कांग्रेसमा विवेकको भोट ! ‘बुढो’ पार्टीलाई दुई तन्नेरीको बलियो काँध – Nepal Press
टिप्पणी

कांग्रेसमा विवेकको भोट ! ‘बुढो’ पार्टीलाई दुई तन्नेरीको बलियो काँध

काठमाडौं । नेपाली कांग्रेसका दुई तेजिला युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा एकसाथ पार्टीको महामन्त्रीमा निर्वाचित भएका छन् । उनीहरूको विजयले कांग्रेसभित्र मात्र नभएर नेपाली राजनीतिमै सकारात्मक तरंग पैदा गरेको छ ।

युवा भएकाले मात्र होइन, क्षमताका कारणले पनि यी दुई नेतालाई ‘कांग्रेसको भविष्य’ का रूपमा हेरिँदै आएको थियो । सभापतिमा भारी मतले जितेको संस्थापन पक्षका उम्मेदवारलाई हराउँदै गगन र विश्वप्रकाशले महामन्त्रीमा बाजी मारेका हुन् । कांग्रेसमा महामन्त्रीलाई सभापतिपछिको प्रभावशाली पद मानिन्छ ।

गगन र विश्वप्रकाशको जित यस अर्थमा महत्वपूर्ण छ कि उनीहरूले पार्टीभित्र वर्चश्वशाली रहेको संस्थापन पक्षलाई पन्छाउँदै जित हासिल गरेका छन् । गुटबन्दीको रोगले आक्रान्त कांग्रेसमा सभापतिका लागि प्यानलगत प्रतिस्पर्धा भएको थियो । गगन र विश्वप्रकाशले फरक-फरक प्यानलबाट प्रतिस्पर्धा गरेका हुन् ।

गगन र विश्वप्रकाश पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय युवा नेता हुन् । कांग्रेस प्रतिपक्षमा छँदा गगन थापाले संसदभित्र पार्टीको प्रतिपक्षी इमेजलाई केही हदसम्म रक्षा गरेका थिए । विश्वप्रकाशले प्रवक्ताको हैसियतमा देशमा कांग्रेस भन्ने पार्टी छ भन्ने वोध गरेका थिए । यी दुई नेता नहुँदा हुन् त कांग्रेस कतै पनि उपस्थिति देखाउन नसक्ने रुग्ण पार्टीको हैसियत पुग्थ्यो भन्ने कांग्रेसजनहरू विश्वास गर्छन् ।

विश्वप्रकाशको जित अझै विशेष यसकारणले छ कि उनले संस्थापन समूहबाट टिकट नपाएपछि प्रकाशमान सिंहको कमजोर प्यानलबाट उम्मेदवारी दिएका थिए । शेरबहादुर देउवाले कृष्ण सिटौलासँग लेनदेन गर्ने क्रममा महामन्त्रीमा प्रदीप पौडेललाई उठाउँदा विश्वप्रकाश कोपभाजनमा परेका थिए । बलियो प्यानलको साथ नहुँदा उनलाई चुनावमा अप्ठेरो पर्न सक्ने आँकलन गरिएको थियो । तर, कांग्रेस कार्यकर्ताले गुट विर्सेर विश्वप्रकाशलाई भोट गरेका छन् ।

देउवाको शक्तिशाली प्यानलबाट उठेका डा. प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भए । प्रदीप पनि कांग्रेसका आशा गरिएका नेता हुन् । यद्यपि, उनको महामन्त्री बन्न बेला भएको छैन भन्ने अभिमत कांग्रेसमा देखियो । गुट मिलाएर महामन्त्री पड्काउने उनको रणनीति फेल खाएको छ ।

यसअघि उपसभापतिको चुनावमा पनि क्रस प्यानल भोटिङ भएको थियो । कांग्रेसका पुराना हस्ति विजय गच्छेदारलाई युवा नेता धनराज गुरुङले कडा प्रतिस्पर्धामा पराजित गरे । यसरी पार्टीका चार महत्वपूर्ण पदमध्ये तीन पद संस्थापनइतर पक्षको पोल्टामा गएको छ । यसको अर्थ सभापति देउवाका लागि आगामी दिनहरू सहज हुने छैनन् ।

कांग्रेसमा गगन-विश्वप्रकाशको उदयले नेपाली राजनीतिमा लामो समयदेखि चर्चा गर्ने गरिएको पुस्तान्तरणको बहसलाई पनि केही हदसम्म न्याय गरेको छ । सभापतिमा नेतृत्व परिवर्तन हुन सकेन । नेतृत्व परिवर्तनको वकालत गरिरहेका नेताहरू नै दोस्रो चरणको चुनावमा देउवाका लागि भोट माग्न उभिए । तर, कम्तीमा महामन्त्री पद युवा पुस्तामा सरेको छ । यसपाली नभए पनि अर्को महाधिवेशनमा कांग्रेसले युवा नेतृत्व पाउने बाटो खुलेको छ ।

गगन र विश्वप्रकाश पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय युवा नेता हुन् । कांग्रेस प्रतिपक्षमा छँदा गगन थापाले संसदभित्र पार्टीको प्रतिपक्षी इमेजलाई केही हदसम्म रक्षा गरेका थिए । विश्वप्रकाशले प्रवक्ताको हैसियतमा देशमा कांग्रेस भन्ने पार्टी छ भन्ने वोध गरेका थिए । यी दुई नेता नहुँदा हुन् त कांग्रेस कतै पनि उपस्थिति देखाउन नसक्ने रुग्ण पार्टीको हैसियत पुग्थ्यो भन्ने कांग्रेसजनहरू विश्वास गर्छन् ।

कांग्रेस अहिले देशको सत्तारुढ पार्टी हो । सभापति शेरबहादुर देउवा स्वयम्ले सरकारको नेतृत्व गरिरहेका छन् । संसदीय प्रजातान्त्रिक प्रणालीमा सरकारलाई सँध पार्टीले दिशानिर्देश गर्नुपर्ने हुन्छ । गगन र विश्वप्रकाशले महामन्त्रीको भूमिकामा रहेर पार्टीलाई सही दिशााम लैजाने मात्र होइन, सरकारलाई सही दिशा निर्देश गर्ने कुरामा पनि भूमिका खेल्न सक्छन् ।

दुवै नेताको अबको चुनौती भनेको सभापतिसँग तालमेल मिलाएर कांग्रेसलाई देशको प्रमुख पार्टीका रुपमा स्थापित गर्ने हो । अब विभिन्न चुनावहरू नजिकिएका छन् । यो चुनावमा कांग्रेससँग धेरै किसिमका अनुकूलता छन् । कम्युनिष्ट पार्टीहरू फुटेर तितरबितर भएको अवस्थामा कांग्रेसले आगामी निर्वाचनमा बहुमतको आशा लिएको छ ।

तर, देउवाको अनुहार हेरेर मतदाताले कांग्रेसलाई भोट दिने अवस्था छैन । कांग्रेसले देखाउने अनुहार भनेको गगन-विश्वप्रकाशहरू नै हुन् ।

राजनीतिमा भाषण गरेजस्तो काम गर्न सजिलो हुँदैन । गगन-विश्वप्रकाशले भाषणबाटै लोकप्रियता आर्जन गरेकोमा दुईमत छैन । अब उनीहरूले आफूलाई व्यवहारमा प्रमाणित गर्नुपर्ने चुनौती छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर