एमसीसीबारे तोडिएला गगन थापाको मौनव्रत ? – Nepal Press

एमसीसीबारे तोडिएला गगन थापाको मौनव्रत ?

काठमाडौं । नेपाली कांग्रेसका चर्चित युवा नेता तथा नवनिर्वाचित महामन्त्री गगनकुमार थापा हिजो शीर्ष नेताहरूसहितको सर्वदलीय वैठकमा सहभागी भए । उक्त वैठकको मुख्य एजेन्डा थियो, एमसीसी अर्थात् मिलिनियम च्यालेन्ज कर्पोरेशन ।

पार्टीको महामन्त्रीका रूपमा सहभागी भएको पहिलो महत्वपूर्ण बैठक नै गगनका लागि पेचिलो पर्‍यो । एमसीसी वर्षौंदेखि गिजोलिएर अति विवादित बनेको मुद्दा हो, जसलाई लिएर देशमा तीब्र ध्रुवीकरण छ । राजनीतिक वृत्त दुई कित्तामा बाँडिदा जनताको ठूलो हिस्सा एमसीसीको विरोधमा छन् । एमसीसीका पक्षमा रहेका नेताहरू पनि आलोचनाको डरले सार्वजनिकरूपमा बोल्न डराउँछन् । गगन थापाको दु:ख पनि यही हो ।

एमसीसीमा केन्द्रित हिजोको बैठकमा गगनले के बोले भन्ने चासो धेरैलाई हुन सक्छ । उनी नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा बैठकमा सहभागी भएका हुन् । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा स्पष्ट छ । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न हतारिएका छन् । यसकै लागि उनले वैठक राखेका थिए । सरकारले बोलाएको चालु अधिवेशनको मुख्य टास्क पनि एमसीसी नै हो ।

बुझिएअनुसार वैठकमा गगनले आफ्नो पार्टीको नीतिविपरित कुनै फरक राय राखेनन् । उनी खासै बोलेनन् पनि । देउवा स्वयम् वैठकमा सहभागी रहेकाले गगनले बोल्नैपर्ने बाध्यता पनि थिएन । तर, आगामी निमा गगनलाई नबोली उम्किने सुविधा सधैँ नमिल्न सक्छ, किनकी उनी अब कांग्रेसको उच्च पदमा छन् । आफ्नो पार्टीका सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न अन्तिम बल लगाइरहँदा उनी तटस्थ बसिरहन मिल्दैन ।

देशका हरेक जल्दाबल्दा विषयमा तत्काल प्रतिक्रिया दिइहाल्ने नेता हु्न् गगन । सार्वजनिक सरोकारका मुद्दामा व्यक्तिगत धारणा राख्नुअघि पहिले संसदमा आवस भनेर पर्खि बस्दैनन् उनी । कहिलेकाहीँ महत्वहीन खुद्रा विषयमा पनि फेसबुक टिप्पणी गर्न भ्याइरहेका हुन्छन् । तर, एमसीसीजस्तो जनस्तरमै व्यापक बहस भइरहेको र अनेकन भ्रमहरू फैलाइएको मुद्दामा उनले निराशाजनरूपमा मौनव्रत धारण गरिरहेका छन् । संसदमा गएपछि मात्रै बोल्छु भन्नु उनको ‘काइते’ प्रतिक्रिया हो ।

त्यसो त गगन स्वयम् एमसीसीका पक्षधर हुन् । उनी सुरूदेखि नै एमसीसी पारित हुनुपर्नेमा स्पष्ट रहेको निकटस्थहरू बताउने गर्छन् । तर, सार्वजनिकरूपमा अहिलेसम्म उनले कतै पनि एमसीसीको वकालत गरेको सुनिएको छैन । न त आलोचना नै गरेका छन् । एमसीसीको विषयलाई सकेसम्म पन्छाउने, त्यो सम्भव नभए अमूर्त जवाफ दिएर फुत्किने चेष्टा उनले गर्दै आएका छन् ।

करिब दुई वर्षअघि एक कार्यक्रममा एमसीसीबारेको प्रश्नले गगन अप्ठेरोमा परेका थिए । कान्तिपुर दैनिकले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ मा सहभागी गगनलाई प्रश्नकर्ताले एमसीसीको विषयमा धारणा मागेका थिए ।

गगनले जवाफ दिए, ‘यो विषयमा बोल्न समय चाहिन्छ, म संसदमा नै आफ्ना धारणा राख्छु ।’

यसरी प्रश्नबाट फुत्किएका गगनले संसदमा एमसीसीबारे बोल्ने दिन भने कहिल्यै आएन । त्यसपछि उनले पूरै मौनता साँधे । गत वर्ष एसीसीको विवाद उत्कर्षमा पुग्दा सामाजिक सञ्जालमा गगनको खोजी तीब्र भएको थियो । ‘गगन हराएको सूचना’ ह्यासट्याग नै चल्यो । त्यसपछि गगनले एउटा विज्ञप्ति निकालेर आफूमाथि उब्जेका प्रश्नहरूलाई थामथुम पार्ने प्रयास गरे । यद्यपि, त्यस विज्ञप्तिमा पनि उनको धारणा उल्लेख थिएन ।

एमसीसीबारे टिप्पणी गर्नै नचाहने गगनको दुई महिनाअघि पत्रकार ऋषि धमलाले मुख खुलाएका थिए । प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा गगनले आफ्नो स्वभावविपरीत एकदमै घिसिपिटी जवाफ दिएका छन् । उनी न पक्षमा खुलेका छन् न विपक्षमा ।

अन्तर्वार्तामा ऋषिले गगनलाई सिधा सोधेका थिए- एमसीसी पारित गर्ने देउवाको अडान छ, तपार्इं पक्षमा कि विपक्षमा, जनतालाई बताउनुस ।

गगनको जवाफ यस्तो थियो-

म यो देशको सांसद हुँ । यो विषय पहिले नेपाल सरकारले संसदभित्र ल्यावस् । त्यसपछि संसदको विषय बन्छ । अनि बल्ल मेरो पनि विषय हुन्छ । नेपालको हितमा हुन्छ भन्ने लागेमा छाती ठोकेर पास गर्छौं । होइन, यसमा समस्या छ भन्ने लाग्यो भने रोक्छौं । त्यसैले तपाईंले यो प्रश्नको उत्तर कहाँ मात्रै पाउनुहुन्छ भने जुन दिन यो विषय संसदमा आउँछ । नआउँदासम्म मेरो टाउको दुखाइ होइन ।

धमला प्रतिप्रश्न गर्छन्-

तर, जनमत त एमसीसीको पक्षमा छैन नि गगन थापाजी ?

गगनले अलि ठोस जवाफ दिँदै भन्छन्- एमसीसीको बहस अलि बरालिएको छ । जनमत निर्माण गर्ने काम पनि हामी नेताहरूकै हो । जनताले आफूले चुनेर पठाएको सांसदलाई विश्वास गर्नुपर्छ ।

धमलाको सोधाइ- त्यसको मतलव तपाईं एमसीसी पास गर्ने पक्षमा हुनुहुन्छ ?

गगन फेरि पनि खुल्दैनन्

म सांसद हो । एमसीसी यदि राष्ट्रघाती हो, जनविरोधी हो भने फेल हुन्छ । राष्ट्रको पक्षमा छ भने संसदबाट पास हुन्छ । म भएको संसदले देशको अहित हुने कुरा पास गर्दैन । हित हुने कुरा छ भने कसले डाँडामा उक्लेर के भन्यो भन्नेले अर्थ राख्दैन । पहिले संसदमा आवस् । हामी पढ्छौं । सांगोपांगो हेर्छौं । दूई–चार महिना लगाउँला । शब्द–शब्दमा बहस गरौंला । टेबुलमा ल्याउँला । अनि निर्णय गरौंला ।

देशका हरेक जल्दाबल्दा विषयमा तत्काल प्रतिक्रिया दिइहाल्ने नेता हु्न् गगन । सार्वजनिक सरोकारका मुद्दामा व्यक्तिगत धारणा राख्नुअघि पहिले संसदमा आवस भनेर पर्खि बस्दैनन् उनी । कहिलेकाहीँ महत्वहीन खुद्रा विषयमा पनि फेसबुक टिप्पणी गर्न भ्याइरहेका हुन्छन् । तर, एमसीसीजस्तो जनस्तरमै व्यापक बहस भइरहेको र अनेकन भ्रमहरू फैलाइएको मुद्दामा उनले निराशाजनरूपमा मौनव्रत धारण गरिरहेका छन् । संसदमा गएपछि मात्रै बोल्छु भन्नु उनको ‘काइते’ प्रतिक्रिया हो ।

एमसीसी सम्झौताको अध्ययन गरेर बोल्ने गगनको भनाइ पनि हास्यास्पद छ । एमसीसी सम्झौता सार्वजनिक भएको उहिल्यै हो । वेवसाइटमै यो उपलब्ध छ । उनीजत्तिको अध्ययनशील नेताले अहिलेसम्म पढ्नै नपाएर प्रतिक्रिया नजनाएको भनेर कसैले पत्याउँदैन ।

एमसीसीबारे गगनले सार्वजनिकरूपमा नबोल्नुको एउटा मात्रै कारण छ, विवादमा पर्ने डर । उनी एमसीसीको विरोधमा छैनन् । तर, खुल्ला समर्थन गर्दा आजका दिनसम्म गरिरहेको लोकरिझ्याईंको राजनीतिमा धक्का पुग्ने बुझाइ उनको छ । एमसीसीबारे सामाजिक सञ्जालको प्रवृत्ति उनलाई राम्ररी थाहा छ । एमसीसीको पक्षधरता लिनेहरूले खेप्नुपरेका निन्दा र भर्त्सनालाई उनले नियालेका छन् ।

गगनमाथि आलोचकहरूको आरोप छ, उनी जता हावा बग्छ, त्यतै कुद्छन् । भीड जता छ, त्यहीँ घुसेर चर्को भाषण गर्छन् । ‘एन्टीकरेन्ट’ अभिव्यक्ति दिन उनको हिम्मत पुग्दैन । एमसीसीबारे गगनको तटस्थताले यस्तै आरोपलाई बल पुर्‍याइरहेको छ । उनले सही भनेका हुन्, नेताले जनमतका आधारमा आफूलाई हिँडाउने मात्र होइन, जनमत निर्माण गर्ने वा बदल्ने पनि क्षमता देखाउनुपर्छ । आफ्नो यो सिद्धान्तलाई व्यवहारमा अपनाउन भने आफैं चुकिरहेका छन् ।

एमसीसीबारे गगनले सार्वजनिकरूपमा नबोल्नुको एउटा मात्रै कारण छ, विवादमा पर्ने डर । उनी एमसीसीको विरोधमा छैनन् । तर, खुल्ला समर्थन गर्दा आजका दिनसम्म गरिरहेको लोकरिझ्याईंको राजनीतिमा धक्का पुग्ने बुझाइ उनको छ । एमसीसीबारे सामाजिक सञ्जालको प्रवृत्ति उनलाई राम्ररी थाहा छ । एमसीसीको पक्षधरता लिनेहरूले खेप्नुपरेका निन्दा र भर्त्सनालाई उनले नियालेका छन् ।

हिजोका दिनसम्म गगन पार्टीको केन्द्रीय सदस्यको हैसियतमा मात्र थिए । तर, अब उनी कांग्रेसका महामन्त्री हुन् । सरकारको नेतृत्व गरिरहेको पार्टीको शक्तिशाली ओहदामा पुगेका उनले कुनै पनि मुद्दामा आफूलाई निरपेक्ष राखिरहन सक्दैनन् । एमसीसीबारे उनको अभिव्यक्तिले यसअर्थमा महत्व राख्छ कि गगनलाई पछ्याउनेहरूको जमात देशमा ठूलो छ । त्यो कांग्रेसभित्र मात्र नभएर बाहिर पनि छ ।

एमसीसीको बारेमा जेजस्ता भ्रमहरू फैलाइएका छन्, तिनीहरूलाई चिर्दै वास्तविकता जनतासमक्ष ल्याउने हिम्मत गरे भने तत्कालका लागि उनका लागि फाइदाजनक नदेखिन सक्छ, तर कालान्तरमा गगनले आफूलाई साँचो अर्थमा ‘नेता’ प्रमाणित गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर