आन्दोलनकारीले खोले राजमार्ग, हत्यारालाई पक्राउ गर्न भोलीसम्मको अल्टिमेटम – Nepal Press

आन्दोलनकारीले खोले राजमार्ग, हत्यारालाई पक्राउ गर्न भोलीसम्मको अल्टिमेटम

सिरहा । सहमती अनुसार २४ घण्टाभित्र हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सिरहाको गोलबजारमा अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग ६ घण्टापछि सञ्चालनमा आएको छ ।

हजारौं सवारी साधन र यात्रुहरु अलपत्र परेपछि आन्दोलनकारीले नै हत्यारालाई पक्राउ गर्न प्रहरीलाई अल्टिमेटम दिँदै राजमार्ग खोलेका हुन् ।

गोलबजार नगरपालिका ६ बाट हजारौंको संख्यामा आएका मानिसहरु विहान ११ बजेदेखि नै राजमार्ग अवरुद्ध पारेका थिए ।

अवरुद्ध राजमार्ग बल प्रयोग गरेर खोलाउन खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो ।

झडपमा केहि आन्दोलनकारी र प्रहरी घाईते भएका छन् । उनीहरुको उपचार स्थानीय भुमिजा अस्पतालमा भइरहेको छ ।

बढी संख्यामा रहेका आन्दोलनकारीले भने प्रहरीलाई नै लखेटेका थिए । आन्दोलनकारीले राजमार्गको कैयौं ठाउँमा विद्युतीय पोल तेर्साउनुका साथै टायर बालेका थिए ।

आन्दोलनलाई सम्बोधन गर्दै दलित अगुवा शिवशरण सदायले भोली विहानसम्म पनि हत्यारालाई प्रहरीले पक्राउ नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए । उनले प्रहरी प्रशासन आर्थिक प्रलोभनमा परेर हत्यारालाई पक्राउ गर्न नचाहेको आरोप समेत लगाए ।

शनिवार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यू भएको थियो । उनकै एक साथी छुरा प्रहारबाटै घाईते छन् ।

प्रहरीले अपराधीलाई पक्राउ नगरेको, क्षतिपूर्तिको ग्यारेण्टी नगरेको र घाईतेको निःशुल्क उपचारको व्यवस्था नमिलाएको भन्दै मृतकका शव परिवारले बुझ्न अस्वीकार गरेका छन् । मृतकको शव तीन दिनदेखि अस्पतालमै अलपत्र परेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *