फुलकोर्टको निर्णय- जिल्ला र उच्च अदालतमा पनि गोलाप्रथा, ईश्वर खतिवडाको असहमति – Nepal Press

फुलकोर्टको निर्णय- जिल्ला र उच्च अदालतमा पनि गोलाप्रथा, ईश्वर खतिवडाको असहमति

काठमाडौं । न्यायपालिका सुधारका लागि भनेर थालिएको गोला प्रक्रियाबाट इजलास छान्ने प्रणाली अब उच्च र जिल्ला अदालतमा पनि कार्यन्वयन हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बुधबार बसेको फुलकोर्ट बैठकले माघ २ गतेदेखि जिल्ला र उच्च अदालतहरुमा पनि गोला प्रक्रिया थाल्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश हटाउने अभियानको नेतृत्व गरेर दीपक कार्कीसहितका वरिष्ठतम न्यायाधीशहरूले थालेको हड्तालपछि पहिलोपटक प्रधानन्यायाधीशको अध्यक्षतामा औपचारिक बैठक बसेर सो निर्णय भएको सर्वोच्च स्रोतले जनाएको छ ।

हड्ताली समूहका चारजना न्यायाधीशहरुले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने बताउँदै आएका थिए । सर्वोच्च अदालतमा यसअघि नै गोला प्रक्रिया सुरू भइसकेको छ । प्रधानन्यायाधीशबाहेक अन्य न्यायाधीशले गोला प्रक्रियाबाटै इजलास पाउने गरेका छन् ।

यसैबीच न्यायाधीश ईश्वर खतिवडाले गोला तानेर इजलास तोक्ने प्रक्रियाप्रति असहमति जनाएका छन् । बुधबारको फुलकोर्ट बैठकमा पनि उनले न्यायाधीशको विवेकमाथि प्रश्न उठाउनेगरि भएको गोलाप्रथाको विरोध गरेका हुन् ।

खतिवडाको भनाइ उदृत गर्दै एक न्यायाधीशले भने, ‘संसारमा कहिँ नभएको गोलाप्रथा हामी न्यायाधीशको विवेकमा विश्वास नगर्ने अपमाजनक प्रक्रिया हो । यसबाट न्यायपालिका सुधार हुँदैन । यो न्यायाधीशको अपमान हो ।’

खतिवडाले अहिलेसम्म गोला प्रक्रियामा भाग लिएका छैनन् । उनले गोला नतानेपछि कर्मचारीले तानेर इजलास तोकिने गरेको छ ।


प्रतिक्रिया

One thought on “फुलकोर्टको निर्णय- जिल्ला र उच्च अदालतमा पनि गोलाप्रथा, ईश्वर खतिवडाको असहमति

  1. सेटिङ्ममा मुद्दा ताेकेर कमाउन पल्केकाले गाेला प्रथाकाे विराेध गर्छन । न्यायाधिश बेईमान नभएका भए गाेला प्रथा चाहिदैनथ्याे । सर्वाेच्चका न्यायाधिश आफैंले स्वीकारे कि हामी नालायक छाैं, सेटिङ्ममा मुद्दा हात पार्छाैं र वकिल मार्फत घुस खाएर फैसला गर्छाैं । त्यसैले हामी जस्ता नालायक र भ्रष्टलाई गाेला प्रथा लगाईदिनुपर्याे भनेर नियमावली संशाेधन गरेकाे हाेईन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *