माओवादीले भन्यो- राष्ट्रिय सम्मेलनमा संसदीय अभ्यासको भोगाइबारे गम्भीर समीक्षा गर्छौं (भिडिओ) – Nepal Press

माओवादीले भन्यो- राष्ट्रिय सम्मेलनमा संसदीय अभ्यासको भोगाइबारे गम्भीर समीक्षा गर्छौं (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलन विचार र पार्टी निर्माणमा केन्द्रित हुने बताएको छ । पुस ११-१३ मा तय गरिएको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले आफ्नै बारेमा पनि गम्भीर ढंगले समीक्षा हुने बताए ।

‘हामी गम्भीररुपले आफ्नै बारेमा समीक्षा गर्ने पक्षमा छौं,’ उनले भने, ‘२०६४ सालमा ठूलो पार्टी थियौं । २०७० पछि हामी सानो पार्टी भयौं । र, सानो पार्टी हुँदा हामीले भोगेको, अरु पार्टीसँग सहकार्य गर्दा भोगेको र संसदीय अभ्यासमा हामीले भोगेको चिजहरूलाई गम्भीररूपमा समीक्षा गर्छौं ।’

राष्ट्रिय सम्मेलनमा आफ्ना कमजोरीको पनि समीक्षा हुने उनले बताए । महराले भने, ‘२०६४ सालमा हामी किन ठूलो पार्टी भयौं, त्यसपछि हामी किन सानो पार्टी भयौं ? हामी के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित भएर हामीले बहस थाल्ने सोचेका छौं ।’

‘यो कुराको संकेतका रूपमा प्रदेश सम्मेलन उद्घाटनका क्रममा पनि अध्यक्षले राख्नुभएको छ । व्यवस्थितरूपले दस्तावेज आएपछिमात्रै भन्न सकिन्छ,’ उनले थपे, ‘हामीले केही अवरोधहरूसँग लड्ने बेलामा हामीले केही कमिकमजोरी गर्‍यौं कि भन्ने समीक्षासहित प्रस्तुत हुने पक्षमा छौं यो राष्ट्रिय सम्मेलनमा ।’

राष्ट्रिय सम्मेलन विचार निर्माण गर्ने सम्मेलन भएको भन्दै उनले त्यसका लागि अध्यक्षले दस्तावेजसमेत लेखिरहेको महराले जानकारी दिए । सम्मेलन विचारका अवला पार्टी निर्माणमा पनि केन्द्रित हुने उनको भनाइ छ ।

‘हामी अलि फरक ढंगको पार्टी निर्माणमा छौं,’ उनले भने, ‘संगठन निर्माणको जनवादी केन्द्रियताबाट हामी कतै विचलित त भएनौं भन्ने पनि हामीले समीक्षा गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर