कांग्रेस केन्द्रीय समितिमा ६१ जिल्लाको प्रतिनिधित्व, १६ जिल्ला नील – Nepal Press

कांग्रेस केन्द्रीय समितिमा ६१ जिल्लाको प्रतिनिधित्व, १६ जिल्ला नील

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा ६१ जिल्लाको प्रतिनिधित्व सुनिश्चित भएको छ । महाधिवेशनअन्तर्गत निर्वाचनबाट सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरु गरी १ सय ३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । जसमा ६१ जिल्लाका नेता समेटिदा १६ जिल्लाको प्रतिनिधित्व भने शून्य रहेको छ ।

कांग्रेस केन्द्रीय समितिमा काठमाडौं र कैलालीबाट सबैभन्दा धेरै ७-७ जनाको प्रतिनिधित्व भएको छ । काठमाडौंबाट महामन्त्री गगन थापासहित केन्द्रीय सदस्यहरू अम्बिका बस्नेत, ध्यानगोविन्द रञ्जित, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, नानु बास्तोला र हरिशरण नेपालीले केन्द्रीय समितिमा प्रतिनिधित्व गरेका छन् ।

त्यस्तै कैलालीबाट ७ जना नै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । डडेलधुराबाट महाधिवेशन प्रतिनिधि भए पनि डा. आरजु राणा देउवाको राजनीतिक कार्यथलो कैलाली ५ हो । उनीसहित डा. रणबहादुर रावल, ईश्वरी न्यौपाने, राजनम चौधरी, नृपबहादुर वड, सुशिला मिश्र भट्ट र जीवन राना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

काठमाडौं र कैलालीपछि केन्द्रीय समितिमा धनुषा, झापा र चितवनको प्रतिनिधित्व बढी छ । धनुषाबाट सहमहामन्त्री महेन्द्र यादवसहित ५ जना केन्द्रीय समितिमा छन् । आनन्दप्रसाद ढुंगाना, मुक्ताकुमारी यादव, मिनाक्षी झा र डा.चन्द्रमोहन यादव धनुषाबाट केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै झापाबाट महामन्त्री विश्वप्रकाश शर्मासहित केन्द्रीय सदस्यहरू सरिता प्रसाइँ, केशवकुमार बुढाथोकी, महेन्द्रकुमारी लिम्ब र सुशिला ढकाल आचार्य निर्वाचित भएका छन् ।

कांग्रेस केन्द्रीय समितिमा काठमाडौं र कैलालीबाट सबैभन्दा धेरै ७-७ जनाको प्रतिनिधित्व भएको छ ।

चितवनबाट टेकप्रसाद गुरुङ, दिनेश कोइराला, अञ्जनी श्रेष्ठ, उमेश श्रेष्ठ र शान्ति परियार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । परियार चितवन क्षेत्र नम्बर २ की हुन् भने बाँकी ४ जना चितवन क्षेत्र नम्बर ३ का हुन् ।

कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चत नभएका जिल्लाहरु भने १६ वटा छन् । रामेछाप, पर्वत, पाल्पा, रौतहट, रोल्पा, लमजुङ, कालीकोट, डोटी, ताप्लेजुङ,पूर्वी रुकुम, बैतडी, मुगु, मुस्ताङ, म्याग्दी, सर्लाही र सल्यानबाट कांग्रेस केन्द्रीय समितिमा शून्य प्रतिनिधित्व रहेको छ । ती जिल्लाबाट प्रतिनिधित्व गराउन अब सभापति देउवाले केन्द्रीय सदस्यमा ती जिल्लाका महाधिवेशन प्रतिनिधिबाट छनोट गर्नुपर्ने हुन्छ ।

कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार दिएको छ । विगतको परम्परा हेर्दा मनोनयनपछि पनि केही जिल्लाबाट कोही पनि केन्द्रीय सदस्य नबन्ने सम्भावना धेरै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर