देउवाको दोस्रो इनिङ तयारी : पहिलो बैठकदेखि मनोनयनसम्म – Nepal Press

देउवाको दोस्रो इनिङ तयारी : पहिलो बैठकदेखि मनोनयनसम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दोस्रो कार्यकाल शुक्रबारदेखि सुरू गर्दैछन् । केन्द्रीय निर्वाचन समितिले विहीबार बेलुकीसम्म मतगणना सम्पन्न गरि शुक्रबार निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ । त्यसपछि सभापति देउवा नेतृत्वको नयाँ कांग्रेस केन्द्रीय समितिले आफ्नो काम थाल्नेछ ।

पहिलो बैठकको तयारी

सभापति देउवाले पुस १० गते शनिबार पहिलो बैठक बोलाउने तयारी गरेका छन् । पदभार लगत्तै बोलाइने केन्द्रीय समितिको बैठकबाट महाधिवेशन सफल पार्न सहयोग पुर्‍याउनेलाई धन्यवाद ज्ञापन गरिनेछ । कांग्रेस विधानको दफा २१ को १२ हरेक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ । केन्द्रीय समितिको आकार विगतभन्दा झण्डै दोब्ब भएको छ । सभापति देउवाले तत्कालका लागि पहिलो केन्द्रीय समिति बैठकको तयारी गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।

‘हामीलाई शनिबार नै बस्नेगरी बैठकको तयारी गर्न भन्नुभएको छ । निर्वाचन समितिको काम सकिनेवित्तिकै बैठक आह्वान हुन्छ’, कांग्रेस केन्द्रीय कार्यालयको भनाई छ ।

मनोनयनमा कसलाई प्राथमिकता ?

कांग्रेस विधानले सभापति देउवालाई बढीमा ३३ जनासम्म केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । कांग्रेसको विगतको परम्परा हेर्दा केन्द्रीय समितिमा निर्वाचन नलडेका र पराजय व्यहोरेका केही शीर्ष नेताहरुलाई समेट्ने देउवाको तयारी छ ।

कांग्रेस विधानको दफा २१ को उपदफा १० मा ‘कम्तीमा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनु पर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी तेत्तीस जना सदस्य मनोनीत गर्ने’ उल्लेख छ ।

महाधिवेशनको प्रतिस्पर्धा अनुसार कांग्रेस केन्द्रीय समितिमा १ पदाधिकारीसहित ४१ महिला निर्वाचित हुँदैछन् । १ सय ६८ सदस्यीय कांग्रेस केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ । त्यसका लागि सभापति देउवाले कम्तीमा १५ जना महिलालाई मनोनीत गर्नैपर्ने अवस्था छ । बाँकी १८ जना केन्द्रीय सदस्यमा पनि समावेशीतालाई ध्यान दिनुपर्ने हुन्छ ।

सभापति देउवासामु वरिष्ठ नेता रामचन्द्र पौडेल , नेता कृष्णप्रसाद सिटौला, सभापतिमा पराजित प्रत्याशीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, उपसभापमिा पराजित विजयकुमार गच्छदार, महेश आचार्य र सुजाता कोइराला, डा. चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र प्रदीप पौडेललाई मनोनीत गर्नैपर्ने दबाब छ ।

देउवाले निर्वाचन नलडेरै सहयोग गरेका डा. नारायण खड्का, मीन विश्वकर्मालगायतका नेताहरूलाई पनि केन्द्रीय समितिमा ल्याउनुपर्ने अवस्था छ । सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला भने कांग्रेस विधानकै व्यवस्थाअनुसार स्वत: केन्द्रीय सदस्य हुनेछन् ।

पहिलो केन्द्रीय समिति बैठकअघि देउवाले सबै नेतालाई मनोनीत गर्नसक्ने सम्भावना कम छ । यद्यपि वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्रीद्वय सिटौला र सिंहलाई पहिलो बैठकअघि नै देउवाले मनोनीत गर्नेछन् । यद्यपि पहिलो बैठकअघि नै आफ्नै टिमबाट पराजित गच्छदार, महत र पौडेललाई केन्द्रीय सदस्य मनोनीत गर्नपनि देउवालाई दबाब छ ।

हार्नेजति सबै मनोनीत नहुने

देउवाले अघिल्लो कार्यकालमा पदाधिकारीमा पराजित सबैलाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए । यसपटक भने सबैलाई मनोनीत गर्नसक्ने अवस्थामा देउवा छैनन् । पदाधिकारीमा पराजित नेताहरूको संख्यामात्रै डेढ दर्जन बढी रहेको छ ।

‘देउवालाई सभापति बनाउन निर्वाचन छाडेर सक्रिय भएका नेताहरुको संख्या नै एक दर्जन छ । निर्वाचन हारेका सबैलाई समेट्दा वचन दिएका साथीहरू छुट्नुहुन्छ’, देउवा पक्षका एक नेताले भने । ती नेताका अनुसार पार्टीभित्र प्रभाव भएका सिनियर नेताहरुलाई मात्रै मनोनीत गर्ने सम्भावना धेरै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर