ए डिभिजन लिग : एपीएफको पहिलो जित, फ्रेन्डस पराजित


काठमाडौं । आशिष लामाको दुईगोल प्रेरित सहिद स्मरक ए डिभिजन लिगमा नेपाल एपीएफ क्लबले पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्डस क्लबलाई ३—१ गोलको नतिजामा पराजित गर्दै एपीएफले लिगमा पहिलो जित निकालेको हो ।
खेलको ३० औं मिनेटमा बिकि तामाङले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। उनले कप्तान नविन लामाको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट उत्कृष्ट गोल गरे ।
त्यसको दुई मिनेट नबित्दै आशिषले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाए । उनले कप्तान नविनकै असिस्टमा गोल गरेका थिए ।
पहिलो हाफमा २ गोलको अग्रता बनाएको एपिएफका लागि ५७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३(० को अग्रता दिलाए । उनले आवास लामिछानेको पासमा गोल गरेका थिए ।
यसतै, फ्रेन्डसका लागि प्रिजेन तामाङले ६९ औं मिनेटमा पेनाल्टी मार्फत सान्त्वना गोल गरे ।
एपीएफका दिपेश धिमालले पेनाल्टी एरियाभित्र जमुल एन्थोनीलाई फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो ।
पहिलो जिसँगै तीनअंक जोडेको एपीएफ रेलिगेसन जोनबाट ११औं स्थानमा उक्लिएको छ । पराजित फ्रेन्डस तालिकाको पुछारमा छ ।