मुगुका आगलागीपीडितको प्रश्न- १ लाखले कस्तो घर बनाउने ?

सुर्खेत । मुगु सदरमुकाम गमगढीमा गत महिना आगलागीका कारण घर पूर्ण नष्ट भएपछि झण्डै एक दर्जन परिवारको दैनिकी कष्टकर बनिरहेको छ । त्रिपालमा दिन कटाउन बाध्य उनीहरुलाई कर्णाली प्रदेश सरकारले घर बनाउन १ लाख रुपैयाँ राहत दिएको छ । पीडितले राहत रकम निकै कम भएको गुनासो गरेका छन् ।
‘एक लाखले मुगुमा कसरी घर बनाउन सकिन्छ र ?’ घर पूर्ण क्षति भएपछि एक महिनादेखि विस्थापित छिरिङ लामाले प्रश्न गरे, ‘एक लाखले त खाना किनेर पनि खान सकिँदैन । त्यतिले पुग्दैन ।’ बीस हजारदेखि चार लाखसम्म राहत दिने भनेर निर्णय गरेको सरकारले थोरै रकम दिएर आफूहरुलाई झनै निराश बनाएको उनीहरु बताउँछन् ।
‘कालिकोटमा आगालागी हुँदा घर जलेकाहरु लाई सरकारले पाँच लाख दिएको थियो,’ लामा भन्छन्, ‘हामीलाई पनि त्यति नै चाहिन्छ । १ लाखले त कोठा बनाउन पनि पुग्दैन ।’
‘गमगढीका ८ परिवारका ३५ जना अहिले त्रिपालमूनि रात काट्न बाध्य छन् । यसअघि स्थानीय तहले १५ हजार रुपयाँ दिनुबाहेक अन्य कुनै राहत पाएका छैनन । पीडित लामाले पहुँच भएकाहरुलाई धेरै राहत दिने तयारी भएको आशंका गरे ।
‘यहाँ नबस्नेहरुको सात करोडसम्म क्षति भएको विवरण पेश गरिएको छ । आगलागीबाट पूरा ७ कारोडको क्षति नै भएको छैन,’ उनले गुनासो गरे, ‘हामी वास्तविक पीडितलाई राज्यले हेर्ने नजरलै राम्रो भएन ।’
आगलागीपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले अर्बौंको क्षति भएको भनेर विज्ञप्ती समेत जारी गरेका थिए । ‘अर्बोंको क्षति भएको भनेर वक्तव्य निकाल्ने मुख्यमन्त्रीले जम्माजम्मी ६१ लाख राहत बाँडेछन् । त्यतिले उनीहरुले कसरी घर बनाउन सक्लान ?’ एमाले प्रदेश सभा सदस्य दानसिंह परियार प्रश्न गर्छन् ।
‘बीस हजार देखि एक लाख रुपैयाँले नागरिकले घर कसरी बनाउनलान,’ उनी भन्छन्, ‘दुर्गम जिल्लामा सामान नै असाध्यै महँगो हुन्छ । एक लाखले घरको जग खन्न पुग्दैन ।’
Tosto rahat dine le aaphnai Ghar xeti hunda k garthe khai.danav haru shorowt sadhan jutaunu ko satta.aru shirshak KO lagani Garda ni hunna ra