त्रिविको जालझेल : सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी स्वर्णपदकबाट वञ्चित – Nepal Press

त्रिविको जालझेल : सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी स्वर्णपदकबाट वञ्चित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमफील र स्नातकोत्तर तहका सर्वोत्कृष्ट विद्यार्थीहरूलाई भोलि पुस ५ गते स्वर्ण पदकसहित विभूषित गर्दैछ । तर, समाजशास्त्रतर्फ सर्वोत्कृष्ट नतिजा ल्याएका आमिर राजा त्रिविको स्वर्णपदक पाउने सूचीमा छैनन् ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले गत मंसिर २८ गते गोरखापत्रमा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीहरुको सूची प्रकाशित गरेको थियो । उक्त सूचीमा नाम भएका विद्यार्थीहरूले त्रिविको ४७ औं दीक्षान्त समारोहमा पदक प्राप्त गर्नेछन् । समाजशास्त्रतर्फ स्वर्णपदक पाउनेको सूचमा एलिशा पौड्यालको नाम छ । जबकी परीक्षाको नतिजामा एलिशाले भन्दा आमिरले बढी जीपीए ल्याएका थिए । यस्तो किन भयो ?

यही प्रश्नको जवाफ खोज्दै आमिर अहिले डिन कार्यालदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म धाइरहेका छन् । गोरखापत्रको सूचनामा आफ्नो नाम नदेखेपछि अन्यायमा परेको महसुस गरेका उनले चित्तबुझ्दो जवाफ पाउन सकेका छैनन् ।

२०७६ (२०१९) मा आमिरले समाजशास्त्र विषयमा मास्टर्सको परीक्षा दिएका थिए । उनको चौथो सेमेस्टरको रिजल्ट २०७६ फागुनको १५ गते आयो । उनी डिपार्टमेन्ट टपर भए ।

स्नात्तकोत्तरको समाजशास्त्रतर्फ आमीरले ३.९४ जीपीए ल्याएका थिए । सोही ब्याचकी एलिशाको जीपीए ३.८७ मात्रै छ । आमीरको भन्दा एलिसाको ७ प्वाइन्ट कम छ । आफूभन्दा कम अंक ल्याउनेलाई पदक दिन विभागकै शिक्षकदेखि डिनसम्मले जालझेल गरेको आमिरले आरोप लगाएका छन् ।

सामान्यतया विभागबाट सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी नै गोल्ड मेडलको हकदार हुन्छन् । मार्स्टर्समा ४ वटा सेमेस्टरको परीक्षा दिनुपर्ने हुन्छ । ती चारवटैको नतिजा आउँदा समग्रमा जसले बढी जीपीए ल्यायो उसैले टीयूको गोल्डमेडल प्राप्त गर्ने ‘स्ट्रेटफरवार्ड’ नियम हो । तर, कसरी आमिर गोल्ड मेडलबाट वञ्चित गरिए त ?

०००

स्नातकोत्तर तहमा चौंथो सेमेस्टरको रिजल्ट आइसकेपछि तीन महिनाभित्र थेसिस बुझाउनुपर्ने निण्म छ । त्यसअनुसार थेसिस सबमिट गर्नका लागि आमिरको ब्याचका विद्यार्थीलाई जेठ-असारसम्म समय थियो । तर, २०७६ चैत ११ गतेदेखि कोरोना महामारीको कारण पहिलो चरणको लकडाउन भयो । लकडाउनको बीचमा विभाग खुलेको थिएन । र कुनै काम पनि हुन सकेको थिएन ।

आमिरले तत्कालीन हेड अफ डिपार्टमेन्ट टीकाराम गौतमलाई फोन गरेर आफू गोल्ड मेडलको दाबेदार रहेको जानकारी गराए र भाइवा लिइदिन अनुरोध गरे ।

आमिर सुनाउँछन्, ‘त्यसबेला हेड अफ डिपार्टमेन्ट टीका सरले मलाई कोरोनाकालमा तीन महिनाभित्रै सक्नुपर्छ भन्ने हुँदैन, पछि हेर्छौं भनेर आश्वासन दिनुभएको थियो ।’

लकडाउन खुकुलो हुन थालेपछि आमिरले फिल्डमा गएर काम गरे । र, केही ढिला गरी थेसिस बुझाए ।

गौतमपछि डिपार्टमेन्ट हेड बनेका डा. युवराज लुइटेलसँग पनि उनले कुरा गरे । आमिरको कुरामा सहमत भएर लुईंटेलले डीन कार्यालयलाई पत्रसमेत पठाएका थिए । उनले लेखको पत्रमा कोभिडको असाधारण समयका कारण थेसिसको समयावधिबारे ‘कन्सिडर’ गर्न सिफारिस गरेका छन् ।

आमिर डिन कार्यालयमा पनि पुगे ।

उनी सुनाउँछन् ‘त्यतिबेला उहाँहरुले यो हामी मिटिङ गरेर यो ३ महिनावाला मिति संशोधन गर्छौं भनेर आश्वासन दिनुभयो ।’

तर, दुई महिनासम्म डिन कार्यालयले यसमा कुनै निर्णय गरेन । तर, अचानक चारदिनअघि गोरखापत्रमा कन्भोकेसनको सूचना प्रकाशित गरिएको थियो ।

सूचना देखेपछि आमिर फेरि विभागमा पुगे । त्यसपछि सुरू भयो यता र उताको दौडधुप । उनी डिन कार्यालय पनि पुगे । डिन कार्यालयले परीक्षा नियन्त्रण कार्यालयले तीन महिनावाला नियम संशोधन गर्न नमानेको जवाफ दियो । उनी परीक्षा नियन्त्रण कार्यालय बल्खु पनि पुगे । त्यहाँका अधिकारीहरूले उनलाई यो सबै डिन कार्यालयकै जिम्मेवारी भएको भन्दै पन्छाए ।

अहिले त उनी आफैं डिपार्टमेन्टको हेड छैनन् । सरसँग भएको कुरा हामीसँग भने,‘मैले भनेको सर अब चिठी लगेर दिएको हो । खै त हामी गरेको हुम सर भने उहाँले पनि तपाईले नै पाउनुपर्छ भनेर आश्वासन दिनुभयो ।’

यो पनि पढ्नुहोस् : त्रिविका तरमाराको यस्तोसम्म सेटिङ- योग्यलाई आउन नदिन प्रतिस्पर्धामै अघोषित प्रतिबन्ध

अहिले डिन कार्यालयको प्रमुख प्रा. डा. कुसुम शाक्य छन् । त्यही दिन उनी डिन कार्यालयमा जाँदा प्रमुख शाक्यले मिटिङ राखेर निर्णय लिने बताएका थिए ।

उनी शुक्रबार फेरि गए । त्यसबेला शाक्यले परीक्षा नियन्त्रण कार्यालयले नियम संशोधन गर्न नमानेको जवाफ दिएर फर्काए ।

आमिरले भने, ‘हामीले भनेकै हो, मानेन भन्नुभयो । म त पेलिएँ नि ।’

आफूलाई मेडल नदिने चलखेलको कारण समयमा थेसिस नलिइएको उनको आरोप छ ।

उनले भने, ‘त्यतिखेर मेरो मात्र होइन, धेरै विद्यार्थीको लकडाउनले गर्दा थेसीस डिस्टर्ब भएको थियो । तर, सजाय मैले मात्रै भोगेँ ।’

अहिले स्वर्णपदकमा नाम आएकी एलिशा पौड्यालले भने तीन महिनाभित्रै थेसीस बुझाएकी थिइन् । कोरोनाकालमै विदेश जानुपर्ने भनेपछि समयमै उनको भाइवा लिइएको थियो ।

आमिरले भने, ‘उसको भाइवा लिइहाल्यो तर मेरो चाहिँ कोरोना छ भनेर लिन मानेन ।’

थेसिस बुझाउन केही ढिलाइ भए पनि गोरखापत्रमा गोल्ड मेडल पाउनेमा आफ्नो नाम आउने ढुक्क थिए आमिर । सूचना आएपछि उनी स्तब्ध बने ।

उनी भन्छन्, ‘गोरखापत्रमा नाम नदेखेपछि म फेरि युवराज सर (डिपार्टमेन्ट हेड) कहाँ गएँ । उहाँले मेरै अगाडि तारा सरलाई फोन गर्नुभयो । उताबाट परीक्षा नियन्त्रकले नै नमानेको जवाफ आयो ।’

अहिले आमिर र एलिशा दुवै एमफील पनि सँगै पढिरहेका छन् । दुवैको समाजशास्त्र नै हो । एमफीलको इन्ट्राममा पनि आमिर र एलिशा पहिलो र  नवाै‌ं भएका छन् । स्नात्तकाेत्तरकाे परीक्षामा आमिरको जिपीए ३.९४ र एलिशाको ३.९३ आएको छ ।

शुक्रबार गोरखापत्रमा दोस्रोपटक त्रिभुवन विश्वविद्यालयको दीक्षान्त पदकको सूचना प्रकाशित भएको थियो । उक्त सूचनामा एलिशाको जीपीए झनै बढेर आएको छ । अघिल्लो सूचनामा ३.८८ रहेकोमा अहिले ३.९३ देखाइएको छ । यसले झनै शंका बढाएको आमिरले बताए ।

आमिरले गोरखापत्रको सूचनाप्रति आपत्ति जनाउँदै पदक दाबीको मागसहित शुक्रबार परीक्षा नियन्त्रणमा निवेदन दिएका छन् । तर, यसको सुनवाइ हुने आशा कमै छ ।

‘मलाई पहिला न्याय पाउने आशा थियो, तर अहिले मर्दै गएको छ । सिस्टमबाटै विश्वास उठेको छ,’ उनले भने ।

विभाग भन्छ- गोल्ड मेडलमा हाम्रो हात हुँदैन

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका अधिकारी विभागसित गोल्ड मेडलको खासै सम्बन्ध नहुने बताउँछन् ।

विभागका प्रा. डा. तुलसीराम पाण्डेले भने, ‘परीक्षाका रेकर्डहरू परीक्षा नियन्त्रण कार्यालयसँग हुन्छ । अमिर राजाले टप गरेको हो भने शिक्षा मन्त्रालयमा निवेदन दिन जानुपर्‍यो । त्यहाँ उच्च शिक्षा शाखामा निवेदन दिएपछि उनीहरुले केही डकुमेन्ट माग्छन् । त्यसपछि उनीहरुको प्रोसेस हुन्छ ।’

डिपार्टमेन्टले होइन जसले रिजल्ट निकाल्छ त्यही निकायले यो ब्याचको टप हो भनेर लेखदिनुपर्ने उनको भनाइ छ ।

पाण्डेले भने, ‘विभागले त अरुलाई पनि लेखिदेला, किनभने रिजल्ट त विभागले निकाल्ने होइन । विभागसित गोल्डमेडलको खासै सम्बन्ध हुदैन ।’

यस विषयमा बुझ्न हामीले पटकपटक डिन कार्यालयका प्रमुख प्रा. डा. कुसुम शाक्यसँग सम्पर्क गर्न खोज्यौं । तर, उनी सम्पर्कमा आइनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर