माओवादी लुम्बिनी अध्यक्षमा सुदर्शनलाई ल्याउने सहमति, अन्य पदाधिकारी पछि – Nepal Press

माओवादी लुम्बिनी अध्यक्षमा सुदर्शनलाई ल्याउने सहमति, अन्य पदाधिकारी पछि

रुपन्देही । नेकपा माओवादी केन्द्र लुम्बिनीको नेतृत्वमा सुदर्शन बराल आउँने भएका छन् । नेतृत्वका विषयमा केन्द्रीय नेताहरूको मत बाझिएपछि प्रदेश सम्मेलनले नेतृत्वको टुंगो लगाउन लगाउन सकेको थिएन ।

अध्यक्षमा गुल्मीका सुदर्शन बराल सर्वसम्मत गर्ने निर्णयमा नेताहरू सहमत भएका छन् भने अन्य पदाधिकारी पदका आकांक्षी धेरै भएपछि केन्द्रीय सम्मेलनपछि टुंगो लगाउने सहमति भएको छ । नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती तथा जनार्दन शर्माले आफ्नो रोजाइका नेतालाई नेतृत्वमा पठाउन चाहेका कारण सम्मेलनले नेतृत्व छान्न सकेको थिएन ।

आकांक्षी बढ्दै गएको र नेताले आफ्ना पक्षमा तीब्र लबिङ गरेपछि पदाधिकारी चयन रोकिएको थियो । अन्य पदाधिकारी टुंगो नलाग्दा अध्यक्षको नाम पनि सार्वजनिक नगर्ने सहमति नेताहरूले गरेका छन् । नेता बरालले अध्यक्षमा आफ्नो नाममा सहमति भए पनि औपचारिक घोषणा नभएको नेपाल प्रेसलाई बताए ।

दाङको भालुवाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय कमिटी चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम टुंगो लगाएको छ । तर, अन्य पदाधिकारीको टुंगो नलागेकाले अध्यक्षमा प्रदेश समिति र केन्द्रीय नेतृत्वबीच बरालको विषयमा सर्वसम्मत सहमति भए पनि लिखित निर्णय नभएको एक नेताले बताए ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्रीसमेत रहेका बराल माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा सर्वसम्मत अध्यक्ष भएका हुन् । उनी पुननिकट नेता मानिन्छन् । माओवादीमा लुम्बिनी प्रदेश अध्यक्षमा रोल्पाका दिपेन्द्र पुन र दाङका होमराज शर्माले दाबी गर्दै आएका थिए । उनीहरु दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिको सदस्यमै नपरेपछि बराल सर्वसम्मत भएको एक नेताले बताए ।

माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तीन उपाध्यक्षमा बाँकेका आईपी खरेल, रुकुमकी जुनकुमारी रोका मगर, कपिलवस्तुका रुद्र बञ्जाडेको दाबी छ ।

त्यस्तै सचिवमा दाङका तुलसीराम पुन, लुमाकान्त न्यौपाने, बर्दियाका दुर्गाबहादुर थारु, रोल्पाका निमकान्त डाँगी, प्यूठानका प्रकाश अधिकारीले पनि दाबी गर्दै आएका छन् । सचिवका लागि माओवादी प्रवक्ता महराले तुलसीराम पुनलाई अघि सारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर