ए डिभिजन लिग : पुलिसलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा


काठमाडौं । अन्जन बिष्टको दुई गोल प्रेरित मनाङ मर्स्याङ्दी क्लबले शाहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई ३—१ गोलको नतिजामा पराजित गरेको छ ।
पोखरा रंगशालामा भएको खेलको १०औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।
उनले डिफेन्डर दिनेश राजवंशीको लामो पासमा गोल गरे ।
पुलिसका गोलकिपर रोशन खड्का आउट अफ पोजिशन थिए । रोशन पेनाल्टी एरिया बाहिर निस्किएका बेला खाली पोष्टमा अञ्जनले सहज गोल गरे ।
यस्तै, ३५औं मिनेटमा मनाङ डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काए ।
अञ्जनले ७३औं मिनेटमा फ्रि—किकमार्फत व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
पुलिसका डिफेन्डर सन्तोष हेमरूनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्रि—किक पाएको थियो । अञ्जनले पुलिसको डिफेन्सिभ वालको दायाँतर्फबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो ।
मनाङका निशान लिम्बुले ८३औं मिनेटमा घरेलु टोलीका लागि तेस्रो गोल गरे । ओलावालेले गरेको प्रहार पुलिसका गोलकिपर रोशनले फर्काएका थिए । सोही रिबाउन्ड बलमा निशानले भली प्रहार गर्दै गोल गरे ।
जितसंगै ममनाङ ५ खेलबाट १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । पराजित पुलिस ५ खेलबाट ५ अंकसहित तालिकाको नवौं स्थानमा छ ।
यो जितबाट मनाङलाई एएफसी कपमा छनोट हुन थप सहज भएको छ ।