गगन-विश्वको विजय: बुढो रुखलाई फिस्टाको काँध – Nepal Press
विचार

गगन-विश्वको विजय: बुढो रुखलाई फिस्टाको काँध

सत्तारुढ गठबन्धन आफ्नो कुरुप अनुहार छोप्ने मुकुण्डको खोजीमा थियो । शेरबहादुर देउवा र रामचन्द्र पौडेलको लालची राजनीतिको छिद्रहरुको भरपूर उपयोग गरी विश्वप्रकाश शर्मा र गगनकुमार थापा कांग्रेसको महामन्त्री चुनिएपछि सत्तारुढ गठबन्धनले एमालेको करिश्मालाई विषयान्तर गर्ने मेलो भेटाएको छ ।

एमालेसँग भएको सुदृढ वैचारिक एकता र कांग्रेसमा झांगिएको आत्मकेन्द्रित गुटबदलु प्रवृत्तिले देखाउँछ कि एमालेको उत्थान र कांग्रेसको पतन कसैले रोक्न सक्ने छैन ।

नेपाली कांग्रेसको ओरालो यात्रा र एमालेको विजययात्राका आधार र जराहरु एकाएक टुसाएका होइनन् । एक शक्ति केन्द्रको निर्माण, उत्थान र पतनमा लामो सिलसिलाले काम पाएको हुन्छ । कांग्रेसको पतनको मूल जरो देउवा–पौडेलको पुस्तामा रोपिएको छ ।

२०४६ सालको परिवर्तनपछि कांग्रेसले देशको पोल्टामा समृद्धि, सामाजिक न्याय, तीव्र विकास, सुशासनको सौभाग्य थमाउन सक्ने सुन्दर अवसर थियो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसादलाई मिल्न नदिएर, कांग्रेस-एमालेको सहकार्य हुन नदिएर, माओवादीलाई जंगल पठाएर, देशका उद्योगहरु बेचेर, भ्रष्टाचार गरेर, देशको राजनीतिक अस्थिरताको प्रमुख कारक तत्व बनेर, भारतको दलाली गरेर, वैदेशिक हस्तक्षेप निम्त्याएर, एमालेको जनपक्षीय छवि र जनप्रिय कामबाट जलेर देउवा-पौडेलको पुस्ताले नेपाली कांग्रेसलाई जनताको कोपको भुँग्रोमा हाल्यो ।

नेपाली कांग्रेस नेपाली जनताको सुखदुःखको सहारा, उकालीको बिसौनी बन्न सक्थ्यो तर राजनीतिको खोल ओढेर नाफा कमाउन आएको कांग्रेसको यही पुस्ताका कारण जनताले पटक पटक धोका मात्र पाए ।

एमाले र नेपाली जनताको योग, एकता, मेहनत, निष्ठा, साधना, हिम्मत, योजना र सपनामा पानी खन्याउन कांग्रेस युगदेखि युगसम्म अग्रसर रह्यो । देशका लागि अवान्छित तत्वको जोहो गर्ने अपराध सिलसिला पचासको दशकदेखि कांग्रेसले गर्दै आएको छ ।

एमालेको नेतृत्वमा जनताको चिसो चुल्होमा आगो बलेकोमा कांग्रेसको चित्त दुख्छ, मन रुन्छ र ह्रदय जल्छ । लोकतन्त्र र राज्य आम जनताको बनेकोमा संकीर्ण सोचको कांग्रेसलाई मन पर्दैन । एमालेको उदय देखेर कांग्रेसलाई छटपटी हुन्छ । देशको उन्नति, लय र प्रगति रोक्न कांग्रेसले एमालेका विरुद्धमा देशको सीमाभित्र र बाहिरका अवान्छित तत्वलाई आमन्त्रित गर्छ, कपटमा उत्रिन्छ र खलनायकी चरित्र देखाउँछ ।

एमालेको एकतामा छिनो चलाउन कांग्रेस कहिलै चुकेको छैन । आफ्नो सामर्थ्यले नपुगेपछि विदेशी ‘प्रभु’ बोलाउँछ । देशको स्वाभिमान बन्धकीमा राख्छ । आफ्नो यसप्रकारको आदर्शच्युत, विवेकशून्य, देशघाती अनुहार लुकाउन र विषयान्तर गर्न कांग्रेस अफ्ना नेताहरुको महिमा मण्डन गर्ने गर्छ ।

केही दशक कांग्रेसले बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादको नाम भजाएर खायो । गत तेह्रौं महाधिवेशनबाट शशांक कोइराला महामन्त्री निर्वाचित भएपछि शशांकको नाम उछालियो । यसपटक पुस्तान्तरणको तुष्टिकरणमा कांग्रेस लठ्ठिएको छ ।

ढल्न लागेको रुखलाई फिस्टाको काँध

देउवा र पौडेलको जुम्ल्याहा ठग जोडीको अगाडि कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको नियति निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको भन्दा भिन्न हुने छैन । यसरी नै अपेक्षा त शशांकबाट पनि धेरैले धेरै नै राखेका थिए । यसरी नै हौवा पिटिएकै हो ।

त्यस्ता भन्दा कस्ता खायो बनका बाघले भनेझै सेटिङ र चिटिङ मिलाएर दुईतिहाई बहुमतको सरकार, ओली जस्तो लौहपुरुष र शक्ति पृथकीकरणको सर्वव्यापी सिद्धान्तको चीरहरण गर्न सक्ने, लाजपचाइसकेका खल्लीसँग शर्मा र थापाको सीप नचल्ने निश्चित छ ।

शर्मा, थापा र देउवा(एसटीडी) त्रिकोण कांग्रेसका लागि देखाउने दाँत मात्र हुनेछ । देउवाको चपाउने दाँत सत्तारुढ गठबन्धनको माधव, रामचन्द्र र प्रचण्ड(एमआरपी) त्रिकोण नै हुनेछ । सत्तारुढ गठबन्धनको लक्ष्य र उद्देश्य गृह निमार्ण होइन दुःखी आत्माहरुको क्लबको रुपमा रहेको एमआरपी गुटको अतिरिक्त आकांक्षा पूरा गर्नु हो ।

राम्रो राम्रो मिलेर खाँण र कपुर नराम्रो नराम्रो मिलेर भांङधतुर । देउवा, रामचन्द्र, प्रचण्ड र माधवको साँठगाँठको भांङधतुरोबाट देश र कांग्रेसलाई चाहिएको उन्मुक्ति दिने आँट र चेत विश्वप्रकाश शर्मा र गगन थापासँग छैन । यसैले शर्मा र थापाको उफ्रिपाफ्रीबाट कांग्रेसको ओरालो यात्रा र अनिबार्य पतन रोकिने छैन । घरमूली बाबु होस् कि छोरो महत्वपूर्ण कुरा होइन, महत्वपूर्ण कुरा घर साधुको हो कि चोरको, उद्यमीको हो कि अल्छीको कसको भन्ने हुन्छ ।

मकै पिस्दा घुन पिसिएझै देउबा र पौडेलको पुस्ताका कारण कांग्रेसदेखि जनताले पालेको कोपको भागेदार कांग्रेसको सबै पुस्ताले हुनुपर्ने छ । यसैले समस्याको पोको कांग्रेसको उद्धार गर्ने शर्मा र थापाको हुटहुटी ढल्न लागेको थोत्रो र जर्जर रुखलाई फिस्टे चराले थापेको काँध भन्दा भिन्न छैन ।

देखाउने दाँत एसटीडी, चपाउने दाँत एमआरपी

शर्मा, थापा र देउवा(एसटीडी) त्रिकोण कांग्रेसका लागि देखाउने दाँत मात्र हुनेछ । देउवाको चपाउने दाँत सत्तारुढ गठबन्धनको माधव, रामचन्द्र र प्रचण्ड(एमआरपी) त्रिकोण नै हुनेछ । सत्तारुढ गठबन्धनको लक्ष्य र उद्देश्य गृह निमार्ण होइन दुःखी आत्माहरुको क्लबको रुपमा रहेको एमआरपी गुटको अतिरिक्त आकांक्षा पूरा गर्नु हो ।

सत्तारुढ गठबन्धनले जनता रिझाउनु छैन । बल मिच्याईं गरेर लिपुलेकदेखि लिम्पियाधुरा कब्जा गरिरहेको छिमेकीलाई हरहर महादेव गरेर रिझाउनु रहेको छ । महाधिवेशनबाट कांग्रेस नयाँ जोश र नयाँ सोचका साथ आएको खुबै ढोल पिट्ने देखिन्छ । एसटीडी त्रिकोणको आवरणमा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली काग्रेसले नयाँ बोतलमा पुरानो रक्सी खपत गर्ने चलाखी गर्ने छ । परिणती भने देश र जनताले माधव, रामचन्द्र र प्रचण्ड(एमआरपी) त्रिकोणको कष्टसाध्य बोझ बोक्नु हुनेछ ।

के अब अनन्तकालसम्म प्रचण्डले ओलीका रिसले आलोपालो सत्ता साझेदारीको माग दाबी छोड्लान् त ? या त एउटाको रिसले अर्काेलाई बोक्ने प्रचण्ड र त्यति नै पदलोलुप माधव नेपालको तृष्णा मेट्न सिंगो कांग्रेस राजी होला ? जता सत्ता त्यतै विग्रहको नियतिले काग्रेसलाई लपेट्ने संभावना पनि बलियो छ ।

देउवाको प्राथमिकतामा कांग्रेस महाधिवेशनको म्याण्डेट हृुनेछैन । नेपालको राष्ट्रिय समस्या एमआरपी गुट नै पर्ने देखिन्छ । किनकी सत्ता राजनीतिका धुर्त खेलाडी देउबाले शर्मा र थापाको संभावनालाई गोडमेल गर्ने छैनन् । माधव, रामचन्द्र र प्रचण्डको मन दुःखाउनु नै आफ्नो निष्कण्टक सत्ता यात्रा तगारो हुन् भन्ने देउबालाई राम्रैसँग थाह छ ।

माधव नेपाल एमालेद्वेषी भैदिनु, कांग्रेसमा रामचन्द्रले देउवाा बिरोधी खेमाको अगुवाई गर्न नसक्नु र प्रचण्डलाई ओलीदेखि रिस उठ्नु परिणाम राज्यसत्ता र कांग्रेस पार्टी सत्ता देउवाको पोल्टामा परेको छ । यी मध्ये प्रचण्डको रिसको पारो र अस्थिर चरित्र नै देउवाको प्रमुख टाउको दुःखाई हुनेछ ।

कसैलाई मन पराएको आधारमा समबन्ध निर्माण नगरी एउटाको रिसले अर्काको भर्‍याङ बन्न पछि नपर्ने जटिलपुरुष प्रचण्डको प्रवृत्ति रहेको छ । एमालेको रिसले दरबार, दिल्लीको चरणचुम्बन गर्नु, कांग्रेस, त्यसमा पनि कोइराला खेमाको रिसले २०७२ सालमा ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन गर्नु र ओलीको रिसले दुई दुई पटक देउवालाई वामपन्थी सरकार सुम्पिनु दृष्टान्तहरु हुन् ।

के अब अनन्तकालसम्म प्रचण्डले ओलीका रिसले आलोपालो सत्ता साझेदारीको माग दाबी छोड्लान् त ? या त एउटाको रिसले अर्काेलाई बोक्ने प्रचण्ड र त्यति नै पदलोलुप माधव नेपालको तृष्णा मेट्न सिंगो कांग्रेस राजी होला ? जता सत्ता त्यतै विग्रहको नियतिले काग्रेसलाई लपेट्ने संभावना पनि बलियो छ ।

कृष्णप्रसाद, गिरिजाप्रसादबाट सत्ता खोस्ने देउवा, पालो पर्खी रहेका अन्य कांग्रेसी हस्तीहरुलाई के निराश नपार्लान् त ? ठगिएका र रिसाएका प्रचण्डले लिने यु टर्न मोड कस्तो होला ? हेर्दा लाग्छ, आगामी चुनावमा सत्तारुढ गठबन्धनबाट जनताले स्थिरताको आशा गर्ने ठाउँ छैन ।

उत्तरकुमारको हालत

भन्नु र गर्नुमा आकाश जमिनको अन्तर छ । अहिले कांग्रेसका दुई महामन्त्रीको डंका पिटाई र गरिएको अपेक्षा यथार्थमा आधारित छैन । शर्मा र थापाको हौसला महाभारतमा पाइने उत्तरकुमारको मिथकसँग मेल खान्छ ।

पाण्डवहरु विराटनगरमा गुप्तबासमा रहँदा द्रौपदीमाथि आँखा लगाएकाले भीमले किचकको वध गर्छन् । कौरवहरुले किचकको बध गर्ने सामर्थ्य राख्ने मध्ये एक जना भीम भएकाले पक्कै पनि पाण्डवहरु विराटनगरमा लुकेको हुनुपर्ने अनुमान लगाउँछन् ।

सत्तारुढ गठबन्धनका पतनका लागि एमाले यज्ञ, ओली लहर र जनताको सत्तारुढ गठबन्धनकाप्रतिको कोप पाण्डवहरुको जस्तै महाभारत युद्धको व्यवस्थित तयारी हो । एमाले यज्ञलाई छायामा पार्ने गरी शर्मा र थापाले हाँक्ने गरेका गुड्डीहरु महिला गणको अगाडि उत्तरकुमार गरेको फुर्तीजस्तै हो ।

गुप्तवासको एक वर्ष नपुग्दै पाण्डवहरु भेटिएमा फेरि बाह्र वर्ष वनवास जाने शर्त भएकाले कौैरवहरुले विराटनगरमा हमला गर्छन् । कौरव सेनाको एक टुकडीले गौशालाबाट गाई हरण गर्छ । राजा विराट त्यसको प्रतिरोधमा जान्छन् । अर्कोपट्टिबाट राजधानी हमला गर्न कौरव महारथिहरु आएको सूचना आउँछ ।

महिला गणको बीचमा कौरव महारथीको मुकाबिला आफूले गर्न सक्ने भन्दै किशोर अवस्थाका युवराज उत्तरकुमार कौरव महारथिहरुको मुखले तेजोवध गर्छन् । जब युद्ध मैदानमा आम्नेसाम्नेको घडी आउँछ, भीष्म, द्रोण, कर्ण, दुर्योधन, अश्वस्थामा, दुःशासन जस्ता महारथिका अगाडि म बालकको सीप चल्दैन भन्दै उत्तरकुमार मैदान छोड्दै भाग्छन् । वृहन्नलाको रुपमा छिपिएर रहेका अर्जुनले छोपेर उत्तरकुमारको शाख जोगाउँछन् ।

सत्तारुढ गठबन्धनका पतनका लागि एमाले यज्ञ, ओली लहर र जनताको सत्तारुढ गठबन्धनकाप्रतिको कोप पाण्डवहरुको जस्तै महाभारत युद्धको व्यवस्थित तयारी हो । एमाले यज्ञलाई छायामा पार्ने गरी शर्मा र थापाले हाँक्ने गरेका गुड्डीहरु महिला गणको अगाडि उत्तरकुमार गरेको फुर्तीजस्तै हो ।

कांग्रेसी महाभारत र महारथिहरुको लेखाजोखा

आन्तरिक प्रतिष्पर्धाका दौरानमा कांग्रेसी हस्तीहरुको निर्वस्त्रीकरण यस महाधिवेशनमा जति कहिलै देखिएन । कांग्रेसी महाभारतका महारथिहरुको नैतिक निर्वस्त्रीकरण, अवसरवाद, नग्नता र झुर प्रदर्शनको बिस्कुन लागेको छ । रणमैदानमा देउवाको प्रदर्शन भेडाहरुको बथानको महाशेर सेनापतिको जस्तो रहन गयो ।

गिरिजाप्रसाद र सुशील कोइरालाबाट प्रशिक्षित र संगठित कांग्रेसको दह्रो साथ र समर्थन पाएर पनि नेता पौडेलको झुर राजनीति सिंहको बथानको भेडो सेनानायक सरहको टिठलाग्दो देखियो । पिता बीपी, छोरा धोती न टोपी होलान् भन्ने कसैले नगरेको अनुमान वास्तविकता भएर आयो ।

पिता गिरिजा, पुत्री देउबा क्याम्प जा भएको देखियो । गणेशमान पुत्र प्रकाशमानलाई महाबेइमानका रुपमा लोकले चिन्यो । महेन्द्रनारायण निधिका पुत्रका गतिविधि पनि पिताले छोडेको विरासत अनुकूल रहेनन् । यस कांग्रेसी महाभारतको शल्य सेनापतिको फेटा गिरिजाप्रसादबाट पुल्पुल्याइएका कृष्णप्रसाद सिटौलाई परेको देखियो ।

देउबा क्याम्पका आधा दर्जन मन्त्रीले विराटनगरमा बसेर प्रदेश नम्बर १ को सभापति निर्वाचनमा चक्रब्युह रचे र गुरुराज घिमिरेलाई कांग्रेसी महाभारतको अभिमन्यु बनाए । मनी, मशल, धनवाद, डनवाद, गनवाद जस्ता एमालेलाई उडाउन बुनिएका शब्दहरु काग्रेसका दैनिकी, जीवनशैली र पहिचान बने ।

विश्वको विश्वास छैन, गगनको ठेगान छैन

यी तीन महाधिवेशनमा गगन थापाले बदलेका तीन वटा क्याम्प र गएको एक हप्तामा विश्वप्रकाश शर्माले हानेको तीन घुम्ती हेर्दा कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वयको नियती पनि निवर्तमान महामन्त्री शशांक कोइरालाको भन्दा भिन्न नहुने देखिन्छ ।

गणेशमान सिंहले प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई दिएको देखेका देउवाले यसपाली रामचन्द्रलाई यदि सभापतिका रुपमा अघिसार्दा हुन् त देउबाको उचाईँ र महिमा बीपी र गणेशमानको हाराहारीमा पुग्ने थियो ।

बाह्रौं महाधिवेशनमा कोइराला र देउबा दुबै क्याम्पको दोहोरो लिष्टमा नाम परेर केन्द्रीय सदस्यमा डेब्यु गरेका थापा तेह्रौं महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्री उठ्नु र यस पटक शेखर कोइराला पक्षमा घुस्नु खपतका लागि गरिएको अवसरवाद थियो । नाकाबन्दीलाई नाकाबन्दी नभन्ने, भारतका लागि कम्फरटेबल हुने प्रचण्डको लहडमा सहीछाप लगाउने कांग्रेसको युवापुस्ता पनि हो ।

सेटिङ र परमादेशको सरकारको रक्षा र वकालतमा कांग्रेसको युवा पुस्ता झन् अगाडि छ । मुद्दा, मूल्य, नैतिकता, साधना र निष्ठालाई तपशीलमा राखेर प्राप्त भएको सफलता दिगो हुँदैन । अबका दिनमा आफ्नै अविश्वासी छवि र प्रवृति शर्मालाई भारी पर्न सक्छ र खपतका लागि समूहहरुसँगको समन्ध निर्माण र विग्रहको रफ्तार थापालाई महंगो पर्न सक्छ ।

न नियन्त्रण न नेतृत्व हस्तान्तण

एमालेमा अध्यक्ष ओलीका प्रतिको विश्वास, भरोशा र श्रद्धालाई खिल्ली उडाउने कांग्रेस आफू भने न नेतृत्व युवा पुस्तामा हस्ताहरण न नियन्त्रणको घनचक्करमा फसेको छ । त्यागी र दूरदर्शी नेतृत्वले मात्र पार्टीमा सकारात्मक नियन्त्रण, अनुशासन र अदप कायम गर्न सक्छ ।

यस्तो विलक्षण क्षमता बीपीमा थियो । सुरुवाती अवस्थामा बीपीले डिल्लीरमण रेग्मीसँग कांग्रेस सभापतिको पदका लागि टसल पर्दा आफु पछि हटेर मात्रिकाप्रसाद कोइराला, महेन्द्रविक्रम शाह र सुवर्ण समशेरलाई क्रमशः सभापति, महामन्त्री र कोषध्यक्ष बनाउनु, पछि सुवर्ण समशेर र गणेशमान सिहंलाई प्रतिष्पर्धा गर्न दिएर आफू बारम्बार सभापति नहुने निष्कर्षमा पुग्नु बीपीको त्याग र दूरदर्शिताका उदाहरण थिए ।

गणेशमान सिंहले प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई दिएको देखेका देउवाले यसपाली रामचन्द्रलाई यदि सभापतिका रुपमा अघिसार्दा हुन् त देउबाको उचाईँ र महिमा बीपी र गणेशमानको हाराहारीमा पुग्ने थियो ।

देउबा र रामचन्द्र दुबै माग्न जान्ने दिन नजान्ने रसायनले बनेका हुनाले न कांग्रेसमा अनुशासन छ न कांग्रेसका दुबै खेमामा मर्यादा र शर्म छ ।

एमाले अध्यक्ष ओलीले त्याग गर्ने दिनमा त्याग र अनुशासन र नियन्त्रण कायम गराउनु पर्ने दिन सफल नेतृत्व प्रदान गर्न सकेकाले एमालेको आन्तरिक जीवन अन्य दलको तुलनमा सरल, सहज र सफल छ । मदन, मनमोहन, सीपी, माधव, झलनाथ सबैलाई साथ दिएर, काँध थापेर तथा प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुको घेराबन्दी ब्यूहको बहादुरीका साथ भेदन गरेर आएकाले एमालेमा ओलीको मान, शान, नियन्त्रण, विश्वास, भरोशा र श्रद्धा चरम उत्कर्षमा छ ।

यसरी जनताको समर्थन, विचारको राजनीति, गृह निर्माणको हुटहुटी, सुखी नेपाली र समृद्ध नेपालको योजना र सपना, देशलाई स्वाभिमानको मेरुदण्ड दिन सक्ने नेता पाएकाले एमाले निरन्तर उदय, उत्थान र उत्कर्षमा छ भने उसका जोरिपारीहरु भिरको डिलमा पुगेको स्थिति छ ।

जसको सिंंङ छैन उसको नाम तिखे

विचार, जनमत, निष्ठा, त्याग, संंघर्ष, आदर्शको वलमा कुनै बेला कांग्रेस नेपाल नायकको भूमिकामा थियो । अस्ताचलमा पुगेको आजको कांग्रेसले भोग्नु परेको सबैभन्दा ठूलो क्षति उसले गुमाएको नेपाल नायकको धर्म हो । जसको सिंङ छैन उसैको नाम तिखे भनेझै कांग्रेस आफुलाई विचार र आदर्शबाट निर्देशित पार्टी रहेको दाबी गर्छ । जबकी कांग्रेस बासी विचार, थोत्रा तर्क र सन्दर्भ गुमेका शब्दजालमा जकडिएको छ ।

प्रजा शब्दले सार्वभौमसत्ता सम्पन्न जनता जनार्दनको शान, मान, सर्वोपरिता, ओज र अर्थलाई बोक्न नसक्ने हुनाले हामीले प्रजातन्त्र शब्दलाई लोकतन्त्र शब्दमा संस्करण गर्‍यौं । नेपाली कांग्रेस मात्र यस्तो जडभगत पार्टी हो जसले उहिल्यै बीपीले भनेको प्रजातान्त्रिक समाजवादको पुनव्र्याख्या गरी लोकतान्त्रिक समाजवाद नामाकरण गरेर अपडेट गर्न सकेको छैन ।

एमालेले मार्क्सवादको पुनर्व्याख्या गरी नेपाली संस्करणको मार्क्सवादका रुपमा जनताको बहुदलीय जनवाद अघि सारी जनसमुदाय र विश्व समुदायलाई विश्स्त पारिसक्तासम्म प्रदीप गिरी जस्ता कांग्रेसी चिन्तकहरु कुम्भकर्ण निद्रामा सुकला रहेको स्थिति छ । यसले देखाउँछ एमालेको तेज र तीक्ष्णता र कांग्रेसको सुस्तता र जडता ।

जुन पार्टीका महाधिवेशन प्रतिनिधि वडा, पालिका, जिल्ला, प्रदेशका अधिवेशन र महाधिवेशनको दुई चुनाव गरी दश पटक बिक्री हुन्छन् त्यो पार्टीप्रति जनताको मोहभंग हुनु स्वभाविक छ । पैसाको लागि देश र धर्म बेच्न तयार रहेको पार्टी भनेर आफूमाथि लागेको आक्षेपलाई कांग्रेसले नाकाबन्दी र धर्म निरपेक्षताको बहसको बेला खण्डन गर्न सकेन । कुनै बेला कांग्रेस महानायकीय भूमिकामा अवश्य थियो । यी यस्ता संकेतहरु हुन् जसले कांग्रेसको पुनरुत्थानको प्रयासलाई विफल पार्ने छन् ।

(शाही नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)


प्रतिक्रिया

One thought on “गगन-विश्वको विजय: बुढो रुखलाई फिस्टाको काँध

  1. यो त लेख रचना भन्दा पनि महाधिवेशन को बिश्सलेषणात्मक समिक्षा (निश्पक्ष) प्रतिवेदन भयो । कांग्रेस को लागि अध्ययन मनन गर्नु पर्ने संदेशमुलक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *