चिसोसँगै बढ्यो विद्युतको माग, भारतबाट पूर्ति गर्ने तयारी – Nepal Press

चिसोसँगै बढ्यो विद्युतको माग, भारतबाट पूर्ति गर्ने तयारी

काठमाडौं । चिसो बढेसँगै विद्युतको माग ह्वात्तै बढेको छ । ३०० मेगावाटभन्दा बढी विद्युतको आन्तरिक माग बढेसँगै भारतबाट विद्युत आयात गरेर पूर्ति गर्ने तयारी भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यसरी नै खपत वृद्धि भए असारसम्ममा पीक डिमाण्ड दुई हजार मेगावाट पुग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणको तथ्यांकअनुसार गतवर्षको तुलनामा यस वर्ष तीन सय मेगावाटको हाराहारीमा माग वृद्धि भएको हो । बर्खाको समयमा आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरूलाई पर्याप्त विद्युत उपलब्ध गराउने नीति प्राधिकरणले लिएको थियो ।

विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा वृद्धि आएपछि खपतमा पनि वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

यसअघि प्राधिकरणले नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएको थियो । विद्युतीय गाडीको प्रयोगमा समेत वृद्धि भएको छ । गत वर्षको मंसिर २७ गते एक हजार २१७ मेगावाट माग रहेकोमा यस वर्ष एक हजार ५३९ मेगावाट भएपछि गतवर्षको तुलनामा तीन सय २२ मेगावाट बढी माग भएको प्राधिकरणले जनाएको छ । यस आधारमा विद्युतको पीक डिमाण्ड गतवर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशत बढेको छ ।

मंसिर २७ गतेको प्रणालीको पीक डिमाण्ड पूर्तिका लागि प्राधिकरणका विद्युतगृहहरूबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युतगृहहरूबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरूबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पीक समयमा पनि चार मेगावाट विद्युत भारततर्फ निर्यात गरिएको थियो ।

प्राधिकरणका अनुसार काठमाडौं उपत्यकामा मात्र ९० मेगावाट विद्युत माग वृद्धि भएको छ । गतवर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पीक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ ।

ऊर्जाका मागका आधारमा आधारमा मंसिर २७ गते विद्युत खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको दुई करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । ऊर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशत बढी हो ।

विद्युतको माग अहिलेकै रुपमा वृद्धि भयो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्ने प्राधिकरणको आँकलन छ ।

देशभित्र उत्पादित विद्युत आन्तरिकरूपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको घिसिङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *