कुरा पनि मेरो वक्तव्यमा अन्तरनिहीत छ ।


प्रतिक्रिया

One thought on “वामदेवको विश्लेषण- प्रचण्डको बोलीमा समाजवादी संस्कृति, केपीको मुखमा दुर्वचनमात्र

  1. जनता ले बिश्वास नगरे पछि अनेकन कुतर्क गर्छ राजनितिक तस्कर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर