अदालतको आदेशपछि स्काउट नियमित लयमा, भण्डारीलाई देशव्यापी स्काउट टिमको ऐक्यबद्धता – Nepal Press

अदालतको आदेशपछि स्काउट नियमित लयमा, भण्डारीलाई देशव्यापी स्काउट टिमको ऐक्यबद्धता

काठमाडौं । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबाट पुनर्वहाली भएसँगै स्काउटका देशव्यापी गतिविधि नियमित लयमा फर्किएका छन् ।

सरकारले राजनीतिक पुर्वाग्रह साँधेर भण्डारीसहित राष्ट्रिय तदर्थ समिति भंग गरी स्काउट मास्न सक्रिय गिरोहलाई नियुक्ति दिएको विरोधमा देशभरका स्काउटहरू ठप्प थिए ।

गैरकानूनी रुपमा आफूहरूलाई हटाइएको भन्दै भण्डारी अदालत गएका थिए । सर्वोच्च अदालतले दुवै पक्ष राखेर छलफल गर्ने भन्दै त्यतिन्जेल स्काउटको पूरानो कार्य समिति भंग गरि नयाँ नियुक्ति गर्ने निर्णय कार्यन्वयन नगर्न आदेश दिएको थियो ।

असोज ७ गते भण्डारीका कार्य समिति भंग गरिए पनि अदालतमा हड्ताल भएका कारण मंसिर २१ गतेमात्र मुद्दाको सुनुवाई भएको थियो । अदालतको आदेशपछि भण्डारी मंसिर २६ गते स्काउटमा पुनर्वहाली भएका थिए ।

भण्डारीको पुनर्वहालीपछि मन्त्रीका मान्छे हौं भन्दै केही व्यक्तिले स्काउटको केन्द्रीय कार्यालयमा हुलहुज्जत समेत गरेका थिए । मन्त्रीले नियुक्त गरेका तर अदालतको आदेशले बाहिरिएका सहसंयोजक राजिव खत्रीसहितको टोलीले अवरोध गरेपछि प्रहरीले अदालतको आदेशविपरीत गतिविधि नगर्न चेतावनी दिएको थियो ।

भण्डारीले कार्यभार पुनः सम्हाले लगत्तै तदर्थ समितिको बैठक राखेर देशभरका स्काउट गतिविधिहरु अघि बढाएका छन् । भण्डारीकै पालामा देशका सबै स्थानीय तहमा स्काउटका कार्यक्रम अघि बढेका थिए ।

स्काउटमा अदालतको आदेश बमोजिम भण्डारीले कार्य थालेपछि विभिन्न जिल्ला र स्थानीय तहका स्काउट टिमले केन्द्रीय कार्यालयमा पुगेर बधाइ तथा ऐक्यवद्धता जनाइरहेका छन् ।

राष्ट्रिय संयोजक भण्डारीले नेपाल स्काउटमा सरकारले राजनीतिक हस्तक्षेप गर्न नहुने भन्दै सर्वोच्च अदालतको आदेशभन्दा माथि कोही हुन नसक्ने बताए । उनले आफ्नो पालामा स्काउटले गति लिएको भन्दै चुनाव गराएर नयाँ कार्य समिति गठन नभएसम्म आफ्नो दायित्व पूरा नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *