‘सुन्दरी सुनिता’को अनौठो ठगीधन्दा – Nepal Press
ब्लग

‘सुन्दरी सुनिता’को अनौठो ठगीधन्दा

काठमाडौं । फेसबुकमा नाम– सुनिता खत्री । इन्ट्रोमा लेखिएको छ– नेपाली चलचित्र उद्योग, जय माया प्रेम । फेसबुकका आधारमा उनी नेपाली चलचित्र उद्योगको कोरियाग्राफर । फेसबुककै आधारमा नै उनी जीएस स्कुल कालिमाटीमा अध्ययन गरेकी र काठमाडौंमा नै बस्दै आएकी एक युवती ।

२०७७ साल मंसिर १२ गते उनले ‘के छ कता ?’ भन्ने म्यासेज फेसबुकमा पठाएकी रहिछन् । केही दिनअघि मात्रै उनले म्यासेन्जरमा थम्स पठाएकी गरिछन् । तर, मैले कुनै मतलब गरिनँ ।

त्यसपछि उनले फेरि ‘कता हो ?’ भन्दै प्रश्न गरिन् । राति साढे तीन बजे म्यासेज गरेकी रहिछन् । बिहानपख जवाफ फर्काएँ– म त काठमाडौं मै छु । एण्ड यु ?’

उताबाट जवाफ आयो– सेम केटिएम नै ।

‘अनि केटिएम कता नि !’

‘बानेश्वर एण्ड यु चाहीँ ?’

‘पेप्सीकोला ।’

‘अनि खाना खानुभयो ?’

‘भर्खरै ।’

‘अनि अरु के छ ?’

‘सबै ठीक छ । यु को ?’

‘के गर्दै होइसिन्छ नि अनि ?’ उत्तर आएन, प्रश्नै ठडियो ।

‘म यतिकै बसिराछु एण्ड यु ?’

‘सेम, अनि अरु के छ नि ?’ फेरि उस्तै प्रकृतिको प्रश्न ।

‘सबै राम्रो छ । आफ्नो के छ ?’

‘सेम, अनि फ्यामीली नै हो कि बस्ने यता ?’

‘हो ।’

‘अँ, यता आउनु न त खाना खानलाई अहिले ?’

‘कता हो नि ? अरु को–को हुनुहुन्छ ?’

‘पेप्सीकोला । म एक्लै हो ।’

‘आउला नि त के भो र ?’ मैले भनें ।

‘आउनु अहिले ९ बजे तिर । ९८………..६ मा कल गर्नुस् यहाँ आएर । तपाईंको नम्बर ?’

मैले नम्बर दिन चाहिनँ । उनले सनसिटी अपार्टमेन्ट छेउमा बोलाइन् ।

मैले कल गरे । मलाई एकोहोरो तारन्तार आउन जोड दिइन् । फोन राखेपछि म्यासेजमा उतिकै सताइन् । ‘कहाँ आइपुग्नुभो ? कतिबेला आइपुग्नुहुन्छ ? छिटो आइस्यो । म खाना बनाउँछु, खाउँला, बसौंला, रमाइलो गरौंला ।’

म जाने नै निष्कर्षमा पुगें । म्यासेज गरें, ‘म यहाँबाट हिँडे ।’

सनसिटी छेउ पुगेपछि आइपुगेको जानकारी गराएँ । उनले फोनमा भनिन्, ‘भएदेखि दुईतीन हजार पैसा लिएर आइस्यो ल । मेरो एक ठाउँमा तिर्नु छ ।’ मैले ‘पैसा त छैन’ भनें ।

म उनले भनेअनुसारकै लोकेशनमा पुगें । उनलाई ठम्याएँ । अनुहारमा मास्क थियो । २० वर्ष हाराहारीकी देखिन्थिन् । सामान्य टाउजर र चप्पल लगाएकी । टाउकामा टोपी थियो ।

भेट्नेबित्तिकैको उनको पहिलो प्रश्न– केमा आउनुभो ?

म बोलिनँ ।

उनी भन्दै हिँड्दै गरिन्– चिसो कस्तो बढेको है !

म बोलिनँ ।

फेरि भनिन्– मैले भनेको थिएँ नि ! दुई–तीन हजार रुपैयाँ, ल्याउनुभयो ? म रुम पुगेर दिन्छु । अहिले मलाई खाँचो छ ।

‘पैसा त छैन’, मैले भनें ।

‘इसेवा वा मोबाइल बैंकिङ होला नि !’

‘मसँग नेट छैन ।’

‘म हटस्पट छाडिदिन्छु ।’

अति नै सताएपछि मैले दुई हजार रुपैयाँ ट्रान्सफर गरिदिन खोजें । उनले तीन हजार नै चाहिने बताइन् ।

मैले ‘छैन’ भन्ने जवाफ दिएँ । ‘कार्ड होला नि हजुरसँग’। उनले प्रश्न गरिन् । मैले छैन भन्ने जवाफ दिए । त्यसपछि उनले इसेवामा पठाइदिनु न त भन्दै आग्रह गरिन् । मैले सुन्दै नसुने गरे पनि उनले धेरै जिद्धि गरेपछि मसँग इन्टरनेट छैन भन्ने जवाफ दिए । उनले म हटस्पट चलाउछु नि है भन्दै हटस्पट नै खोलिन् ।

त्यसपछि मैले बाध्य भएर २ हजार हाल्न खोजे । तर उनले ३ हजार नै चाहिएको हो । त्यसैले ३ हजार नै हालिदिनु न है भन्दै जिद्धि गरिन् । मैले इसेवा आईडी मागे । उनले इसेवा आईडीको दिएको नम्बर हो ९८……….५२ । पैसा इसेवामा पठाइसकेपछि उनले त्यसको स्कृन सट पनि आफूलाई पठाउन भनिन् । मैले च्याट बक्समा उनलाई स्कृन सट पनि पठाएँ । उक्त प्रमाण मसँग अहिले पनि छ ।

पैसा प्राप्त गरेपछि उनले कसलाई हो थाहा भएन, फोन गरिन् र भनिन्, ‘दिदी मैले पैसा पठाइदिएको छु । ३५ सय त होइन, तीन हजार पठाइदिएको छु । अहिले यसैले म्यानेज गर्नु न है । म एकै छिनमा आउछु ।’ त्यति भनिसकेपछि उनले मेरो घर सोधिन् । मैले आफ्नो ठेगाना बताएन् । अनि ‘तिम्रो घर कता भनेर प्रश्न गरे ?’ उनले भनिन्, ‘मेरो घर त पूर्व हो ।’

मैले प्रतिप्रश्न गरे, ‘पूर्व कता हो नि ?’ उनले जवाफ नदिदैँ कसको हो खै फोन रिसिभ गरिन् । उताबाट कतिबेला अफिस आउने हो भन्ने प्रश्न थियो वा उनी आफैले प्रश्न बनाएर जवाफ दिइन् थाहा भएन । तर उनले फोनमा भनिन्, ‘म आज चार बजेसम्म मात्र अफिस आउँछु । आज समाचार पढ्ने कसको पालो हो ? श्री पाण्डे कै त हो नि ।’ उताबाट ‘हो’ भन्ने नै जवाफ आएको जस्तोगरी बोलिन् । त्यसपछि मैले कहाँ हो काम गर्ने ? भनें । उनले ‘टिभीमा हो’ भन्दै जवाफ दिइन् । टिभी भनेपछि र श्री पाण्डेको नाम लिएपछि पक्कै कान्तिपुर नै होला भन्ने अनुमान गरे ।

त्यसपछि उनले डोर्याउदै आफ्नो कोठातिर लान खोजिन् । उनले फेरि पाँच सय रुपैयाँ मागिन् । मैले दिन मानिनँ । उनले जरुरी सामान ल्याउनुपर्ने भन्दै कर गरिन् । अति नै कर गरेपछि एक हजारको नोट दिएँ, मसँग पाँच सयको बेग्लै नोट रहेनछ ।

मलाई एकछिन त्यहीं पर्खन भन्दै उनी नेक्सस स्कुलतिर लागिन् । १५ मिनेटसम्म आइनन् । कल गरें । फेरि १० मिनेटपछि कल गर्दा ‘एकछिन कुर्नुस सरी है त ढिलाे भएमाेमा, म आइहालें’ भनिन् ।

त्यसपछि फोन उठ्नै छाड्यो । मलाई थाहा थियो, ठगिँदै छु भनेर । किनकि म ठगिनकै लागि गएको थिएँ ।

 

त्यसपछि ठगिनकै लागि गएको थिएँ म

तीनजनाले सुनिता खत्रीबाट आफू ठगिएको मलाई जानकारी गराएका थिए । उनीहरुले समाचार लेखिदिन मलाई आग्रह गरे । तर समाचारका लागि कुनै प्रमाण थिएन । त्यसैले प्रमाण जुटाउनकै लागि म सुनितालाई भेट्न पेप्सीकोला गएको थिएँ ।

उनलाई भेट्न जानुअघि कुनै खतरा हुन्छ कि भनेर महानगरीय प्रहरी वृत कोटेश्वरका प्रहरी अधिकारीको समन्वयमा म त्यहाँ पुगेको थिए । प्रहरी अधिकारीलाई सबै कुरा त जानकारी गराएको थिएन, तर ‘म एउटा स्थलगत रिपोर्टिङमा जाँदैछु, कुनै पनि बेला मलाई अफ्ट्यारो पर्नसक्छ, अलर्ट भएर बस्नुहोला’ भनेको थिएँ ।

सुनिताको प्रोफाइल

उनलाई फेसबुकमा एक हजार नौ सय ९३ जनाले फलो गरेका छन् । हाम्रा म्युचियल फ्रेन्ड एक सय ८४ जना छन् । उनको फेसबुक साथीको सूचीमा छन्, सामान्य मान्छेदेखि चर्चित सेलिब्रेटीसम्म ।

हाम्रा संयुक्त साथीलाई मैले उनको फोटो पठाएर सोधें, ‘यो मान्छेलाई चिन्नुहुन्छ ?’ सबैले नचिन्ने बताए । मलाई पनि उनी कहिले मेरो साथी बनिन् पत्तो छैन ।

तर एउटा कुरा प्रमाणित भयो कि उनले मलाई जस्तै गरी ठग्ने धन्दा नै चलाएकी रहिछन् ।

फेसबुकमा साथी भएका व्यक्ति र फेरि साथी बन्नेलाई पनि सचेत गराउनका लागि यो ब्लग लेखिएको हो । यदि कसैले कुनै खालको प्रलोभनमा परेर सुनिता खत्रीलगायतका पात्रलाई भेट्नुभयो भने जुनसुकै बेला ठगीमा पर्न सक्नुहुन्छ । प्रहरीले पनि यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारवाही गर्नुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.