अदालतले मुद्दाको किनारा नलगाउँदा प्राथमिक स्वास्थ्य केन्द्र भवन १२ वर्षदेखि अलपत्र


सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित गुटु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य अलपत्र परेको छ । १२ वर्ष अघि भवन निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले विभिन्न बहाना देखाएर ढिला गरिरहेको पाइएको छ ।
सरकारले एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०६६ मा ठेक्का लगाएको थियो । तर भवन निर्माण कार्यमा ठेकेदार र कर्मचारीको मिलेमतोमै कमसल सामाग्री प्रयोगमा गरेको पाइएपछि कानूनी कारबाही सुरु हुँदा भवन निर्माण अलपत्र परेको हो ।
आर्थिक वर्ष २०६६/६७ मा मैनाचुली/सुरुची जेभीले साढे १४ करोड रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवन निर्माण सम्झौता गरेको थियो । तर, ठेकेदारले भवन निर्माणमा भ्रष्टाचार गरेको मुद्धा सर्वोच्चमा परेपछि १२ वर्षदेखि भवन अलपत्र हो ।
भवन निर्माण सम्पन्न नहुँदै साविकको शहरी विकास तथा भवन डिभिजन कार्यालयले भुक्तानी दिएको प्रमाणका आधारमा अख्तियारले तत्कालीन कार्यालय प्रमुख, लेखापाल र निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको संघीय आयोजना कार्यान्वयन ईकाइ सुर्खेतले बताएको छ । आयोजना कार्यालयका प्रमुख अमरबहादुर थापाले गुटु स्वास्थ्य चौकी भवन निर्माणमा अनियमितता भएको उजुरी अदालतमा विचाराधीन रहेकाले तत्काल निर्माण प्रक्रिया शुरु गर्न नसकिने बताए ।
उनले अदालतको आदेशविना विवादास्पद भवन निर्माण अगाडि बढाउन नमिल्ने भएकाले सर्वोच्चबाट पैmसला हुनेबित्तिकै निर्माण शुरु हुने जनाए । सम्झौतापछि पटक–पटक म्याद थप गर्दै आएको जेभीले ठेकेदार र कर्मचारीको मिलेमतोमा कमसल निर्माण सामग्री प्रयोग गरी भवन निर्माण गरेको थियो ।
‘भवन निर्माण पूरा नहुँदा स्वास्थ्य चौकीको सम्पूर्ण सेवा एउटै कोठाबाट सञ्चालन गरिरहेका छौं,’ कार्यालय प्रमुख ईन्द्रबहादुर जैसुरी भन्छन्, ‘अधुरो भवन बनाई दिन प्रदेश र संघ सरकारलाई पटक-पटक आग्रह गरिए पनि सुनुवाई भएको छैन ।’