इन्द्रेणी कम्प्लेक्समा भएको आगलागीबाट साढे ३ करोड क्षति भएको प्रारम्भिक अनुमान


काठमाडौं । इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ । पौने ४ बजेतिर कम्प्लेक्समा सरल श्रेष्ठले सञ्चालन गरेको फिटनेस एण्ड स्पा सेन्टरमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
फिटनेस सेन्टरमा जडान भएको इन्भटरबाट अचानक बिजुली सर्ट भएर भएको आगलागी एक घण्टापछि पूर्ण रुपमा नियन्त्रणमा आउको हो ।
प्रहरीको प्रारम्भिक अध्ययन अनुसार करिव साढे ३ करोड मुल्य बराबरको भएको क्षति अनुमान गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार प्रहरीले सूचना प्राप्त गर्ने वित्तिकै तत्काल महानगरीय प्रहरी वृत नयाँ वानेश्वर, सिहदरबार र नगरप्रहरी भृकुटीमण्डपबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)सहित एक सय ५० जना नेपाल प्रहरी, त्यसैगरी नेपाली सेना, सशस्त्र प्रहरी बल समेतबाट सुरक्षाकर्मी परिचालित गरिएको थियो ।
यस्तै जुद्ध बारुणयन्त्र काठमाण्डौवाट दुइ, ललितपुरवाट दुइ र भक्तपुरवाट एक गरेर ५ वटा दमलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको हो । यस्तै नेपाली सेनाको बारुण नियन्त्रक चार वटा र काठमाण्डौ महानगरपालिकाबाट एक पानी ट्याङ्करको सहायता पनि लिइएको थियो ।