तीन दिन देखि पोखराको वायु अत्याधिक प्रदूषित, विभागको टोली जाँदै


काठमाडौं । पछिल्लो तीन दिन देखि पोखरामा वायु प्रदूषणको दर उच्च भएको छ । अन्य समयमा तराईका मुख्य शहरहरुमा वायु प्रदूषणको दर उच्च हुने गरेपनि यस वर्ष भने पोखराको वायुप्रदूषणको दर देशभरकै उच्च भएको हो ।
वातावरण विभागको तथ्याङक अनुसार पोखरामा पार्टिकुलेट म्याटर २.५ आकारको धुलोको प्रदूषण २४ घण्टामा २३० माइक्रोग्राम प्रति घनमिटर पुगेको छ ।
शुक्रबारसाँझ पनि प्रदूषणको दर २०८ सम्म कायमै रहेको छ । यो प्रदूषण मानव शरीरका लागि अतिनै हानिकारक हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । पछिल्लो साता न्युनतम् तापक्रममा कमीआएसँगै वायु प्रदूषण पनि उच्च भएको छ ।
पहिलो पटक पोखराको वायु गुणस्तर खस्किएपछि वातावरण विभागले अध्ययन लागि टोली पठाउने तयारी गरेको विभागका प्रवक्ता शंखर प्रसाद पौडेलले जानकारी दिए ।
उनले भने – पोखराको एउटा स्टेशनले अत्याधिक प्रदूषण मापन गरेको छ हामीले यसको अध्ययन गर्न शुरु गरेका छौ । प्रदूषण बृद्धि हुनुमा चिसो छल्न दाउरा बढी जलाउने गर्नाले बढी प्रदूषण हुने गरेको विभागले जनाएको छ । विहीबार प्रदूषण २३२ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो ।
वायुको गुणस्तर स्वास्थ्यका लागि अतिहानिकार तहमा पुगेको भन्दै वातावरण विभागले आवस्यकता विना वाहिरी क्षेत्रमा हिड्डुल नगर्न अनुरोध गरेको छ । सरकारले २४ घण्टामा वायुको गुणस्तरलाई ४० माइक्रोग्राम प्रति घनमिटरसम्मलाई राष्ट्रिय मापदण्ड तोकेको छ ।
पोखरा पछि विराटनगर र कीर्तिपुरमा प्रदूषण बृद्धि भएको छ । हाल विराटनगर १९५ र कीर्तिपुरमा १६६ माइक्रोग्राम प्रति घनमिटर पुगेको हो ।