महामहिमलाई महाप्रसाद, महारानीलाई सलाम – Nepal Press
कथा - २

महामहिमलाई महाप्रसाद, महारानीलाई सलाम

बल्लबल्ल बडामहारानी प्रकट भइन् । हत्तपत्त दाहिने हातको कान्छी औंला दोबार्दै सलाम ठोकेँ ।

बडामहारानीले बनावटी मुस्कान छरिन् । त्यो हेर्दाहेर्दै केही सिपाहीले हुत्तिँदै छालले फालेको माछालाई झैं मलाई भीडमा मिसाइदियो । महारानी लिस्टोल, पुरान्छेँ, भीमसेनडोबरहँुदै अघिअघि भीमेश्वर मन्दिरतिर बिलप भइन् । केहीबेरपछि म माथि हुँदै हेलिकोप्टर उड्यो । टोपीलाई तालुतिर धकेल्दै अकाशतिर हेरें । ‘महारानी माथिमाथि उडिबक्स्यो,’ बाल दिमागले सोच्यो ।

हेलिकोप्टरले डाँडा काटेपछि सिपाहीहरुले हामीलाई हलचल गर्न दिए । भिड भित्रभित्रै सकसपूर्वक दोलखा सहरको सेङस्थित स्वयम्भू छुन पुगेँ । स्वयम्भूका आँखाले हेरिहरेझैं लाग्यो । म किन त्यहाँ उभिन पुगेँ भनेर अहिले पनि सोच्छु ।

शीरमा भादगाउँले टोपी, शरीरमा खाकीको खैरो बर्दी, खुट्टामा सिउरिएका खैरो जुत्ताको आडमा गोडा फाटेर घण्टौ उभिँदा खुबै थाकिएको थियो । त्यो बर्दीमा केटोले आफूले आफैंलाई खुबै सुन्दरताको प्रशंसा गरिरहेकाले थकानको वास्ता गरिएन । हरियो कपडाको धरोलाई दाम्लोझैं घाँटीमा बेरिएको सुर्केनो सुमसुम्याउँदै स्यम्भूको आडमा उभिएर उतायता हेरेँ । प्राचीनकालीन सीप र शैलीका घरका बार्दलीबाट रमिता हेरिरहेकोतिर आँखा दौडियो । केही दौंतरीहरुसँग आँखा जुध्यो । टाढैबाट मुस्कान ‘अभिवान’ प्रकट गरेँ ।

परम्परागत महत्वका डबली, आँगन, दोबाटा, गल्लीका मूर्ति र मन्दिरहरुमा मानिसहरु यतायता गर्दै थिए । चरिकोट फर्कने हतारोले सबैतिर घुमघामलाई रहरमै सन्तोष मानेँ । सेङबाट डोक्छेँ, प्वाकल्चाको बाटो उकालिँदै पाखलती पुग्दा स्कुलका सर र साथीहरु कुरिरहेका रहेछन् । स्कुले साथीहरुसँग आपसमा गफिँदै, जिस्किँदै, धेकेलाधकल गर्दै हतारहतार चरिकोटतिर कुलेलाम ठोकियो ।

त्यो बेला स्काउट राजसंस्थाको निकै प्यारो थियो । राजसंस्थाको छत्रछायामा विस्तार गरिएको स्काउटको ठूलो सञ्जाल देशव्यापी विस्तारित थियो । हामी स्काउटेले पनि लामबद्ध भएर रानीको चाकडी गरेका रहेछौं । त्यसको उपहार दोलखाली केही पञ्चहरुका छातीमा राजबाहुलीबाट प्राप्त तक्मा झुण्डिएको खबर पइयो । एउटा बाउ भने छोरालाई किनिदिएको त्यो खाकीको बर्दीको पैसा तिर्न पसलेबाट तर्कर्दै हिँड्थे ।

०००

अध्याँरो अतीतसँग केटोलाई कुनै चिन्ता थिएन । दोलखा सरहको सेङ क्षेत्रमा लिच्छवीकालतिरको स्वयम्भूलाई दाहिने पारेर भीमेश्वरको राजपूजा हेर्न प्रायः पुग्थे । केहीअघिसम्म सेङ क्षेत्रमा दोलखा राजकाजमा सघाउन मन्त्रीहरुका निवास थिए । तीन–चार सय वर्ष पहिलेका ती संरचनाका भग्नावशेषहरु हाल भेटिँदैनन् ।

चरिकोटको मुख्य व्यापारिक केन्द्र टुटेपानी बजार छिचोल्दै पूर्वी मोहडाबाट तार्थली पुगेपछि प्राचीन ढुङ्गेधारा पानीमा पिइन्थ्यो । सापकोटा थरका पुरोहितहरुको थातथलोको त्यो धारामा अनुहार आकाशतिर फर्काउँदै मुखभित्र कलकल झरिरहेको पानी छिराएर प्यास मेटाइन्थ्यो ।

तेर्सिएको गोरोटोमा घट्टेखोला र मरिङखोला तर्नु बर्षातका बेला त्राही हुन्थ्यो । भर्खरै एकजना सचिवको मृत्यु भएकाले घट्टेखोलालाई हामी केटाकेटी सचेत पार्न सचिव बगाउने खोलामा बँच्नु पनि भनिन्थ्यो । दुवैखोला तरेर दोलखा सहर जाँदा प्रायः लप्टनको चौतारोमा आराम गरिन्थ्यो । जोगी गाउँको चौतारोमा केहीबेर विश्राम गर्दै बाटैबाटो अघि लागिन्थ्यो ।

कलिलो घाममा दोलखा सहरको चहलपहल बाक्लो भैसकेको हुन्थ्यो । भीमेश्वरमा पूजापाठ गर्नेको ठेलमठेल हुन्थ्यो । बोका, भालेहरु एकपछि अर्को बलीमा चढिरहेका हुन्थ्थे । मन्दिर घुमेपछि दक्षिणतिरको मुख्य द्वारको एक चौथाइ भाग छेकिएको बार नाघेर प्रवेश गर्थेँ । अरुलेझैं आस्थाको पत्थरका अगाडि दुई हात टेक्थे । घुँडा टेकेर शरीरलाई ढल्काउदै निधारले छुन्थे ।

मन्दिरबाट फर्केपछि स्वयम्भू छेउका पसलबाट नाङ्गालमा डोरी बाटे जस्तै बेरेर बनाइएका बेरुवा मिठाइ किन्थेँ । मुखलाई एकसुकाको त्यो मिठाइले बढो स्वादिलो बनाउँथ्यो । एक रुपैयाँमा दुई, तीन छटाक जिलेभी आउँथ्यो । बजारको मुख्य भाग स्वयम्भूमा अडेस मार्दै रसिला जिलेभी झिकेर टोक्थे । ओठमा बगेर आएकोे गुलियोलाई समेत जिब्रोले चाटेर स्वाद लिन्थे ।

०००

सरहको सेङमा उभिएर २०४२ सालमा महारानीलाई सलाम ठोक्ने त्यो केटो तन्नेरीमा महामहिम भेट्न राष्ट्रपति निवास छिर्छ ।

भीमेश्वरको महाप्रसाद बोकेर गएका हामीहरुमध्ये गुठियारका हातमा रातो मखमली रुमालले छोपिएको किस्ती छ । किस्तीमा चाँदीको करुवामा भीमेश्वरको जल भरिएको छ । केही राता सेता फूलमालाहरुले किस्तीलाई सुन्दर बगैचा जस्तै बनाएको छ । किस्तीको मध्यभागमा चाँदीको दानीमा कपास छ । त्यो कपासले भीमेश्वरमा आएको ‘पसिना’ पुछेको हो । त्यो कपास भीमेश्वरको ‘महाप्रसाद’ हो ।

शाहबंशको शासनकालसम्म कपास र बोकाको मासु महाप्रसादको रुपमा राजदरवार छिथ्र्यो । राजाका बाहुलीबाट ग्रहण हुन्थ्यो । विधिवत् गरिनुपर्ने क्षमापूजा राजाबाट बक्सिस भएको दक्षिणाबाट हुन्थ्यो । कर्नेलको नेतृत्वको फौजले जोरबोकाहरु दरबारबाट लगिन्थे । बलीमा चढेको बोकाका फिलाहरु राजभोजनमा ज्युनार हुन्थ्यो ।

अहिले महाप्रसाद राष्ट्रपति निवास छिर्छ । महामहिमको निवास क्षेत्र छिर्ने पहिलो द्वारमा सुरक्षा जाँच भयो । भीमेश्वर गुठियारसहतिको हाम्रो समूहलाई फूलहरु वीचको सडकबाट मूल निवासतर्फ लगियो । समूहमा गुठियार, जनप्रतिनिधि, प्रशासन प्रतिनिधि र केही भद्रभलाद्मीहरु थिए ।

मूल निवासभित्र छिर्ने बेला द्ववारपालेले फेरि शरीर जाँच गरे । क्यामेरा, मोबाइल उपकरणहरु एउटा टोकरीमा थन्क्याउन लगाइयो । एक सुरक्षा गार्डको सहायतामा निवास भित्रभित्रै लाग्यौं । निवासका लबीहरु छिचोल्दै अघि बढ्दा महिला सुसारेहरु यताउता गरिरहेका थिए । ठाउँठाउँमा द्ववारेहरु निगरानीमा थिए । पटाङ्गिनीमा विभिन्न बहुरङ्गी फूलहरु देखिन्थे । तिनै दृष्यमा रमाउदै अघि बढ्दै बैठक कक्षमा छिरियो ।

बैठक कक्ष सफा र मिलाइएका थिए तर सामान्य थियो । महामहिम बस्ने कुर्ची उत्तरबाट पश्चिम फर्काएर सजाइएको थियोे । कुर्चीको सामुन्ने केही दूरीको फरकमा पूर्व र पश्चिम फर्केर बस्न मिल्नेगरी आसनहरु राखिएका थिए । दुवैतिरका आसनहरुमा मिलेर हामी प्रतिक्षारत बस्यौ । प्रतीक्षाकै घडीमा हामीलाई चिया टक्र्याइयो । हामी सबैले महत्वसाथ स्वाद लिँदै पियौं ।

त्यसै क्रममा सुसारेहरु ढोकाबाट छिरे । सवारी हुँदै छ भन्ने सूचना पाएपछि हामी सबै सचेत भएर उठ्यौं । अघि नै प्रतीक्षरत महामहिमका सल्लाहकार सञ्चारकर्मी, तस्बिर खिच्ने व्यक्तिहरु पनि उठेँ ।

पूर्वसूचना अनुसार महामहिमको सवारी भयो । हामी सबैले अभिवादन गर्यौ । मुस्कुराउँदै महामहिम कुर्चीमा बसिन् । कुर्चीमा उडेस मारेर दुवै हातलाई कुर्चीका दायाँवायाँका बारमाथि राखिन् । टाउको हल्लाउँदै मुस्कुराएपछि केही भन्ने बाटो खुल्यो । गुठियारमध्ये एक जना उठ्दै महामहिमलाई भीमेश्वरमा पसिना आएको जाहेर गरे ।

‘महामहिम राष्ट्रपतिज्यू दोलखा भीमेश्वर महाराजको शीलामा पसिना आयो । पसिनाले देश र दरवारमा केही अप्रिय घटना हुने पूर्वसूचना दिने मन्यता छ । यसबाट जोगाउन क्षेमापूजा गर्नुपर्छ ।’

महामिहमले टाउको हल्लाउँदै बुझे सुनेको संकेत गरिन् ।

‘रीति परम्पराअनुसार नै महाप्रसाद ल्यायौं हजुर,’ गुठियारले जाहेर गर्दै गए, ‘यहाँबाट पठाइएको भेटी दक्षिणाले जोरबोका बली हुन्छ । स्थानीय प्रशासनको रोहबरमा क्षमापूजा गरिनुपर्छ ।’

त्यति जाहेर गराइसकेपछि अर्को गुठियार किस्ती लिएर उठे । सुस्तरी महामहिम छेउमा उभिए । महामहिम आसनबाट उठिन् । किस्तीबाट कपास झिकिन् । श्रद्धापूर्वक निधारमा छुवाइन् । माला उठाएर गलामा लगाइन् । फूलपाती पनि हातमा लिइन् । चाँदीको करुवा उचालेर जल छर्किन् । कपास र फूलप्रसाद पुरोहितको हतमा थमाइन् । कुनै एक कर्मचारीले नगद भरिएका खाम महामहिमलाई समाउन दियो । त्यसलाई निधारमा छुवाउँदै किस्तीमा राखिदिइन् । राष्ट्रप्रमुखले प्राचीन दोलखा राज्यसँग जोडिँदै आएको ‘शीलामा पसिनाको अटल विश्वास’लाई निरन्तरता दिएकामा हामी सबै गद्गद् भयौं ।

सबैको आसनग्रहणपछि केही जानकारी लिने संकेत महामहिमबाट भयो ।

मसँगै जोडिएर बसेका इतिहासमा दखल राख्ने एकजनाले केही बोल्ने अनुमति लिए, ‘यो महाप्रसाद साथै राख्दा फलिफाप हुन्छ महामहिमज्यू ।’

महामहिमले सही थाप्दै भनिन, ‘कपासलाई म साथै राख्छु ।’

महामहिम गफिन मन पराएजस्तो मुद्रामा देखिइन् । दोलखा र भीमेश्वरसम्बन्धका केही जिज्ञासाहरु बारे चर्चा हुन थाल्यो । गुठियारले बताउँदै गए । जाने सुनेकाहरुले कुरामा कुरा थप्दै गए । परम्पराअनुसार बली दिइएको बोकाको फिलासहित पुनः महाप्रसाद लिएर पुनः भेट्ने गुठियारले व्यक्त गरे । भेट गर्ने सहमति जनाउँदै महामहिम उठिन् ।

उनी बाहिरिएपछि हामी पनि बाहिरियौ । महामहिम र हामी सबैले मुख्य निवासलाई पृष्टभूमि पारेर बस्यौ । क्यामेरा बोकेर फोटो खिच्दै गरेका व्यक्तिले साझा तस्बिर लिए । संयोगबश तस्बिर लिने व्यक्ति पत्रकारिता अध्ययनका सहपाठी रहेछन् । त्यो नाताले चाँडै तस्बिरहरु मेरा इमेल ठेगानामा झर्यो । सबैलाई तस्बिरहरु फेसबुकको सन्देश ठेगानमा हुत्याइदिएँ । आफ्ना आफ्ना फेसबुक वालबाट केहीबेरमै तस्बिरहरु भाइरल हुँदै गए ।

हाम्री महामहिम र झण्डै चार दशकअघि भीमेश्वर स्वयम्भूनजिक देखिएकी शाह वंशका बडामहारानीको तुलना गरेँ । निरङ्कुश महारानीलाई बालापनले खासै अनुभूति गर्न सकेन ।

महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई उहाँको सक्रिय राजनीतिक जीवनमा चिनेको हुँ । पटकपटक भेट भएकै हो । चरिकोटबाट काठमाडौंसम्म बिरामी छोरासहित म र श्रीमती उहाँ सवार गाडीमा यात्रा गरेकै हो । महामहिमको रुपमा पनि उस्तै रुप र शैलीमा अनि प्रस्तुत व्यवहारले म पुलकित पाएँ । पहिले राजनीतिले भेटघाट जुरायो । अहिले भीमेश्वरको आस्थाले उनका नजिक पुर्यायो ।

क्रमश…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.