औरहीमा किसानको आन्दोलन, गाउँपालिकामा तालाबन्दी – Nepal Press

औरहीमा किसानको आन्दोलन, गाउँपालिकामा तालाबन्दी

जनकपुरधाम । सिरहाको औरही गाँउपालिकामा किसानहरुले तालाबन्दी गरेका छन् । गहुँको बीउ लुटेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेपछि किसानहरूले गाउँपालिकामा ताला लगाएका हुन् ।

तीन दिनअगाडि गाउँपालिकामा भण्डारण गरिएको साढे तीन सय बोरा गहुँको बीउ चोरी भएको थियो । गाउँपालिकाको गहुँको बीउ चोरी गरेको आरोपमा कडहरबाका मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेपछि किसान आन्दोलित बनेका छन् ।

आन्दोलनलाई जनमत पार्टीको साथ छ । जनमत पार्टीका नेता दीपेन्द्र यादवले गाउँपालिकाले दिएको उजुरीको आधारमा प्रहरीले किसानलाई पक्राउ गरेकाले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको बताए ।

उनले पक्राउ परेका किसानलाई रिहा नगरे अझ आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले भने, ‘गाउँपालिकाले अविलम्ब किसानमाथि दर्ता गराएको मुद्दा फिर्ता लिओस् । होइन भने महाविद्रोह हुन्छ ।’

प्रहरी प्रशासन र गाउँपालिका अध्यक्ष सिदार्थ यादवविरुद्ध किसानहरुले नारासमेत लगाएका छन् । उनीहरूले किसानमाथि गरिएको दमन बन्द गर, किसानलाई आवश्यक मल खाद र बीउको व्यवस्था गर, गिरफ्तार किसानलाई रिहा गरलगायतका नारा लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *